दुष्ट मानिस र सर्पमा को ठीक, मूर्खसँग के गर्ने ?

चाणक्य,
प्रकाशित २०७७ माघ १४ बुधबार

काठमाडौं । चाणक्य नीतिको तेस्रो अध्यायमा आचार्य चाणक्यले कुल, मानिसको बारेमा सुझाव दिएका छन् । उल्लिखित नीतिहरूको अनुसरण गरेर हामी धेरै समस्याहरूबाट जोगिन र सफलता प्राप्त गर्न सक्छौं।

यो संसारमा कसको कुलमा दोष छैन ? र रोग–व्याधीबाट को पीडित छैन ? त्यसैगरी कसले दुःख प्राप्त गरेन र निरन्तर सुखैसुख कसलाई छ र ? मानिसको आचरण हेरेर यो कस्तो कुलको हो भन्ने कुरा थाहा हुन्छ । बोली–चालीबाट यो कुन देशको हो भन्ने कुरा थाहा पाउन सकिन्छ । कुनै पनि व्यक्तिले प्रकट गर्ने आदरभावबाट उसमा रहेको स्नेह थाहा पाउन सकिन्छ । त्यसैगरी शरीर हेरेर भोजनको आँकलन गर्न सकिन्छ ।

कुलीन मानिसहरुले आदि, मध्य र अवसानमा अर्थात् उन्नति–प्रगतिको अवस्था, सामान्य अवस्था र विपत्तिकालमा समेत साथ छोड्दैनन् । अतः राजाहरुले यस्ता मानिसहरुको संग्रह गर्दछन्, अर्थात् साथै राख्दछन् ।

आफ्नी छोरीलाई राम्रो कुलसँग जोडोस् अर्थात् छोरीको विवाह गरिदिनु पूर्व त्यस कूलको बारेमा राम्रोसँग जानकारी लिओस् । पुत्रलाई विद्या आर्जनमा लगाओस् अर्थात् छोरालाई राम्रोसँग पढाओस् । शत्रुलाई व्यसनमा जोड्नू अर्थात् दुःख हुने कामहरुमा शत्रुलाई लगाउँदा राम्रो हुन्छ । त्यसैगरी मित्रलाई धर्मसँग जोड्नू अर्थात् साथीलाई धर्मको उपदेश गर्नू ठिक हो ।

साथै चाणक्यले दुष्ट मानिस र सर्पमा मानिसलाई नै नराम्रो भनेका छन् । दुर्जनस्य च सर्पस्य वरं सर्पो न दुर्जनः । सर्पो दंशति काले तु दुर्जनस्तु पदे पदे ।।४।।
दुष्ट मानिस र सर्पमा मानिस नै नराम्रो हो । किनकि सर्पले समय आएपछि मात्र टोक्दछ भने दुर्जनले चाहिँ पाइला–पाइलामा टोक्दछ, अर्थात् सधैँभरी दुःख दिइरहन्छ ।

साथै उनले मूर्खबाट टाढै रहन सुझाएका छन् ।  मूर्खस्तु परिहत्र्तव्यः प्रत्यक्षो द्विपदः पशुः । भिद्यते वाक्यशल्येन अदृशं कण्टकं यथा ।।७।।
मूर्खलाई त्यागोस् अर्थात् मूर्खबाट टाढै रहोस् । किनभने हेर्दा मनुष्यजस्तो भए पनि वास्तवमा त्यो दुईखुट्टे पशु नै हो । बाटो नभेटी जंगलमा भट्किएको अन्धो मानिसलाई पाइलै–पाइलामा जसरी काँडाले घोच्दछ, त्यसैगरी मूर्खले वाक्यरुपी काँडाद्वारा सधैँ घोचीरहन्छ । स्रोत आत्मपथ



नयाँ