arrow

कांग्रेसलाई प्रदेश सरकारबारे निणर्य गर्नै सकस

देउवा ओली र पौडेल-सिटौला प्रचण्ड-माधवसँग सहकार्यको पक्षमा

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ माघ ९ शुक्रबार
nc-party-office.png

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस भित्र प्रदेश १ र बागमती प्रदेश सरकारका विषयमा के गर्ने भन्ने सन्दर्भमा दिनहुँजसो छलफल हुँदै आएको छ । संसद विघटनको घटनापछि विभाजित बनेको नेकपाको पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपाल समूहले दुबै प्रदेशमा हाल रहेका मुख्यमन्त्री बिरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएपछि प्रक्रिया अघि बढ्दै छ । 

यि दुबै प्रदेशमा मुख्यमन्त्री कसलाई बनाउने भन्ने साँचो चाँही कांग्रेसकै हातमा छ । त्यही कारण नेकपाको प्रधानमन्त्री केपी ओली पक्ष र प्रचण्ड-माधव पक्ष कांग्रेस नेतृत्वसँग निरन्तर छलफलमा समेत रहँदै आएको छ । स्रोतका अनुसार प्रधानमन्त्री ओलीले प्रदेश १ मा हाल रहेका मुख्यमन्त्री शेरधन राईलाई सघाउन र बागमतीको नेतृत्व लिन कांग्रेस सभापति शेरबहादुर देउवालाई आफू निकटका नेता मार्फत सन्देश पठाउँदै आइरहेका छन् । 

सोही सन्देश अनुसार नै कांग्रेस सभापति देउवाले पार्टी भित्र छलफलसमेत अघि बढाउँदै आइरहेका छन् । नेकपाकै अर्को समूह अर्थात अविश्वासको प्रस्ताव अघि बढाउँने प्रचण्ड-माधव समूहले दुबै प्रदेशमा कांग्रेसलाई मुख्यमन्त्री पद दिन तयार देखिएको छ । 

सो सन्देश बोकेर प्रचण्ड-माधव आफैं केही दिनअघि देउवा निवास पुगेका थिए । त्यसबखत उनीहरुले संसद विघटन बिरुद्धको आन्दोलनमा समेत सहकार्यको प्रस्ताव गरेका थिए । तर, देउवाले भने आन्दोलनमा तत्काल सहकार्यको सम्भावना नरहेको जवाफ दिएका थिए । 

देउवाले शुक्रबार समेत प्रदेश सरकारमा कसरी अघि बढ्ने भन्ने सन्दर्भमा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल, बागमती प्रदेशबाट पार्टी केन्द्रमा प्रतिनिधित्व गर्ने नेता तथा प्रदेशका केही सांसदहरुसँग छलफल गरेका छन् । 

छलफलका क्रममासमेत देउवा प्रदेश १ मा हालकै ओली निकट मुख्यमन्त्री राईलाई सघाउने र बागमतीमा आफ्नो पार्टीले मुख्यमन्त्री लिने लाइनमा उभिएका छन् । 

तर वरिष्ठ नेता पौडेलसहितका नेताहरु भने देउवाको प्रस्तावलाई ठाडै अस्वीकार गर्दै संसद विघटनको असंवैधानिक काम गर्ने ओलीकै पक्षमा सँगै जान नसकिने जवाफ दिएका छन् । उनीहरुले सहकार्य गर्नै परे पनि अर्को पक्षसँग गर्न सकिने नभए आफ्नै उम्मेदवार अघि सार्न सकिने प्रस्ताव गरेका छन् । 

आफ्नो प्रस्तावका विषयमा नेताहरु सहमत नभएपछि देउवाले सम्वन्धित प्रदेशलाई नै निणर्य गर्ने अधिकार दिने बताए । तर वरिष्ठ नेता पौडेलसहितका केही नेताहरुले भने पार्टीको प्रदेश संरचना गठन नभइसकेको अवस्थामा केन्द्रबाट नै निणर्य हुनु पर्ने भन्दै बैठकबाट उठेका छन् ।  

सभापति देउवाका सहयोगी भानु देउवाका अनुसार प्रदेशमा के गर्ने भन्ने विषयमा भएको छलफलमा कुनै निश्कर्ष निस्किसकेको छैन । 

‘बागमती प्रदेशका विषयमा कुराकानी भएको हो, तर के गर्ने भन्ने ठ्याक्कै टुंगो लागिसकेको छैन, फेरी छलफल गर्ने भन्ने छ,’ सभापति देउवाका सहयोगी भानु देउवाले हाम्राकुरासँग भने । 

देउवाले गत बुधबार समेत प्रदेश १ बाट पार्टी केन्द्रमा प्रतिनिधित्व गर्ने नेता, प्रदेशका नेता तथा केही सांसदहरुसँग समेत छलफल गरेका थिए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ