arrow

पत्रकार अधिकारीलाई ज्यान मार्ने धम्की, महासङ्घको ध्यानाकर्षण

logo
प्रकाशित २०७७ माघ २२ बिहिबार
arayan-prasad-adhikari.jpg

काठमाडौँ । पत्रकार नारायण प्रसाद अधिकारीलाई ज्यान मार्ने धम्की आएको छ । अनलाइन पाना डटकमका प्रधान सम्पादक अधिकारीलाई समाचार लेखेकै आधारमा काठमाडौँमा ज्यान मार्ने धम्की आएको हो ।

गत माघ ८ गते “ओलीको क्याबिनेटमा फरार अभियुक्त” भन्ने शीर्षकमा समाचार प्रकाशित भएपछि फोन तथा फेसबुक म्यासेन्जर मार्फत लगातार धम्की आएको अधिकारीले बताए ।

नेपाल पत्रकार महासङ्घ काठमाडौँ शाखाका सदस्य समेत रहेका अधिकारीलाई पूर्व सांसद तथा नेकपाका नेता योगेन्द्र घिसिङले अश्लील गाली गलौचसहित धम्की दिएका हुन् ।

घिसिङ पूर्व संविधानसभा सदस्य तथा प्रधानमन्त्री केपी शर्मा ओली गुटका केन्द्रीय सदस्य समेत हुन् । उनको खण्डन छापिदिँदा पनि पटक पटक धम्की दिएको अधिकारीले बताए ।

समाचार लेखेकै आधारमा अधिकारीलाई गरेको गालीगलौजको घटनाप्रति पत्रकार महासङ्घ काठमाडौँ शाखाले गम्भीर ध्यानाकर्षण भएको बताएको छ ।

प्रकाशित समाचारप्रति चित्त नबुझेमा खण्डन गर्ने र कानुनी प्रक्रियामा जाने बाटो हुँदाहुँदै यस्तो कार्य गर्नुले पत्रकारलाई असुरक्षित बनाउनुका साथै प्रेस स्वतन्त्रतामाथि नै धावा बोलेको महासङ्घको ठहर रहेको नेपाल पत्रकार महासङ्घ काठमाडौँ शाखाका सचिव मोहन प्रसाद पन्तले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

जिम्मेवार निकाय र व्यक्तिबाट यस्ता कार्य गर्न कानुन विपरीत भएको पत्रकार महासङ्घ काठमाडौँ शाखाका उपाध्यक्ष सूर्य सुबेदीले बताए । उनले भने, ‘आगामी दिनमा स्वतन्त्र, निर्धक्कसाथ पत्रकारिता गर्ने वातावरण मिलाउन सम्बन्धित पक्षसँग माग गर्दछौँ’ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ