arrow

प्रधानमन्त्री ओली संविधानको भक्षक भएको भन्दै कार्यक्रममा सहभागी नहुन अपांग संघको आग्रह

logo
प्रकाशित २०७७ माघ ११ आइतबार
bhojraj-shrestha-loktantrik.jpg

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली संविधानको भक्षक भएको भन्दै आफूहरुका हक अधिकार छिन्ने प्रधानमन्त्रीको कार्यक्रममा सहभागी नहुन नेपाल लोकतान्त्रिक अपांग संघले संघसँग आवद्ध सबैलाई आग्रह गरेको छ । प्रेस विज्ञप्ति जारी गर्दै संघका अध्यक्ष भोजराज श्रेष्ठले ‘नेपाल कम्युनिष्ट पार्टीको झण्डै दुई तिहाइको बहुमतबाट बनेका प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै पार्टीको घर झगडाको कारण २०७७ पौष ५ गते असंवैधानिक कदम चाली प्रतिनिधिसभा विघटन गरी नेपालको संविधान २०७२ को धज्जी उडाएको मात्र नभइ जनतालाई गुमराहमा राखी प्रतिगमनतर्फ उन्मुख भएको जगजाहेर नै छ’ भन्दै उनी सहभागी कार्यक्रममा उपस्थिति नहुन संघसँग आवद्ध सबै सदस्यलाई आग्रह गरेका हुन् । 

उनले विज्ञप्तिमा भनेका छन्, ‘नेकपाभित्र पनि ओली समूह बाहेक सबै शीर्ष नेतृत्व, नेपाली कांग्रेसलगायत पार्टीहरु, मानव अधिकारवादी, नागरिक समाज, बुद्धिजिवी, पूर्वप्रधानन्यायाधीशहरु, साहित्यकार, कलाकार सबैले नेपालको संविधानमाथि ‘कू’ गरेको भनी सर्वत्र विरोध गरिरहेको अवस्थामा राष्ट्रिय अपाङ्ग महासंघ नेपाललगायत केही संस्थाले बेला न कुबेला ‘प्रधानमन्त्रीसँग अपाङ्गता भएका व्यक्तिहरु’ भन्ने कार्यक्रमको आयोजना गर्न लागेको थाहा पाउँदा आश्चर्य लागेको छ ।’

उनले यो कार्यक्रममा सहभागी नहुन सबैलाई आग्रह गरेका हुन् । शेरबहादुर देउवा सरकारले स्पाइनल कर्ड इन्जुरी भएका अपांगता भएका व्यक्तिलाई मासिक ५ हजार उपचार खर्च दिएको निर्णयलाई ओली सरकारले खारेज गरेको, निजामती ऐनमा अपाङ्गता भएका ब्यक्तिले पाएको आरक्षण सिट घटाउने कार्य गरेको, पटक पटक सामाजिक सुरक्षा भत्ता कटौती गरी मानसिक यातना दिएको र अन्य विधेयकहरुमा अपाङ्गता भएका ब्यक्तिहरुको सवाल नसमेटेको भन्दै श्रेष्ठले आफूहरुलाई अपमान गर्ने व्यक्तिको कार्यक्रममा सहभागी बन्नुको कुनै औचित्य नभएकोसमेत स्पष्ट पारेका छन् । 

विज्ञप्तिमा, ‘अपांगता भएका व्यक्तिहरुको अन्तर्राष्ट्रिय दिवसका सन्दर्भमा विगतका प्रधानमन्त्रीहरुले शुरु गरेका ‘अपांगता भएका व्यक्तिहरुसँग प्रधानमन्त्री” कार्यक्रमलाई निरन्तरता नगरी एउटा विज्ञप्तिसमेत ननिकालेर अपांगता भएका व्यक्तिहरुलाई अपहेलना, अपमान र तिरस्कार गर्ने ओली सरकार अपाङ्गता भएका व्यक्तिहरुको पक्षधर हुन नसक्ने अवस्थामा राष्ट्रिय अपाङ्ग महासंघ नेपाल साझा र गैरराजीतिक संस्था भएकोले पार्टीको एउटा गूटको भेलाको आयोजक बन्नु सम्पूर्ण अपाङ्गता भएका ब्यक्तिहरुका संघसंस्थाको अपमान हुने भएकोले महासंघको गरिमा बचाउन र लोगो दुरुपयोग नगर्न ध्यानाकर्षण गराउंदै संविधान संरक्षण गर्न सकेमात्र हाम्रा आर्थिक, सामाजिक, सांस्कृतिक, नागरिक र राजनीतिक अधिकार सुनिश्चित हुने छन् । संविधानमा उल्लेखित अधिकार पर्याप्त भएन भन्नेहरुले नै संविधानको चीरहरण गर्ने उक्त कार्यक्रममा राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघसँग सम्बद्ध कोही पनि उपस्थित नहुन हार्दिक अनुरोध गर्दछौं ।’ भनिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ