arrow

कमलपोखरी हाता भित्र रहेको क्लब र राधेराधे मन्दिरमा महानगरले चलायो डोजर (भिडियो)

logo
प्रकाशित २०७७ माघ १८ आइतबार
kamalpokhari-dojer.jpg

काठमाडौं । काठमाडौं महानगरपालिकाले कमलपोखरीको हाता भित्र पश्चिमतर्फ रहेको कमलपोखरी स्पोर्ट्स क्लब र सोही क्लबमा रहेको राधे राधे मन्दिर भत्काएको छ ।  महाकाठमाडौं-१ स्थित ऐतिहासिक कमलपोखरी परिसरमा रहेको क्लब र मन्दिर महानगरपालिकाले ठूलो संख्यामा प्रहरी तैनाथ गरेर भत्काएको हो ।

आइतबार साँझ ५ बजे महानगरपालिकाले दुई वटा डोजर क्लब भवन भत्काउन भन्दै ल्याएको थियो । त्यसपछि क्लबका पदाधिकारीसहित मन्दिरका रेखदेखमा रहेकाहरुले बिना जानकारी भवन भत्काउन लागिएको भन्दै विरोध गरेका थिए । तर प्रहरीको पहरामा महानगरपालिकाले भवन भित्र रहेका सामानसमेत निकाल्न नदिइ भत्काइदिएका छन ।

कमलपोखरी बचाउ अभियानका अभियन्ता सुसन वैद्यले बिना जानकारी महानगरपालिकाले भवन भत्काएको भन्दै महानगरपालिकाको अत्याचारको स्थानीयले शसक्त विरोध गर्ने बताए ।

काठमाडौं महानगरपालिकाका डिएसपी धनपति सापकोटाले आफूलाई भवन भत्काउन आदेश भएकाले भत्काउन लागिएको जानकारी दिए ।
कमलपोखरी हाल पुनःनिर्माणको चरणमा छ । पुनःनिर्माणका सिमेन्टको प्रयोग गरी कंक्रिट स्वरुप दिने सिलसिलामा पोखरीको पानी सुकाइएको छ । पानी सुकेपछि पोखरी चिरा परेको छ । सोही विषयमा महानगर र स्थानीय बिच विवाद रहँदै आएको छ ।

स्थानीयले भने हजारौं बर्ष पुरानो मानिएको कमल पोखरी सिमसार क्षेत्र भएकाले यहाँबाट निकास भएको पानी काठमाडौंका ढुंगेधाराहरुमा झर्ने गरेको र पानी सुकाउदा असर पर्ने बताउँदै आइरहेका छन ।  करिब ९ करोड ४६ लाख रुपैयाँ लागत लाग्ने अनुमान गरिएको पोखरी पुनःनिर्माणको महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्य, उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ, र वडा १ का अध्यक्ष भरतलाल श्रेष्ठले गत असार १९ गते शिलान्यास गरेका थिए ।

निर्माणको ठेक्का पाएको जय धनञ्जय कँडेल जेभी, रानीबारी काठमाडौंले सम्झौता अनुसार गत असार १५ गते नै पुनःनिर्माण सम्पन्न गर्नुपर्ने भनिए पनि निर्माणमा ढिलाई भइरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ