arrow

‘शाही कू’ भएको दिन, जसले ढाल्यो राजसंस्था

logo
हाम्राकुरा डेस्क, 
प्रकाशित २०७७ माघ १९ सोमबार
janaaandolan.jpg

काठमाडौं । शासकहरुको महत्वाकांक्षाले सिंगो शासन नै ढलेका उदाहरण खोज्न अन्त कतै जान पर्दैन । मात्र १६ वर्षअघि तत्कालीन राजा ज्ञानेन्द्र शाहले गरेको ‘शाही कू’ लाई हेरे पुग्छ । २०६१ माघ १९ गते तत्कालीन राजा ज्ञानेन्द्रले शासन हातमा लिएर अन्ततः राजसंस्था नै ढाल्नका लागि बिष रोपेको स्पष्ट भएको छ । 

आफ्नो बढी महत्वाकांक्षाका कारण शाहले दलहरुबाट शासनसत्ता आफ्नो हातमा लिएका थिए । त्यो प्रजातन्त्रका लागि कालो दिन थियो । नेताहरुलाई नजरबन्दमा लिएर शाहले आफ्नो शासन चलाएका थिए । 

तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद विघटन गरी शाहले आफ्नै अध्यक्षतामा मन्त्रीमण्डल गठन गरेका थिए । त्यो दिन मिडियामाथि पनि नियन्त्रण लिइएको थियो । 

जनताको अधिकार कटौती भएका थिए । संचारसम्पर्क टुटेका थिए । जनताका मौलिक अधिकारमाथि नै कू भएका थिए । 

शाही कू गरिएको त्यही दिनदेखि नै नेपालमा संवैधानिक राजतन्त्रका पक्षमा रहेका राजनीतिक दलहरुले राजतन्त्रको साथ छाडेका थिए । अन्ततः सशस्त्र द्धन्द्धमा रहेको तत्कालीन माओवादीसँग मिलेर दलहरुले नयाँ शिराबाट राजनीति थालेका थिए । 

शाहको त्यही कदमले सात राजनीतिक दल र माओवादीबीच भारतको नयाँदिल्लीमा १२ बुँदे सहमति सम्पन्न भई २०६२–०६३ को आन्दोलन भएको थियो । चैत २४ गतेदेखि भएको १९ दिने आन्दोलनले नै शाहलाई पुनः संसद पुनर्स्थापना गर्न बाध्य गरायो । 

उक्त आन्दोलनमा दलहरुमात्र हैन नागरिक समाजका सबैजसो सदस्यहरुको ऐक्यवद्धता रहेको थियो । 

त्यसपछि गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा बनेको सरकारले २०६४ चैतमा संविधानसभाको निर्वाचन गराई २०६५ सालमा त राजतन्त्र नै फालेर नेपालमा गणतन्त्र घोषणा गरिएको थियो । 

तत्कालीन राजा शाहले पत्रकार सम्मेलन गरी ‘जनताको नासो जनतालाई नै फिर्ता गरिदिएको’ घोषणा गर्दै नारायणहिटी दरबारबाट बाहिरिएका थिए । तर उनले उक्त क्रममा श्रीपेचको संरक्षण गर्न भनी दिएको समेत बताएका थिए । 

पछिल्लो समय केपी शर्मा ओली नेतृत्वको सरकारले प्रतिनिधिसभा विघटन गरेर त्यही कूलाई फेरि अगाडि बढाइरहेका त छैनन् भनी विश्लेषण पनि भइरहेको छ । 

त्यतिमात्र हैन पूर्वराजाले जनताको नासो जनतालाई नै दिएको डेढ दशकमा पनि नेपालीको दैनिकीमा परिवर्तन आएको छैन । अस्थिरता बढेको छ । भन्नेहरु एउटा राजा फालेर सयौं राजा भित्र्याएर देश खोक्रो पारिरहेको पनि भनिरहेका छन् । 

नेताहरुले शक्ति र सत्ताको लोभमा विधिको शासनलाई खिल्ली उडाएको पनि भनिरहेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ