arrow

पेट्रोलियम पदार्थको मूल्यवृद्धि यथार्थ

पेट्रोलियम पदार्थलाई राजनीतिक वस्तुको रुपमा प्रयोग नगर्न निगम प्रवक्ता उपाध्यायको आग्रह 

‘हामीले भारतबाटै किन्छौं तर पेट्रोलमा भारतभन्दा २९–३० रुपैयाँ र डिजेल ३३–३४ रुपैयाँ सस्तोमा दिइरहेका छौं’

logo
प्रकाशित २०७७ माघ ७ बुधबार
nepal-oil-corporation.jpg.jpeg

काठमाडौं । नेपाल आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायले पेट्रोलियम पदार्थलाई राजनीतिक वस्तुको रुपमा प्रयोग नगर्न आग्रह गरेका छन् । गत सोमबार मध्यरातिदेखि लागु हुने गरी पेट्रोलियम पदार्थको मूल्यमा भएको वृद्धिपछि केही राजनीतिक दलका भ्रातृ संगठनहरुले मूल्यवृद्धिको विरोध गरेपछि प्रतिक्रिया दिने क्रममा प्रवक्ता उपाध्यायले सबैले दैनिक रुपमा प्रयोग गर्ने वस्तुलाई राजनीतिक रुपले नहेर्न आग्रह गरेका हुन् । 

हाम्राकुरासँग उनले भने, ‘यसलाई राजनीतिक वस्तुको रुपमा प्रयोग गर्न भएन । यसलाई दैनिक उपभोग्य वस्तुको रुपमा प्रयोग गरौं । यो त अन्ततोगोत्वा उपभोक्ताले प्रयोग गर्ने हो । उपभोक्ता तपाई हामी नै हो ।’

राजनीति गर्ने वस्तुको रुपमा प्रयोग गर्न खोजिँदा समस्या बढेर गएको भन्दै उनले दैनिक उपभोग्य वस्तुका रुपमा नै प्रयोग गर्न उनले आग्रह गरेका हुन् । 

प्रवक्ता उपाध्यायले भारतबाट किनेको पेट्रोलियम पदार्थ भारतमा भन्दा नेपालमा सस्तो भएको उदाहरण दिँदै उनले आयल निगमले सकेसम्म मूल्य समायोजन गरेकोसमेत बताएका छन् । उनले भने, ‘हामीले भारतबाटै किन्छौं तर पेट्रोलमा भारतभन्दा २९–३० रुपैयाँ र डिजेल ३३–३४ रुपैयाँ सस्तोमा दिइरहेका छौं ।’

उनले भारतमा हरेक दिनजसो मूल्यवृद्धि भइरहेको बताउँदै आजकल त्यहाँ विरोध हुन छोडेको बताए । भन्छन्, ‘पहिले पहिले भारतमा पनि नेपालमा जस्तै विरोध हुन्थ्यो । तर त्यहाँ पछि पछि दैनिक उपभोग्य वस्तुको हिसाबले हेर्न थालियो । अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धि भएपछि समायोजन गरियो । त्यसलाई सामान्य हिसाबले लिइयो ।’

उनले भारतीय आयल निगमले दिएको मूल्य अनुसार समयमै समायोजन नगरी अहिले गरेका कारणले मूल्य धेरै बढेको देखिएको बताएका छन् । 

उनले भने, ‘पछिल्लो समय डिसेम्बर १६ मा हामीलाई जुन मूल्य सूचि प्राप्त भएको थियो त्यो अनुसार बढाउन सकेका थिएनौं । जनवरी १ मा पनि बढाउन सकेनौं । जनवरी १६ मा भने करिब ६७ करोड ५५ रुपैयाँ अर्धमासिक घाटा हुने देखियो । त्यसपछि वाध्य भएर पेट्रोल र डिजेलमा समान २–२ रुपैयाँ बढाएका हौं ।’

उनले पेट्रोलियम पदार्थमा मूल्य घाटा बढ्दै जाँदा पूँजी प्रवाह गर्न पनि गाह्रो हुने भन्दै वाध्य भएर मूल्य बढाउनु परेको बताए । ‘मासिक २० अर्ब रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ किन्छौं । त्यसले गर्दा हामीलाई पूँजी अभाव हुन सक्छ । समयमै मूल्य समायोजन नगर्दा घाटा बढ्ने भएकाले गर्दा अहिले २ रुपैयाँ बढायौं ।’ निगम प्रवक्ता उपाध्यायले भने । 
 
उनले मूल्यवृद्धिपछि पनि पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ ३४ पैसा, डिजेलमा २ रुपैयाँ ९६ पैसा र एलपी ग्यास सिलिन्डरमा १३४ रुपैयाँ ७२ पैसा घाटा रहेको बताए । उनले समग्रमा ५० करोड रुपैयाँ घाटा रहेको बताए । 

मूल्य बढाउनु निगमको रहर नभई वाध्यता भएको पनि उनले बताए । अन्तर्राष्ट्रिय बजारमा जस्तो भाउ हुन्छ त्यसै अनुसार मूल्य समायोजन गर्नुपर्ने उनको भनाई छ । 

उनले भने, ‘गएको चैतमा १० रुपैयाँसम्म घटायौं । अन्तर्राष्ट्रिय बजारमा भाउ घटेपछि हामी पनि घटाउँछौं ।’ 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ