arrow

नेपालकै ठूलो सव-स्टेशनको प्रधानमन्त्रीले गरे उद्घाटन

logo
निरंजन कुमार साह,
प्रकाशित २०७७ माघ १९ सोमबार
pm-substation.jpg

जनकपुरधाम । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालकै सबभन्दा ठूलो ढल्केवर सव-स्टेशनको सोमबार उद्घाटन गरेका छन् ।

नेपाल सरकार र नेपाल विद्युत प्राधिकरणको लगानीमा निर्मित ४ सय केभीको सव-स्टेशन र विश्व बैंकको सहुलियतपूर्ण ऋण एवं नेपाल सरकार र नेपाल विद्युत प्राधिकरणको संयुक्त लगानीमा निर्मित २२०/१३२ केभी ढल्केबर सव-स्टेशनको प्रधानमन्त्री ओलीले सोमबार उद्घाटन गरेका हुन् ।

हाल सञ्चालनमा रहेकामध्ये सबैभन्दा ठूलो ढल्केवर सव-स्टेशन भएको बताइएको छ । सो सव-स्टेशन जीआईएस प्रविधियुक्त स्वचालित रहेको प्राधिकरणका प्रवक्ता मदन तिम्सिनाले जानकारी दिए।

सव-स्टेशनमा जडान गरिएको ३१५ एमभीएको थप पावर ट्रान्सफर्मरको गत पुस १९ गतेदेखि चार्ज गरेर सबै परीक्षण सम्पन्न गरेपश्चात प्रधानमन्त्री ओलीले उद्घाटन गरेका हुन् ।

त्यसले पूर्व-पश्चिम र ढल्केबर-मुजफ्फरपुर प्रसारणलाइन ढल्केबरमा चार्ज हुने बताए। प्राधिकरणका प्रवक्ता मदन तिम्सिनाका अनुसार ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको विद्युत् पनि ढल्केबरमा चार्ज भइराखेको जानकारी दिए।

ढल्केबर-मुजफ्फपुर प्रसारणलाइनमार्फत भारतीय पक्षसँग भएको सम्झौताअनुसार थप बिजुलीसमेत आयात गर्न सकिने प्रवक्ता तिम्सिनाले बताए ।

ढल्केबर मुजफ्फपुर ४०० केभी प्रसारण लाइनबाट थप १०० मेगावाट बिजुली दिन भारत सहमत भएको प्राधिकरणका प्रवक्ता मदन तिम्सिनाले बताए ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार हाल ढल्केबरमा १६० एमभीएका दुई र ३१५ एमभीएको एक गरी ६३५ एमभीएका ट्रान्सफर्मर जडान भएका छन् । यस्तै कूल ४००-२२० केभी क्षमताको सबस्टेशनमा ३१५ एमभीए क्षमताका तीन वटा गरी ९४५ एमभीए क्षमताको पावर ट्रान्सफर्मर छन्, जसले करिब ९०० मेगावाट विद्युत लाईन प्रसारण गर्न सक्दछन् ।



नयाँ