arrow

नेता राजभण्डारीको तथ्यगत विश्लेषण: ७५ प्रतिशत सांसद प्रतिनिधि सभा विघटनको विरुद्धमा छन्

logo
प्रकाशित २०७७ माघ ९ शुक्रबार
dibyamani-rajbhandari.gif

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा सांसद दिब्यमणी राजभण्डारीले २०७४ सालको प्रतिनिधि सभा निर्वाचनबाट चुनिएका ७५ प्रतिशत सांसदहरु संसद विघटनको विरोधमा रहेको तथ्य सार्वजनिक गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको भोटलाई बेइमानी गरेकाले त्यही भोटको सम्मानका लागि आफूहरु प्रधानमन्त्रीको कदमको विरोधमा उत्रिनुपरेको बताउँदै प्रत्यक्ष र समानुपातिक तर्फका ७५ प्रतिशत सांसदहरु संसद विघटनको विरोधमा रहेको तथ्य औंल्याएका हुन ।

काठमाडौंमा आयोजित एक सभामा बोल्नेक्रममा सांसद राजभण्डारीले प्रत्यक्षतिर नेकपा एमाले र माओवादीसहित जोड्दा १७५ जनामध्ये ९२ जना, नेपाली कांग्रेसका ६१ जना, समाजवादीका ३२ जना, जनमोर्चाका एकजना गरी कूल २७५ मध्ये १८६ जना प्रतिनिधि सभा सदस्य संसद विघटनको विरुद्धमा देखिएको तथ्य औंल्याएका हुन ।

उनले भने, ‘यत्रा जनताका प्रतिनिधि हुँदाहुँदै संसदमा फेस नगरी आफ्ना व्यक्तिगत स्वार्थ र गुटगत स्वार्थका आधारमा प्रधानमन्त्रीले असंवैधानिक कदम चालेकाले आफूहरु उनको कदमको विरुद्धमा उत्रिएका हौं, जनताको भोटको सम्मानका लागि उत्रिनुपरेको हो ।’

समानुपातिक तर्फ पाएको भोटको विश्लेषण गर्दै सांसद राजभण्डारीले भने, ‘प्रत्यक्ष हुँदा जनताले उम्मेदवारको मुख हेरेर पनि भोट दिएको हुन्छ, समानुपातिक हेर्दा पार्टीलाई भोट दिएको हुनाल ०७४ सालको समानुपातिक भोट हेर्दा त्यसबखत नेकपा एमालेले ३३.२५ प्रतिशत भोट पाएको थियो । त्यसमध्येमा अहिले करिब १६ प्रतिशत ओलीको विरोधमा हुनुहुन्छ । नेपाली कांग्रेसले ३२.७८ प्रतिशत पाएको थियो । ति सबै ओलीको क्रियाकलापको विरोधमा हुनुहुन्छ । समाजवादी पार्टी र राजपाले ४.९५ र ४.९३ प्रतिशत गरी करिब १० प्रतिशत पनि विरोधमा छन’ उनले भने,‘अरु सानातिना पार्टीले ९ प्रतिशत भोट पाएका थिए । त्यसमा पनि ६ प्रतिशत विरोधमा हुनुहुन्छ । भनेपछि जनमत कहाँ छ ?’

सांसद राजभण्डारीले अघि भने, ‘जनमत अहिलेको सरकारको विरोधमा र सरकारले गरेको गतिविधिको विरोधमा छ । तसर्थ प्रतिनिधि सभा विघटन नगरिदएको भए जनताका आवाजहरु, जनताले अर्‍हाएका कुराहरु संसदबाट सबैलाई जानकारी गराउथ्यौं । र एउटा शुसानका लागि अघि बढ्न सक्थ्यौं ।’

‘अहिले करिब ७५ प्रतिशत जनप्रतिनिधिहरु अहिलेको सरकार र क्रियाकलापको विरोध गर्छन । यहाँ प्रतिनिधि सभाको मात्रै कुरा छैन राष्ट्रिय सभा पनि छ । मिटिङ संचालन वा मिटिङ कल गर्‍यो । विधेयकमा छलफल गर्नुपर्ने थियो । पाँचै दिनमा गयो । प्रदेश सभाहरुको मिटिङ कल गरियो एक/एक मिनेट तीन/तीन मिनेटमा टुगाइदियो’ उनले भने,‘यो कतिसम्म संविधान, नियम, कानुन र पद्धतीलाई हसीमजाक बनाइदिएको छ,  त्यस कारण यो नेपालमा प्रजातन्त्र र लोकतन्त्रको विरोध र जनप्रतिनिधिहरुको हेला हुने कामले हाम्रा अधिकार र भविष्य अन्धकार बनाउन खोजेको देखिन्छ ।’

ओलीको कदमप्रति आक्रोशित बनेका राजभण्डारीले आशावादी हुँदै भने, ‘यो पदको कुरा होइन । यो संविधानको कुरा हो । यो पदको कुरा होइन पद्धतीको कुरा हो । आज नेपाली कांग्रेसको प्रत्यक्ष रुपले चुनाव जितेको २१ सिट मात्र हो । हुनसक्छ भोली चुनाव भयोभने सिट बढ्छ होला । कतिपय हाम्रा अग्रज नेताहरु बाहिर बस्नुभएको छ उहाँहरु पनि आएर बस्नुहुन्छ होला र फेरी चुनाव भयो भने हामी जितेर आउँछौं होला ।’

‘जब गिरिजा प्रसाद कोइरालाले र  शेरबहादुर देउवाले चुनाव गराउनुभयो हामी सबै हार्‍यौं । तर हाम्रो जित भनेको जनताको भलाई र रक्षाको निम्ती जित हो । पार्टीले हार्यो होला, ब्यक्ति हार्‍यौं होला तर हामी प्रजातन्त्रका निम्ती, संविधानले दिएका धाराको रक्षाका निम्ती कांग्रेस कहिले पनि पछी हट्दैन’ उनले भने, ‘तर हालका प्रधानममन्त्री खड्गप्रसाद ओली पार्टीको आफ्नै कार्यकर्ता, आफ्नै साथीहरुका लागि फेस गर्न नसकेर हारेर जानुभो । शासन पद्धती वा प्रणालीलाई नै बेइमानी गरेर विघटन गर्नुभयो । कस्तो हालत छ हाम्रो ?’

कांग्रेस एक ढिका छ

सांसद राजभण्डारीले नेपाली कांग्रेसको अवस्थाबारे विश्लेष्ण गर्दै भने, ‘आज पार्टीभित्र हामी व्यक्ति व्यक्तिको सोचाइ र विचार फरक होला सबैको सिद्धान्त एउटै छ । हामीले समाजवाद, लोकतन्त्र, प्रजान्तत्र र अहिले आएर गणतन्त्र पुग्दा एक छौं । हामी सबैको बोली विविध छ । हामी कोइ नेप्टे, चेप्टे, चुच्चे छौं, कोही गोरो र कालो छौं तर हामी सबै नेपाली कांग्रेस हौं । नेताले के भन्नुभयो के भन्नुभएन भन्ने होइन,’ उनले अगाडि भने, ‘नेपाली कांग्रेस केन्द्रिय समितिको आधिकारीक निर्णय भनेको हाल विघटन गरिएको प्रतिनिधि सभाको विरोध गर्नुहो । र पुनः स्थापनाका लागि जनताको आवाज उठाउनु हो ।’

पार्टी सभापति शेरबहादुर देउवाले बोलेको कुरालाई स्मरण गराउँदै सांसद राजभण्डारीले भने, ‘हाम्रा सभापतिजीले के भन्नुभएको छ भने सबभन्दा ठूलो अदालत भनेको जनताको अदालत हो ।’

जनताको अदालको स्मरण गर्दै सांसद राजभण्डारीले विगतका बारेमा भने, ‘जब राजा ज्ञानेन्द्रले संसद विघटन गरे, त्यसबखतका कांग्रेसका सभापति स्वर्गीय गिरिजा प्रसाद कोइरालाले संसद पुनस्थापनाका निम्ती माग राखेर एक्लै आन्दोलन थाल्नुभयो । पछि कम्युनिष्टहरु साथमा आए । १२ बुँदे सम्झौता भयो । छोटो समयमा आन्दोलन सफल भयो र संसद पुनःस्थापना भयो’ उनले भने, ‘त्यसकारण हाम्रा पार्टी सभापतिले जनताको अदालत भन्नुभयो । अर्थात बरिष्ठ नेता रामचन्द्र पौडेलजीले पद्धतीका निम्ती वा संविधानका निम्ती भन्नुभएको कुरा के भने, जनताले के भन्छन, जनताले के खोज्छ र जनप्रतिनिधिहरुले के भन्छौं भन्ने कुरा गर्नुभएको हो ।’

त्यसैले यतिबेला विघटित प्रतिनिधि सभा पुनःस्थापनका गर भन्ने नै हो उनले भने,  मलाई आशा छ निर्णय गर्नेहरुले पनि जनताको आवाज के छ र संविधानको प्रावधान क ेछ र हामी कसरी अगाडी हिड्नुपर्छ भनेर पुनल्स्थापना गर्दछ र जनहितको निर्णय गर्छ भन्ने विश्वास छ ।’

ट्रम्पकै नियति हुनसक्छ 

राष्ट्रिय र अन्तर्राष्ट्रिय अवस्थालाई मूल्याकंन गर्दै सांसद राजभण्डारीले भने, ‘भर्खरै अमेरिकाको राष्ट्रपतिको पदस्थापना हेर्दा डोनाल्ड ट्रम्प जो हरुवा थिए, जसले बदमासी गरेका थिए, तानाशाही ल्याउन खोजेका थिए लुकेर भागेर गए । जनताको सामू आउन सकेनन् ।’
ट्रम्पकै नियति नेपालका प्रधानमन्त्रीले पनि भोग्नुपर्ने अवस्था आउनसक्ने भन्दै राजभण्डारीले यही परिस्थिति भइराख्यो भने अहिलेका प्रधानमन्त्री ओली र शासकहरुको हालत त्यस्तै हुन्छ । त्यसका निम्ती नेपाली कांग्रेसको आदर्शमा वा जनताको हितमा एकिकृत हुनुपर्छ, विरोधमा लागिरहनुपर्छ ।’

‘आज केन्ददेखि वडासम्म विरोधसभा भइरहेको छ । अब हाम्रो केन्द्रिय समितिको निर्देशन वा हामी आफैं निर्णय गरेर विरोध सभामा जानुपर्छ । जनचेतना बढाउनुपर्छ र नेपाली कांग्रेसको आवश्यक्ता के हो बुझाउनुपर्छ । पार्टीलाई पपुलर बनाउनु पर्छ’,उनको आग्रह थियो ।

अनि कविता सुनाए
सांसद राजभण्डारीले बर्तमान राजनीतिक अवस्था वा केपी शर्मा ओलीलाई इङ्गित गर्दै कविता पनि सुनाए ।
‘कुन यात्रामा लान्छौ शासक, जनतालाई जात्रैजात्रा मात्र देखाई
कसरी गर्छौ निर्णयहरु कार्यान्वय, गर्ने क्षमता नभई
हाँक्छौं कसरी देश, जनताप्रति जवाफदेही नभई
बन्छौ माक्सवादी कसरी, मास्कमै मास्क लगाई
टार्छौ कसरी संकटमा जनतालाई, जब आफ्नो मात्र दुनो सोझ्याइ
कुन भाषामा बोल्छौं इमान्दारिता, भ्रष्टहरुसँग अंगालै अंगालो हाली
धन्य रहेछौं शासक बर्ग, जनताको भोट वा  विश्वासमा बेइमानी गर्नसक्ने गरी’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ