arrow

स्पोर्ट्स क्लब र राधेराधे मन्दिरमा डोजर

कमलपोखरीका स्थानीय भन्छन्: मन्दिर भत्काउनु वैदिक सनातन धर्ममाथिको आक्रमण

logo
प्रकाशित २०७७ माघ १९ सोमबार
kamalpokhari-radheradhe.jpg

काठमाडौं । काठमाडौं महानगरपालिकाले कमलपोखरी पुनःनिर्माण र फराकिलो बनाउन भन्दै महानगरीय प्रहरी वृत्त कमलपोखरीको कार्यालय, कमलपोखरी स्पोर्ट्स क्लबको भवन र राधे-राधेको सत्संग मन्दिर भत्काएपछि स्थानीयले आक्रोश पोखेका छन् ।

आइतबार साँझ ५ बजे महानगरपालिकाले दुईवटा डोजरको प्रयोग गरी क्लब र सत्संग मन्दिर भत्काएको थियो ।  तर क्लबका पदाधिकारीसहित मन्दिरको रेखदेखमा रहेकाहरुलाई बिना जानकारी भवन भत्काएको भन्दै सोमबार विहान महानगरविरुद्ध नाराबाजी गर्दै विरोध जनाएका हुन ।

महानगरले सामान्य प्रक्रिया पनि नपुर्‍याइ तथा सार्वजनिक सूचना जारीसमेत नगरी प्रहरीको पहरामा भवन भित्र रहेका सामानसमेत निकाल्न नदिइ भत्काइदिएपछि स्थानीयले कानूनी उपचारका लागि अदालत जाने तयारी गरेका छन् ।

कमलपोखरी स्पोर्टस् क्लबका अध्यक्ष भीमसेन मैनाली भन्छन्,‘क्लबको भवन भत्काएर मेयरसापले हाम्रो सम्पत्तिको नास मात्र गर्नुभएन, मन्दिरमाथि प्रहार गरेर वैदिक सनातन धर्ममाथि आक्रमण गर्नुभएको छ’,उनले भने,‘सामान्य प्रक्रिया पनि नपुर्‍याइ मेयरसापको यो ‘कू’ कर्मको मूल्य चुकाउनुपर्ने छ ।’

राधा माधव प्रचार समितिका उपाध्यक्ष कमल प्रसाद मिश्रका अनुसार यो आक्रमण भनेको बैदिक सनातन धर्ममाथिको बर्बर आक्रमण भएकाले हामी अब छिट्टै कानूनी उपचारमा जानेछौं । उनले भने, ‘सांस्कृतिक सम्पदा ऐनअनुसार निर्माण गरिएको गजुर हालसम्म भत्काएको रिकर्ड छैन तर यहाँ त महानगरपालिकाले बैदिक सनातन धर्ममाथि नै आक्रमण गर्‍यो ।’

उपाध्यक्ष मिश्रका अनुसार उक्त भवन वडाकार्यालयको निर्देशनमा नक्सा पास गरेरै निर्माण गरिएको, मेयरसापलाई यसअघि ज्ञापनपत्र पनि बुझाइसकेको भएपनि आइतबार अत्याचार गरिएको छ । उनले भने,‘भवन भत्काउ वा भवनभित्रका सामान हटाउन कुनै जानकारी नै नदिइ एकाएक डोजर चलाउनु न्यायसंगत छैन’, उनले अगाडि भने,‘हामी कमलपोखरी पुनःनिर्माणको विरोध होइन तर यो भवन भत्काउँदा हाम्रो चार करोड रुपैंयाँ क्षति भएको छ, यसको क्षतिपूर्ति नपाएसम्म विरोध जारी राख्नेछौं ।’

भवन भत्काउँदा जगतगुरुको आसन, शिव भगवान, सिता तथा अन्य भगवानहरुको तस्विर, सुनचाँदी, फर्निचरलगायत अन्य भौतिक सामाग्रीको महानगरले ध्वस्त पारिदिएको उपाध्यक्ष मिश्रले जानकारी दिए ।

तर यता काठमाडौं महानगरपालिकाका डिएसपी धनपति सापकोटाले आफूलाई भवन भत्काउन आदेश भएकाले भत्काउन लागिएको जानकारी दिए ।

महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलका अनुसार अफिसियली जानकारी गराएर भवन भत्काइएको जानकारी दिए । उनले कमलपोखरी हाताभित्रका भौतिक संरचना हटाउन प्रक्रिया पुर्‍याएर अघि बढेको बताए ।

कमलपोखरी हाल पुनःनिर्माणको चरणमा छ । पुनःनिर्माणका सिमेन्टको प्रयोग गरी कंक्रिट स्वरुप दिने शिलशिलामा पोखरीको पानी सुकाइएको छ । पानी सुकेपछि पोखरी चिरा परेको छ । सोही विषयमा महानगर र स्थानीयबीच विवाद रहँदै आएको छ ।

स्थानीयले भने हजारौं बर्ष पुरानो मानिएको कमलपोखरी सिमसार क्षेत्र भएकाले यहाँबाट निकास भएको पानी काठमाडौंका ढुंगेधाराहरुमा झर्ने पानी सुक्ने, आसपासका इनार तथा बोरिङ्गहरुमा पनि पानीको मात्रा कम हुने बताउँदै आइरहेका छन् ।

करिब ९ करोड ४६ लाख रुपैयाँ लागत लाग्ने अनुमान गरिएको पोखरी पुनःनिर्माणको महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्य, उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ, र वडा १ का अध्यक्ष भरतलाल श्रेष्ठले गत असार १९ गते शिलान्यास गरेका थिए ।

निर्माणको ठेक्का पाएको जय धनञ्जय कँडेल जेभी, रानीबारी काठमाडौंले सम्झौता अनुसार गत असार १५ गते नै पुनःनिर्माण सम्पन्न गर्नुपर्ने भनिए पनि निर्माणमा ढिलाई भइरहेको छ ।

 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ