arrow

सांसद विन्दुकुमार थापाको सबै तलवभत्ता सामाजिक कार्यमा

logo
प्रकाशित २०७७ माघ १४ बुधबार
bindu-kumar-thapa.jpg

पोखरा । गण्डकी प्रदेशसभा सदस्य विन्दुकुमार थापाले साढे १२ लाख रुपैयाँ विभिन्न विकास निर्माण र सामाजिक कार्यमा खर्च गरेका छन् । सांसद थापाले प्रदेशसभा सदस्यको हैसियतले नेपाल सरकारबाट प्राप्त हुने तलव भत्ता र सेवा सुविधाको रकममा आफ्नो व्यक्तिगत रकम समेत थप गरी यस्ता कार्यमा खर्च गरेका हुन् ।

उनले बुधबार पत्रकार सम्मेलन नै गरेर २०७६ माघ १ गतेदेखि २०७७ पुस मशान्तसम्म सामाजिक र विकास निर्माण कार्यमा खर्च गरेका १२ लाख ४७ हजार रुपैयाँको विवरण सार्वजनिक गरे ।   सांसद थापाले एक वर्षमा प्रदेशसभा सदस्यको हैसियतमा आठ लाख ५९ हजार ८६८ रुपैयाँ प्राप्त गरेका थिए । सो रकममा उनी आफैले तीन लाख ८७ हजार १७२ रुपैयाँ थप गरेर खर्च गरेका छन् ।

कुन शीर्षकमा कति खर्च ?
सांसद थापाले सबैभन्दा धेरै रकम कोरोनाबाट प्रभावित ज्यालादारी मजदूर, अपांग तथा एकल महिलाका लागि खर्च गरेका छन् । उनले कोरोना महामारीका बीचमा पोखरास्थित विभिन्न स्थानका ३३० घर परिवारलाई राहत वितरण गरेका थिए । यसका लागि उनले चार लाख ९४ हजार ३४० रुपैयाँ खर्च गरेको जनाएका छन् ।  

यसैगरी रोटरी क्लब अफ पोखरा न्यूरोडमार्फत सेनेटरी प्याड भेन्टिङ मेशिन खरिदका लागि  एक लाख ५० हजार सहयोग गरिएको हो । सांसद थापाका अनुसार पोखराको वडा नं. ४, ८ र ९ को वडा कार्यालयमा अटोमेटिक सडक वत्ति जडानका लागि एक लाख ३५ हजार, पोखरा ८ स्थित हातेमालो नागढुंगा आमा समूहमार्फत लोकबाजा तालिम तथा वाद्य सामग्रीका लागि एक लाख ११ हजार ८०० रुपैयाँ सहयोग गरिएको छ ।

यस्तै पोखरा १७ स्थित सिद्धबराह युवा क्लबको खेलकूद सामग्रीका लागि १० हजार, पोखरा २४ को ढिकुरपोखरीमा महायज्ञका लागि १५ हजार, पोखरा १६ स्थित खेलकूद मैदान तथा बहुउद्देश्यीय भवनका लागि २५ हजार ५००, पोखरा ३३ स्थित कालिका माविका विद्यार्थीलाई शैक्षिक सामग्री तथा खानेपानी मोटरका लागि ६० हजार २००, पोखरा ९ स्थित सहारा टोल विकास संस्थाको भवन निर्माणका लागि ३६ हजार रुपैयाँ सहयोग गरिएको सांसद थापाले जानकारी दिए ।
 
यसैगरी पोखरा ९ कै चण्डिका आमा समूहको भवन निर्माणका लागि २५ हजार, पोखरा २७ कुमाल गाउँस्थित कल्याण आधारभूत विद्यालयमा विद्यार्थीको पोशाकका लागि ३० हजार, कवि शिरोमणि लेखनाथ आधारभूत विद्यालयमा अध्ययनरत लागि २५ हजार, कास्कीकोटको कालिका माविमा अध्ययनरत विद्यार्थीको पोशाकका लागि ११ हजार २०० रुपैयाँ सहयोग गरिएको सांसद थापाले बताए ।

थापाका अनुसार पोखरा २६ खरानीफाँटका बाढी पीडितका लागि राहत वितरणमा १७ हजार, पोखरा १६ छहरेपानीका पहिरो पीडित कृष्णप्रसाद आचार्यको घर मर्मतका लागि १० हजार, पोखरा १ स्थित संस्कृत माविको मन्दिर  निर्माणका लागि २५ हजार, कास्की जिल्ला बार एशोसिएशनको भवन निर्माणका लागि १५ हजार रुपैयाँ सहयोग गरिएको छ ।
यसैगरी बाग्लुङ ढोरपाटनका वाढी पीडितका लागि १० हजार, पोखरा ३ स्थित सूर्योदय युवा क्लबको प्राकृतिक उद्यानपार्क वाचनालय निर्माणका लागि २० हजार, सिद्धबराह चण्डी र भैरव युवा क्लबको खेलकूद सामग्रीका लागि २१ हजार रुपैयाँ सहयोग गरिएको थापाले बताए ।

संसद पुनःस्थापना हुनुपर्नेमा जोड
पत्रकार सम्मेलनमा सांसद थापाले प्रधानमन्त्री केपी ओलीको राजनीतिक तुस, मतभेद र लहडका साथै राष्ट्रको सर्वोच्चमा आशिन व्यक्तिहरुले विवेक गुमाउँदा संसद विघटन भएको आरोप लगाएका छन् । उनले यो घटनाबाट देशले ठूलो क्षति व्यहोर्नुपर्ने भन्दै संसद विघटनको अधिकार प्रधानमन्त्रीलाई नभएको स्पष्ट पारेका छन् ।

संविधान एउटा दायरा भएकाले प्रधानमन्त्रीलाई आवश्यक पर्दा संशोधनका नाममा आफ्नो स्वार्थ लाद्ने र मन लाग्दैमा संसद विघटनजस्तो घृणित कार्य गर्न नहुने भन्दै थापाले आपत्ति प्रकट गरे । गणतन्त्रपछि पहिलो दुई तिहाई मतसहित नेतृत्व गरेका केपी ओली नेतृत्वको नेकपा सरकारको पालामा नै सबैभन्दा धेरै अराजकता फैलिएको, हत्या, हिंसा, बलात्कार र भ्रष्टाचार मौलाउँदै गएको सांसद थापाको आरोप छ ।

कोरोनाले आक्रान्त बनिरहेका बेला सबैभन्दा धेरै भ्रष्टाचार र अनियमितताका घटना हुँदासमेत सरकारबाट नियन्त्रणको प्रयास नहुनु, सत्तारुढ दल भित्रबाटै सरकार ढाल्ने र बचाउने खेल हुनु विडम्वना भएको उनले बताए । योसंगै देश अस्थिरता र अनिश्चिततातर्फ उन्मुख हुन लागेको उनले स्पष्ट पारे ।

प्रदेश सरकारले अपेक्षा पूरा गर्न सकेन
सांसद थापाले प्रदेश सरकार बनेको तीन वर्ष वितिसक्दा पनि जनताको सतही अपेक्षा पनि पूरा गर्न नसक्दा व्यवस्थाप्रति नै वितृष्णा बढ्दै गएको स्पष्ट पारे । उनले नयाँ व्यवस्था हुँदा केही अलमल हुनु स्वभाविक भए पनि जनताको पक्षमा काम गर्न नसक्नु दुःखद् भएको बताए ।

विशेषगरि महंगाी, महामारी, कर आतंक, विकास निर्माणका साथै जनप्रतिनिधिको सेवा सुविधामा जनताको आक्रोश तीव्र भएको भन्दै सांसद थापाले जनताले संघीयता खारेज गर्नुपर्ने आवाज उठाउन थालिसकेको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ