arrow

प्रचण्ड र बाबुरामको मिलनबिन्दु खोज्दै उपराष्ट्रपति पुनः, भेटघाटको केन्द्र बन्दै उपराष्ट्रपति कार्यालय

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ माघ ९ शुक्रबार
baburam-nandakishor-pun-pra.jpg

काठमाडौं । उपराष्ट्रपति नन्दकिशोर पुन पासाङ यतिबेला नेकपा (माधव–प्रचण्ड) समूह र डा. बाबुराम भट्टराईबीच सहकार्य गराउने कसरतमा लागेका छन् । विगत एक सातादेखि पासाङले सो समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र पूर्व माओवादी नेता समेत रहेका जसपाका अध्यक्ष भट्टराईबीच निरन्तर भेटघाट गराउने र दुई समूहलाई मिलाएर लैजाने प्रयास गरिरहेका छन् । उनले उपराष्ट्रपति निवासलाई दुई अध्यक्षको भेटघाट गर्ने थलोको रुपमा परिणत गरिरहेका छन् । 

‘विगत एक सातादेखि दुवै नेताहरुबीच कुराकानी र भेटघाट भैरहेको छ’, उपराष्ट्रपति निकट स्रोतले भन्यो । शुक्रबार पनि भृकुटीमण्डपको आमसभा सिध्याएर प्रचण्ड उपराष्ट्रपति कार्यालयमा पुगेर डा. बाबुरामसँग भेटघाट गरेका थिए । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. भट्टराईबीच गोप्य छलफल भएको थियो । सो समूहले काठमाडौमा आयोजना गरेको विशाल विरोध सभा सकिए लगत्तै उपराष्ट्रपति नन्दबहादुर पुनलाई साक्षी राखेर पूर्व माओवादीका दुई शीर्ष नेताबीच छलफल भेटघाट भएको थियो । ‘आजमात्रै होइन यो भेटघाट र छलफल उहाँहरुले नियमित रुपमै गरिरहनु भएको छ’, स्रोतले भन्यो । 

उपराष्ट्रपति निवासमा प्रचण्ड र बाबुरामबीच करिब डेढ घण्टा छलफल भएको स्रोतले बतायो । स्रोतका अनुसार प्रचण्ड उपराष्ट्रपति निवासमा डा. भट्टाराईसँग करिब डेढ घण्टा विताएका थिए । प्रचण्ड लैनचौरस्थित उपराष्ट्रपति निवासमा पौने पाँच बजे पुगेका थिए भने त्यस लगत्तै बाबुराम पनि त्यहाँ पुगेका थिए । उनीहरु साढे ६ बजे लैनचौरबाट बाहिरिएको स्रोतले बतायो । सत्तारुढ दल नेकपा औपचारिक रुपमा विभाजन नभए पनि दुई गुटमा स्पष्ट रुपमा विभाजन भइसकेको बेला पूर्व माओवादीका शीर्ष नेताहरुबीच भएको यो छलफललाई महत्वपूर्ण मानिएको छ। उनीहरुबीच के कुरा भयो भन्नेबारे केही खुलाइएको छैन । 

प्रतिनिधिसभा विघटनविरुद्ध यतिबेला नेकपा (माधव–प्रचण्ड) समूह र जनता समाजवादी पार्टीले छुट्टाछुट्टै आन्दोलन गरिरहेका छन् । दुबै पार्टीका नेताहरुले सँयुक्त आन्दोलन गर्नुपर्ने बताइरहेका छन् । तर, नेकपा विभाजन नभइसकेकाले संयुक्त आन्दोलन भने हुन सकिरहेको छैन । यो भेटले संयुक्त आन्दोलनबारे नयाँ आधार बन्न सक्ने विश्लेषण गरिएपनि गोप्य भेटले भने राजनीतिक परिस्थितिमा नयाँ ढंगको विकासक्रम हुनसक्ने आँकलन गरिएको छ । केही दिन अघि देखि माधव प्रचण्ड समूहले जनता समाजवादी पार्टीसँग आन्दोलनको सहकार्य गर्ने प्रस्ताव राखेको थियो । तर भट्टराई लगायतका समाजवादी नेताहरुले यसलाई अस्वीकार गर्दै आएपछि जसपाभित्र पनि विवाद भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ