arrow

ओलीलाई प्रचण्डको चुनौती- 'तपाईंले बाजी हारिसक्नुभयो'

logo
प्रकाशित २०७७ माघ ६ मंगलबार
puspakamal-dahal-prachanda.jpg

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जननिर्वाचित प्रतिनिधिसभा विघटन गरेर मुलुकमा फेरि राजतन्त्र पुनःस्थापना गर्ने प्रयत्न भएको बताएका छन् । प्रेस सङ्गठन नेपालको दोस्रो राष्ट्रिय भेलालाई मंगलबार सम्बोधन गर्दै उनले संसद्को अन्य गरेर मुलुकलाई निरङ्कुशता र अनिश्चयको भूमरीतर्फ धकेल्ने प्रयास भएको दावी गरे ।

प्रधानमन्त्री ओलीले पार्टी कमिटीको बहुमतको निर्णयलाई सहजै स्वीकार नगर्दा पार्टीभित्र समस्या देखिएको बताउँदै अध्यक्ष दाहालले संसद् विघटन गरेर ओलीले नेपाली जनतालाई धोका दिएको आरोप लगाए । “मैले भनेको छु, तपाईंले बाजी हारिसक्नुभयो । लडाइँ हारिसक्नुभयो । संविधानवाद, सङ्घीय लोकतान्त्रिक गणतन्त्र र सार्वभौम नेपाली जनताकाविरुद्ध जब तपाईंले तरबार उज्याउनुभयो । तपाईंले लडाइँ हार्नुभयो । जनताले लडाइँ जित्यो,” उनले भने ।

प्रतिनिधिसभा विघटन गरेर सात दशक लामो सङ्घर्षपश्चात् जनताले प्राप्त गरेका सङ्घीय लोकतान्त्रिक गणतन्त्र, जनताको प्रतिनिधिद्वारा निर्मित संविधानलगायत उपलब्धिलाई समाप्त पार्ने प्रयास भएको जिकिर गर्दै उनले यसलाई हरहालतमा रोक्नुपर्ने बताए ।

“कसैले नेपाललाई फेरि अनिश्चयको भूमरीमा लैजाने, मुलुकलाई संविधानहीनताको अवस्थामा पुर्‍याउने, तानाशाहको हातमा लैजाने प्रयत्न गर्छ भने त्यसलाई रोक्ने दायित्व जनताको हो”, उनले भने । मुलुकको राजनीतिक परिवर्तनमा सञ्चार जगतको भूमिका अनुकरणीय रहेको उल्लेख गर्दै अध्यक्ष दाहालले सञ्चारकर्मीले सङ्घीयता, संविधानसभा र गणतन्त्रको पक्षमा वकालत गरेकै कारण परिवर्तन सम्भव भएको बताए ।

परिवर्तनको पक्ष तथा प्रतिगमनको विपक्षमा जनमत निर्माण गर्न पनि सञ्चार जगतको भूमिका महत्वपूर्ण हुने उनको भनाइ थियो । “जनताको प्रतिनिधिद्वारा लिखित संविधान बचाउनु छ, परिवर्तनलाई जोगाउनु छ, प्राप्त उपलब्धिको रक्षा गर्न सञ्चार जगतको भूमिका बढेर गएको छ”, उनले भने ।

नेकपाका अर्का अध्यक्ष माधवकुमार नेपालले कम्युनिष्ट पार्टीभित्रैबाट नेतृत्वमा पुगेको व्यक्तिबाट जनप्रतिनिधिमूलक संस्था विघटन गरिनु नेपाली राजनीतिक इतिहासमा बिडम्वना भएको बताए । मुलुकको राजनीतिक परिवर्तनमा सञ्चार जगत्को उल्लेख्य भूमिका रहेको स्मरण गर्दै उनले सरकारको कदमका विरुद्ध जनतालाई जागृत बनाएर आन्दोलनको आँधीबेहरी सिर्जना गर्न सञ्चारकर्मीलाई आह्वान गरे ।

“प्रतिनिधिसभा विघटनबाट सङ्घीयता र परिवर्तन सङ्कटमा परेको छ । यो बेला सही र गलत छुट्याउन सक्नुपर्छ, सत्यको पक्षमा उभिने नै असली नेता हुन्छ, परिवर्तनको रक्षा गर्नु साझा दायित्व बनेको छ”, उनले भने । सुन्दर समाजको परिकल्पना साकार पार्न आनदोलन शुरु गरिएको र यसमा पत्रकारको सकारात्मक भूमिका आवश्यक रहेको पनि उनको भनाइ थियो ।

पार्टी स्थायी कमिटी सदस्य एवं केन्द्रीय सङ्घर्ष समितिका सहसंयोजक योगेश भट्टराईले जनताको आन्दोलनको बलमा समाज र व्यवस्था बदले पनि पार्टीभित्रको प्रवृत्ति बदल्न नसक्दा मुलुक मंगलबारको अवस्थामा प्रवेश गरेको बताए । उनले संसद् विघटनबाट सात दशक लामो जनताको सङ्घर्षबाट प्राप्त गणतन्त्र, सङ्घीयतालगायत उपलब्धि खतरामा परेको बताए ।

केन्द्रीय कमिटी सदस्य एवं विदेश विभाग उपप्रमुख विष्णु रिजालले सरकार संसद् विघटन गरेर असंवैधानिक ढङ्गबाट अगाडि बढेकाले प्रेस स्वतन्त्रता पनि खतरामा परेको बताए । नेपाल पत्रकार महासङ्घका अध्यक्ष गोविन्द आचार्यले प्रतिनिधिसभा विघटन गर्ने सरकारको कदमबाट संविधान र सङ्घीय लोकतान्त्रिक गणतन्त्रमाथि प्रहार भएको महासङ्घको ठहर रहेको गरेको जानकारी दिए । उनले जनताको सङ्घर्षबाट प्राप्त उपलब्धिको रक्षाका लागि सञ्चार जगतले एकता प्रदर्शन गर्नुपर्ने बताए ।

लेखक तथा वरिष्ठ पत्रकार नारायण वाग्लेले संसद् पुनःस्थापना नभएमा संविधानवाद नष्ट हुनेमा कुनै शङ्का नभएको उल्लेख गर्दै प्रतिनिधिसभा विघटनको विपक्षमा उभिएको नेकपाले बडापत्र जारी गरेर जनतासमक्ष प्रतिबद्धता व्यक्त गर्नुपर्ने बताए । “संसद् पुनःस्थापना भएरै छाड्छ, तर पुनःस्थतापना केका लागि भनेर जनतालाई बुझाउन सक्नुपर्छ, यसमा नेतृत्वको प्रतिवद्धता चाहिन्छ”, उनले भने । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ