बिजेता भारतीय क्रिकेट टोलीलाई ५ करोड बोनस

भारत चार टेस्टको शृंखला २–१ बिजयी

प्रकाशित २०७७ माघ ६ मंगलबार

ब्रिस्बेन। भारत र अस्ट्रेलियाबीचको चौथो तथा अन्तिम टेस्ट क्रिकेटमा भारतले रोमाञ्चक जित हासिल गरेको छ । यो जितसँगै भारतले चार टेस्टको शृंखला २–१ ले जितेको छ । 

यो जितसंगै भारतीय क्रिकेट बोर्ड (बिसीसीआई)ले बिजेता टोलीलाई भारतीय रुपिया ५ करोड बोनस रकम दिने घोषणा गरेको छ। भारतीय क्रिकेट बोर्डका अध्यक्ष एवं पुर्व भारतीय क्रिकेट टोलीका कप्तान सौरभ गामगुलीले ट्विट गर्दै उक्त घोषणा गरेका हुन्। 

ब्रिस्बेन क्रिकेट मैदानमा अस्ट्रेलिया सन् १९८८ पछि पहिलो पटक भारतसँग पराजित भएको छ । 

पाँचौं दिन ४ रनबाट खेल्न थालेको भारतले अस्ट्रेलियाले प्रस्तुत गरेको ३२८ रनको चुनौती ३ ओभर बाँकी रहँदा सात विकेट गुमाएर पूरा गरेको थियो । अन्तिम ३ ओभरमा भारतलाई जितका लागि ३ रन चाहिएको अवस्थामा रिषभ पन्तले विजयी चौका प्रहार गरेका थिए । 

भारतका लागि रिषभ पन्तले अविजित ८९ रन बनाएका थिए । भारतका लागि अन्य खेलाडीहरु शुभमन गिलले ९१, चेतेश्वर पुजाराले ५६, कप्तान अजिन्क्य रहाणेले २४, मयन्क अग्रवालले ९, वासिङटन सुन्दरले २२, रोहित शर्माले ७ र शार्दुल ठाकुरले २ रन बनाएका थिए । 

ब्रिस्बेनको गाब्बा क्रिकेट मैदानमा यतिठूलो स्कोर पछ्याएर कुनै पनि टिमले खेल जितेको यो पहिलो अवसर पनि हो । भारतका पन्तले प्लेयर अफ द म्याच तथा अस्ट्रेलियाका प्याट कमिन्सले प्लेयर अफ द सिरिजको पुरस्कार पाए । 
 



नयाँ