arrow

कमलपोखरीको पुनःनिर्माण रोकियो, आवश्यक परामर्शपछि तत्काल काम सुरु गरिने

logo
प्रकाशित २०७७ माघ ८ बिहिबार
kamalpokhari1.jpg

काठमाडौं। काठमाडौं महानगरपालिका-१ स्थित ऐतिहासिक कमलपोखरी पुनःनिर्माणको काम तत्कालका लागि स्थगित भएको छ। कमलपोखरी निर्माण गर्दा ऐतिहासिक र पर्यावरणीय पक्षलाई ध्यान दिन पुरातत्त्व विभाग, स्थानीय सरोकारवाला र सम्पदा संरक्षण अभियन्ताले महानगरपालिकालाई ध्यानाकर्षण गराएपछि हाललाई निर्माणको काम रोखिएको हो।

महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्कीका अनुसार स्थानीयबासी, सम्पदा संरक्षण अभियन्ता, निर्माण कम्पनीलगायत सरोकारवालाहरुसँग छलफल गरि पुनः काम सुरु गरिने छ।

सम्पदा संरक्षण अभियन्ता शुसन बैद्यले पोखरी पुनःनिर्माणका क्रममा मौलिकतालाई ख्याल नगरी ऐतिहासिक र पर्यावरणीय पक्षलाई मास्न खोजेकाले तत्काल काम रोकेर सबैसँगको मरामर्श र छलफल गरी निर्माण थाल्न महानगरलाई अनुरोध गरेको जानकारी दिए ।

यसअघि कमलपोखरी संरक्षण एवं जनहित समाज, कमलपोखरी स्पोर्टस क्लब र स्थानीय बासिन्दाले पोखरी निरीक्षण र निर्माण व्यवसायीसँग छलफल गरी हाललाई निर्माण रोक्न माग गरेका थिए ।

काठमाडौं क्षेत्र नम्बर ४ का सांसद गगन थापा र सम्पदा संरक्षकहरुले महानगरले पहिले गरेको सहमतिको उल्लघंन गर्दै पोखरीको डिजाइन नै फेरबदल गरी काम अघि बढाएको भन्दै आपत्ति जनाएका थिए । सांसद थापाले महानगरमै गएर हाललाई काम रोकेर मौलिकता नमास्नेगरी सबैसँगको परामर्श गरी तत्काल काम थाल्न माग गरेका थिए ।

तर काठमाडौं महानगरपालिकाको पूर्वाधार विकास विभाग प्रमुख तथा इन्जिनियर राम थापाले पोखरीको डिजाइन सबैको सहमतिमै भएकाले निर्माणको काम नरोकिने बताएका थए । उनले भने,‘पोखरी निर्माणलाई राजनीतिकरण गर्न खोजिएको हो, पोखरीको डिजाइन त तीन बर्षअघि देखिनै स्थानीयबासी र सम्पदा संरक्षकहरुसँग गरेको सहमति अनुसार तयार गरेका हौं ।’

कमलपोखरी संरक्षण एवं जनहित समाजका संयोजक प्रकाश कार्कीले स्थानीयबासी र सम्पदा संरक्षण अभियन्ताहरुको भएको सल्लाह र परामर्शविपरित काम भएकाले रोक्न अनुरोध गरेको जानकारी दिए । ‘निर्माण कम्पनीलाई पनि हामीले भेटेरै तत्काललाई काम रोक्नुहोस भनेका हौं, चिरा परेको पोखरीमा पानी भर्न र सिमेन्टको प्रयोग नगर्न पनि अनुरोध गरेका छौं,’उनले भने,‘तर पोखरी पुनःनिर्माणको काम तत्काल अघि बढाउनुपर्छ ।’

करिब ९ करोड ४६ लाख रुपैयाँ लागत लाग्ने अनुमान गरिएको पोखरी पुनःनिर्माणको महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्य, उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ, र वडा १ का अध्यक्ष भरतलाल श्रेष्ठले गत असार १९ गते शिलान्यास गरेका थिए।

निर्माणको ठेक्का पाएको जय धनञ्जय कँडेल जेभी, रानीबारी काठमाडौंले सम्झौता अनुसार गत असार १५ गते नै पुनःनिर्माण सम्पन्न गर्नुपर्ने भनिए पनि निर्माणमा ढिलाई भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ