arrow

बेथिति

चुनावमा केपी ओलीलाई २० लाख दिएको भन्दै बस्तीमै ईटाभट्टा खोल्ने उद्योगीको तयारी 

logo
युबराज रेग्मी, 
प्रकाशित २०७७ माघ ७ बुधबार
gunaraj-thapa-jhapa-industr.jpg

झापा । प्रधानमन्त्री केपी शर्मा ओलीलाई चुनावमा आर्थिक सहयोग गरेको बताउँदै एक उद्योगीले राजनीतिक आडमा बस्ती नजिकै ईट्टाभट्टा उद्योग खोल्न थालेका छन् । स्थानीयले बस्ती नजिकै ईटाभट्टा खोल्न थालेको जानकारी पाएपछि विरोध गर्दा उद्योगी गुणराज थापाले प्रधानमन्त्री ओलीलाई चुनावमा २० लाख रुपैयाँ सघाएको भन्दै आफूले भनेकै स्थानमा भट्टा खोल्ने भन्दै स्थानीयलाई धम्की दिँदै आएका छन् । 

जिल्लाको कमल गाँउपालिका वडा नं १ स्थित रतनचौनमा मानव बस्ती नजिक ईटाभट्टा उद्योग खोल्ने तयारी गरेपछि स्थानीयले विरोध जनाएका छन् ।                        

साथै उनीहरुले सर्वसाधारणको जनस्वास्थ्यमाथि उद्योगीबाट गम्भीर खेलबाड हुन लागेकोमा चिन्तासमेत ब्यक्त गरेका छ्न् ।

दमकका उद्योगी थापाले कमल गाउँपालिका वडा न १  रतनचौनमा रहेको आफ्नो निजी जग्गामा ईटाभट्टा उद्योग खोल्ने भन्दै संरचना निर्माणका लागि निर्माण सामग्री झार्न थालेपछि कमल गाउँपालिका र गौरादह नगरपालिकाका स्थानीय विरोधमा उत्रिएका हुन् ।

मानव बस्ती नजिक ईटा उद्योग खोल्नका निमित्त निर्माण सामग्री झार्न थालेपछि विरोधमा उत्रिनु परेको कमलका स्थानियवासीले बताए । साथै उक्त विषयलाई सम्बोधन गरिदिन स्थानीय एक टोलीले केही दिनअघि गौरादह नगरपालिका वडा नं १ को कार्यालयमा ध्यानाकर्षण पत्रसमेत पेस गरेका छन् । 

व्यवसायी थापाले सोही ठाउँमा केही वर्षअघि ईटा तथा सिमेन्ट उद्योग खोल्ने भन्दै स्थानीयलाई आतंकित बनाउने गरेको स्थानीयले आरोपसमेत लगाएका छ्न् ।                                            

थापाले केही वर्ष पहिले पनि ईटा उद्योग खोल्ने योजना बनाउँदा स्थानीयले  विरोध जनाएका थिए । फेरि केही समय अगाडि सिमेन्ट फ्याक्ट्रीको कुरा आएको थियो । 

त्यो समयमा पनि स्थानीयका तर्फबाट तीव्र विरोध भएको थियो । यसपटक भने जसरी भए पनि ईटा उद्योग खोल्छु भन्दै थापाले सामान झार्न थालेपछि  बस्तीलाई असर पुर्याउने र प्रदूषण फैलाउने उद्योग खोलिने भएपछि पछिल्लो पटक स्थानीय पुनः त्रसित र भयभीत भएका छ्न् ।

 ‘निजी जग्गा हो भन्दैमा प्रदूषण फैलाउने र मानवीय स्वास्थ्यमा गम्भीर असर पुर्याउने उद्योग नै किन खोल्नु पर्यो ? अन्य उद्योग खोले त हामी पनि साथ दिन्थ्यौ’  स्थानिय सन्तोष कटवाल बताउँछ्न्  ।

थापाको कमल गाउँपालिका वडा नं १ मा रहेको १७ विगाहा निजी जग्गामा ईटा उद्योग खोलिए गौरादह नगरपालिकाको वडा नं  १ का  वडावासीहरुलाईसमेत असर पुर्याउने भन्दै गौरादहका स्थानीयहरु पनि विरोधमा उत्रनु परेको स्थानीय ईन्द्र न्यौपानेले बताए  ।         उद्योग स्थापना गर्न लागिएको जमीन कमल गाउँपालिकाको सीमानामा पर्ने गौरादह नगरपालिका वडा नं १ किस्ने खोला नजिक पनि बाक्लो बस्ती रहेको छ । बस्ती नजिकै अत्यधिक प्रदूषण फैलाउने ईटा उद्योग खोल्ने तयारी गरेपछि विरोधमा उत्रिनु परेको गौरादहका स्थानीयले बताए । 

कमल र गौरादहका स्थानीयले खुल्ने भनिएको ईटा उद्योगलाई रोकिपाउँ भन्दै कमल गाउँपालिक साथै  १ नं वडा कार्यालय र गौरादह नगरपालिका कार्यालय र वडा कार्यालयमा समेत निवेदन दिएका छन् ।

सोही निवेदनका आधारमा मंगलबार गौरादह नगरपालिका वडा नं १ ले आफ्नो रोहवरमा उद्योगी गुणराज थापा र स्थानीयबीच छलफलसमेत गराएको थियो । छलफलका क्रममा थापाले सो स्थानमा जस्तोसुकै परिस्थितिको सामना गरेर भए पनि यसपटक आफूले ईटा उद्योग खोलिछाड्ने बताए ।

थापाले भने, ‘मैले ईटाकै उद्योग खोल्ने हो । तर त्यो परम्परागत नभएर अत्याधुनिक र कम प्रदूषणयुक्त हुनेछ ।’ सम्पूर्ण सम्भाव्यता अध्ययन पछि ईटा उद्योगको लागि उपयुक्त स्थान किटान गरेर उद्योग खोल्ने तयारी गरेको झापा ईटा उद्योग संघका अध्यक्षसमेत रहेका थापाले बताए ।                                

छलफलमा सहभागी गौरादह नगरपालिका र कमल गाउँपालिका स्थानीयहरुले सो स्थानमा ईटा उद्योग कुनै हालतमा खुल्न नदिने बताए ।

जस्तै सुरक्षित भनिए पनि ईटा उद्योगबाट निस्कने प्रदूषणले वायु, जल, जमीनलाई असर गर्ने र मानवीय बस्ती नै खतरामा परेर विस्थापित हुने अवस्था आउने उनीहरुको तर्क छ ।       

छलफलमा दुवै पक्ष आ–आफ्नो अडानमा कायम देखिएपछि कुनै निर्णय हुन नसकेको गौरादह नगरपालिका वडा नम्वर १ की वडा प्रतिनिधि तथा कार्यपालिका सदस्य देवीमाया श्रेष्ठले बताइन्  ।

छलफलमा कुनै निर्णय हुन नसक्दा दुवै पालिकाका वडा अध्यक्ष सहितको उपस्थितिमा पुनः छलफल गराउने निर्णय भएको श्रेष्ठले बताइन् । चुनावताका हाल प्रधानमन्त्री रहेका केपी ओलीलाई तत्कालीन समयमा चुनाव खर्चका निम्ति २० लाख चन्दा दिएको छु म कुनै हालतमा उद्योग खोली छाड्छु भन्दै व्यवसायी थापा हिड्ने गरेको स्थानीयको आरोपसमेत रहेको छ ।                                      

यसरी राजनीतिक आडमा मानव स्वास्थ्यलाई गम्भीर असर पुर्याउने गैरजिम्मेवारीपूर्ण कार्य निन्दनीय र गम्भीर भएको स्थानीयले आपत्ति जनाएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ