arrow

कुन राशिका व्यक्तिलाई कति नम्बर हुन्छ शुभ ? 

logo
ज्यो. हरि पन्त,
प्रकाशित २०७७ माघ ७ बुधबार
rashifal-horoscope.jpg

मेष राशिका लागि शुभअंक १ र ११, शुभरंग रातो, स्वामी राशि मंगल ग्रह, मित्र राशि मिथुन र कुम्भ, धारण गर्ने रत्न मुगा हो । मेष राशि भएका व्यक्तिहरूले प्रत्येक मंगलबार गणेश भगवानको पूजा र सूर्य देवको आराधना गरी लक्ष्मीनारायणलाई गुलियो खिर अर्पण गरेमा राम्रो हुनेछ भने कामहरू समयमा नै सम्पन्न हुनेछन् । मेष राशिका व्यक्तिलाई मंगलबार शुभ र आइतबार अशुभ हुन्छ ।

वृष राशिका लागि शुभअंक ४ र १२, शुभरंग नीलो, स्वामीराशि शुक्र ग्रह, मित्र राशि कर्कट र मीन, धारण गर्ने रत्न हीरा हो । वृष राशि भएका व्यक्तिहरूले प्रत्येक सोमवार दान–पुण्य गर्नाले मानसिक शान्ति मिल्नेछ । साथै हरेक दिन गाईलाई रोटी र परेवालाई चारो दिनुहोस् र प्रत्येक बिहान भगवान शिवको दर्शन गरी शुक्रवार शिवलिंगमा साबुदाना अर्पण गर्दा निकै राम्रो हुनेछ । यस राशिका व्यक्तिलाई शुक्रबार शुभ, शनिबार अशुभ हुन्छ ।

मिथुन राशिका लागि शुभअंक १ र ५, शुभरंग हरियो र खैरो, स्वामी राशि बुध ग्रह, मित्र राशि मेष र सिंह, धारण गर्ने रत्न पन्ना हो । मिथुन राशि भएका व्यक्तिले प्रत्येक दिन आफ्नो इष्टदेवको दर्शन र पूजा, हनुमानजीको दर्शन गर्नाले ग्रहपीडा कम हुनेछ भने प्रत्येक दिन बिहानै देवी लक्ष्मी वा दुर्गाको दर्शन गरी गणेशलाई रातो फूल अर्पण गर्दा तपाइँको मनोकांक्षा पूर्ण हुनेछ । मिथुन राशिका लागि बुधबार शुभ र सोमबार अशुभ हुन्छ ।

कर्कट राशिका लागि शुभअंक २ र ६, शुभरंग सेतो, स्वामीराशि चन्द्रमा ग्रह, मित्र राशि वृष र कन्या, धारण गर्ने रत्न मोती हो । कर्कट राशि भएकाहरूले सोमवार शिवालयमा विशेष पूजा गरेर सोमवारकै दिन शाकाहारी रहनु भयो राम्रो हुनेछ । यस्तै हरेक बिहान भगवान कृष्णको दर्शन गरी तुलसी, मिश्री र मख्खनको भोग लगाएमा राम्रो हुनेछ । कर्कट राशिका लागि सोमबार शुभ र बुधबार अशुभ हुने गर्दछ ।

सिंह राशिका लागि शुभअंक ३ र ७, शुभरंग गुलावी र हल्का रातो, स्वामीराशि सूर्य ग्रह, मित्र राशि मिथुन र तुला, धारण गर्ने रत्न माणिक्य हो । सिंह राशि भएकाहरूले बंगलामुखी देवीको पूजा, शनिबार विष्णुको पूजा गरेर पीपलमा जल चढाउँदा लाभ मिल्नेछ । हरेक दिन बिहान सूर्यनारायणको दर्शन गरी रातो गुलाफ हनुमानजीको चरणमा अर्पण गर्दा तपाइँको स्वास्थ्य राम्रो हुनेछ । सिंह राशि भएका व्यक्तिका लागि आइतबार शुभ र शनिबार घात हुन्छ ।

कन्या राशिका लागि शुभअंक ४ र ६, शुभरंग हरियो र हल्का रातो, स्वामीराशि बुध ग्रह, मित्र राशि कर्कट र वृश्चिक, धारण गर्ने रत्न पन्ना हो । कन्या राशि भएका व्यक्तिहरूले हरियो कपडा लगाउने र गणेश भगवानको पूजा गर्नु लाभदायक हुन्छ । साथै हरेक दिन बिहान भगवान गणेशको दर्शन गरी देवी दुर्गालाई सेतो चामल अर्पण गर्नुहोस् । कन्या राशिका लागि बुधबार शुभ र शनिबार घात हुने गर्दछ ।

तुला राशिका लागि शुभअंक ५ र ९, शुभरंग निलो, स्वामी राशि शुक्र ग्रह, मित्र राशि सिंह र धनु, धारण गर्ने रत्न हीरा हो । प्रतिकूल समयमा देवीको दर्शन, बृहस्पतिको मन्त्रजप गरी समयलाई फलदायी बनाउन सकिनेछ । यस्तै मंगलवार गणेशजी र शुक्रवार लक्ष्मी देवीको पूजा गर्नाले लाभ मिल्नेछ । यस्तै भगवान लक्ष्मीनारायणलाई कमलको फूल अर्पण गरी हनुमानलाई लड्ड् चढाउनु भएमा तपाइँले आँटे ताकेका कामहरु पूर्ण हुनेछ । तुला राशिका लागि शुक्रबार शुभ र बिहीबार अशुभ हुनेछ ।

वृश्चिक राशिका लागि शुभअंक ६ र १०, शुभरंग रातो, स्वामीराशि मंगल ग्रह, मित्र राशि कन्या र मकर, धारण गर्ने रत्न मुगा हो । वृश्चिक राशि भएका व्यक्तिहरूले शनि ग्रहलाई खुसी पार्नका लागि विष्णुको पूजा, पीपलमा जल चडाउँने तथा मन्त्र जप गर्दा लाभ मिल्नेछ । यस्तै व्यापारी महानुभावहरुले भगवान विष्णु मन्दिरमा तुलसी रोपेर यात्रा पूर्व श्रीराम स्तुति पाठ गर्दा राम्रो हुनेछ । वृश्चिक राशिका लागि मंगलबार शुभ र शुक्रबार अशुभ हुनेछ ।

धनु राशिका लागि शुभअंक ७ र ११, शुभरंग पहेंलो, स्वामीराशि वृहस्पति ग्रह, मित्र राशि तुला र कुम्भ, धारण गर्ने रत्न मुगा हो । यो राशि भएका व्यक्तिले पहेंलो रंगको कपडा लगाउँदा सफलता मिल्नेछ । आफ्ना गुरुलाई सम्मान र गुरुमन्त्रको जप गर्ने बानी बसाल्दा राम्रो हुनेछ । यस्तै हरेक दिन हनुमानजीको दर्शन गरी पिपलमा जल र मिठाई अर्पण गरेर केशरीको टिका लगाउँदा तपाइँको परिवारमा शान्ति छाउनेछ । धनु राशिका लागि बिहीबार शुभ र शुक्रबार अशुभ हुनेछ ।

मकर राशिका लागि शुभअंक ८ र १२, शुभरंग कालो, स्वामीराशि शनि ग्रह, मित्र राशि वृश्चिक र मीन, धारण गर्ने रत्न पुष्पराज हो । मकर राशि भएका व्यक्तिले शनि मृत्युञ्जय पाठ र देवी भगवतीको पूजा गर्दा राम्रो हुनेछ । यस्तै हरेक बिहान देवी गायत्रीको दर्शन गरी महत्वपूर्ण काममा जानुपूर्व सेतो फूल साथमै लादा राम्रो हुनेछ । मकर राशिका लागि शनिबार शुभ र मंगलबार अशुभ हुनेछ ।

कुम्भ राशिका लागि शुभअंक १ र ९, शुभरंग कालो, स्वामीराशि शनि ग्रह, मित्र राशि धनु र मेष, धारण गर्ने रत्न नीलम हो । कुम्भ राशि भएकाहरूले शनिदेवको पूजा गर्ने, भोका व्यक्तिलाई भोजन र असाहय व्यक्तिलाई वस्त्रदान गर्नाले भाग्यमा वृद्धि हुनेछ । यस्तै महत्वपूर्ण काम पूर्व केराको बोटमुनी दियो बाली हनुमानलाई मीठा पान अर्पण गर्दा तपाइँले गर्न खोजेका कामहरु पूर्ण हुनेछ । कुम्भ राशिका लागि शनिबार शुभ र बिहीबार अशुभ हुनेछ ।

मीन राशि भएकाहरूका लागि शुभअंक २ र १०, शुभरंग पहेंलो, स्वामीराशि वृहस्पति, मित्र राशि मकर र वृष, धारण गर्ने रत्न पुष्पराज हो । मीन राशि भएकाहरूले ग्रहपीडा कम गर्न तथा सफलता प्राप्तिका लागि दैनिक गणेशजी तथा विष्णु भगवानको दर्शन एवं पूजा गर्दा राम्रो हुनेछ । यस्तै विष्णुलाई केसरीको टिका अर्पण गरेर र आफू पनि लगाउनुहोस् र लक्ष्मीलाई गुलियो प्रसाद अर्पण गर्नुहोस् यसले तपाइँको मनोकामना पूर्ण हुनेछ । मीन राशिका लागि बिहीबार शुभ र शुक्रबार अशुभ हुनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ