arrow

टिप्पणी

बहादुर भवनमा राजनीतिको नयाँ कोर्ष: नयाँ प्रधानमन्त्रीमा डा.बाबुराम ?

logo
प्रकाशित २०७७ माघ ११ आइतबार
baburam-nandakishor-pun-pra.jpg

काठमाडौं । काठमाडौं कान्तीपथस्थित चार बुर्जा दरबार अर्थात बहादुर भवनमा उपराष्ट्रपति नन्द बहादुर पुन बस्छन् । अघिपछि यहाँ मानिसहरुको ओहोरदोहोर न्यून नै हुनेगर्दथ्यो । तर पछिल्लो साता नेपाली राजनीतिका शीर्ष नेताहरु ठूलै योजना लिएर बहादुर भवन छिर्न थालेका छन् ।

गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरी बैशाखमा नयाँ निर्वाचनको मिति तय गरेपछि बहादुर भवनमा नेताहरुको आउजाउ बाक्लिएको छ । शीतल निवासले घात गरेको भन्दै बहादुर भवन छिर्ने नेताहरुले राजनीतिको नयाँ कोर्ष सुरु गरेका छन् ।

प्रतिनिधिसभा विघटन गरी ताजा जनतादेशमा जाने राष्ट्रपति विद्यादेवी भण्डारी आदेशप्रति असन्तुष्ट रहेका उपराष्ट्रपति पुन आफैं सक्रिय भएर राजनीतिको नयाँ कोर्ष तयार गरिरहेको विश्लेषण हुन थालेको छ ।

नेकपा माधव–प्रचण्ड समूह र डा. बाबुराम भट्टराईबीच सहकार्य गराउने कसरतमा बहादुर भवन लागिरहेको छ । समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र पूर्व माओवादी नेता समेत रहेका जसपाका अध्यक्ष भट्टराईबीच निरन्तर भेटघाट गराउने र दुई समूहलाई मिलाएर लैजाने प्रयास गरिरहेका छन् । उनले उपराष्ट्रपति निवासलाई दुई अध्यक्षको भेटघाट गर्ने थलोको रुपमा परिणत गरिरहेका छन् ।

उपराष्ट्रपति पुन, डा.भट्टराई, प्रचण्ड माओवादी जनयुद्ध सुरु गर्दाका सारथी भएकाले पनि हालको राजनीतिक संकटमा उनीहरुबीच ट्यूनिङ मिलेको छ । राजनीति र सत्ता लालचले उनीहरुको सम्बन्ध पूर्व–पश्चिम फर्केपनि अबका दिनमा सहकार्य हुने अवस्था आउन सक्ने देखिएको छ । मुद्दाहरुमा सहकार्य मात्र होइन सत्ता साझेदारीको बहस सुरु भएको छ ।

सत्तारुढ दल नेकपा औपचारिक रुपमा विभाजन नभए पनि दुई गुटमा स्पष्ट रुपमा विभाजन भइसकेको बेला पूर्व माओवादीका शीर्ष नेताहरुबीच भएको यो छलफललाई महत्वपूर्ण मानिएको छ। 

प्रतिनिधिसभा विघटनविरुद्ध यतिबेला नेकपा (माधव–प्रचण्ड) समूह र जनता समाजवादी पार्टीले छुट्टाछुट्टै आन्दोलन गरिरहेका छन् । दुबै पार्टीका नेताहरुले सँयुक्त आन्दोलन गर्नुपर्ने बताइरहेका छन् । तर, नेकपा विभाजन नभइसकेकाले संयुक्त आन्दोलन भने हुन सकिरहेको छैन । तर बहादुर भवनमा भएको भेटवार्ता खासमा संयुक्त आन्दोलन गर्ने विषय मात्रले प्रवेश पाइरहेको छैन । 

नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवालाई नेकपाका दुवै नेताले प्रधानमन्त्रीको अफर गरेपनि देउवाले सकरात्मक सिग्नल नदेखाएपछि राजनीतिक कोर्ष केही बदलिएको बताउन थालिएको छ । उनीहरु प्रतिनिधि सभाको पुनःस्थापना गराएर भावी सत्ता र शक्तिको बाँडफाँट गर्ने दिशामा अघि बढेको अनुमान पनि लगाइएको छ ।

छिमेकी देश भारत नेपालमा राजनीतिक स्थिरिता खोज्नुको सट्टा अस्थिरतामा रमाउने भएकाले नेकपा विभाजन गराउँदै बाबुराम र शेरबहादुरमध्ये एक जनालाई नेपालको नयाँ प्रधानमन्त्री देख्न चाहन्छ । तर तत्काल त्यो अवस्था आउन सक्ने अवस्था छैन । भारतको एउटा फ्याक्टर र युरोपियन युनियनसहितका पश्चिमा देशहरु पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीको  संघीय परिषद्को अध्यक्ष रहेका डा.भट्टराईको नेतृत्वमा प्रतिनिधिसभा पुनःस्थापनापछिको नयाँ सरकार बनाउने अभियानमा रहेको चर्चा चल्न थालेको छ ।

यसका लागि बहादुर भवनमा बसेर उपराष्ट्रपति पुनले राजनीतिमा केही फेरबदल ल्याउने तयारीमा छन् ।  माधव–प्रचण्ड समूह र जनता समाजवादी पार्टीले छुट्टाछुट्टै आन्दोलनलाई एकिकृत गर्दै दुबै पार्टीका नेताहरुले सँयुक्त आन्दोलन गर्नुपर्ने भन्दै पुलको काममा पुन सक्रिय छन् । तर पुनसँगको उठबस यतिमा मात्र सिमित नभएको बुझिन्छ । प्रधानमन्त्रीका लागि नयाँ अनुहार खोजिरहेको बताइन्छ । उपराष्ट्रपति पुन अदालतको निर्णय लगत्तै प्रधानमन्त्रीका लागि उपयुक्त पात्रका रुपमा डा.भट्टराई सान्दर्भिक हुनसक्ने बताउने गरेका छन् । 

भारतको जेएनयूका विद्यार्थी डा.बाबुराम केही साता अघि नेपाल आएका भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुखसँग भेट्नु, युरोपियन यूनियनका प्रतिनिधिहरुसँग संवाद बढाउनुलेपनि बाबुराममा प्रधानमन्त्रीका भोक जागेको बताइन्छ । त्यतिमात्र होइन बहादुर भवनमा उनको उपस्थितिलाई सामान्य रुपमा बुझ्न सकिदैन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ