arrow

बुद्धको राज्य तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने तयारी

logo
नरेश केसी,
प्रकाशित २०७७ माघ २५ आइतबार
tilaurakot.jpg.jpeg

सिद्धार्थनगर । महामानव गौतमबद्धले २९ वर्ष बिताएको प्राचीन शाक्य राज्यको राजधानी तथा विश्वको सबैभन्दा ठुलो खुला सङ्ग्रहालय दाबी गरिएको तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने अभियान सुरु गरिएको छ । विश्व सम्पदा सूचीमा सूचीकृत हुनका लागि आवश्यक संरक्षित स्मारक क्षेत्र घोषणा गर्नुपर्ने आवश्यकताअनुसार नेपाल सरकार पुरातत्त्व विभाग, लुम्बिनी विकास कोष र कपिलवस्तु नगरपालिकाले संयुक्त रूपमा स्थानीय स्तरको छलफल गरेसँगै उक्त कामको थालनी भएको हो । प्राचीन शाक्यहरूको राजधानी तिलौराकोटलाई विश्व सम्पदा सूचीमा जतिसक्दो छिटो सूचीकृत गर्न स्थानीय सरकारको तर्फबाट पूर्णरूपीमा सहयोग गर्ने कपिलवस्तु नगरपालिकाका प्रमुख किरण सिंहले बताए ।

नेपाल सरकारको पुरातत्त्व विभागका प्रमुख पुरातत्त्व अधिकृत रामबहादुर कुँवरले पुरातत्त्वको दृष्टिकोणले तिलौराकोट अत्यन्तै महत्त्वपूर्ण ठाउँ रहेको बताए । उनले तिलौराकोटको मुख्य क्षेत्र (कोरजोन) करिब १४० बिघा क्षेत्रफलको हुने बताउँदै स्थानीय बासिन्दा र स्थानीय सरकारले सहयोग गरेमा छिट्टै तिलौराकोट विश्व सम्पदा सूचीमा सूचीकृत गराउन सफल हुने पनि बताए ।

नेपाल सरकार पुरातत्त्व विभागको विश्व सम्पदा संरक्षण शाखा प्रमुख डा सुरेश श्रेष्ठले विश्व सम्पदा सूचीमा सूचीकृत गर्नु पूर्व संरक्षित स्मारक क्षेत्र घोषणा गर्नुपर्ने अनिवार्य प्रावधानअनुसार काम अगाडि बढाउन थालेको बताए । उनले भने, “तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्नुपर्छ भन्ने सबैको चाहना हो । स्थानीय बासिन्दा र स्थानीय सरकारको विशेष सहयोग तथा प्रतिबद्धता आवश्यक हुन्छ । यसैले हामी यो छलफलको प्रारम्भमा छौँ ।”

डा श्रेष्ठले स्थानीय बासिन्दा र स्थानीय सरकारको हरेक किसिमको सहभागितासहित संरक्षित स्मारक क्षेत्र घोषणा भए लगत्तै तिलौराकोट विश्व सम्पदा सूचीमा सूचीकृत कार्य अगाडि बढ्ने बताए । लुम्बिनी विकास कोषका कार्यकारी सदस्य राजेश ज्ञवालीले लुम्बिनी विकास कोषले कपिलवस्तु केन्द्रित कार्यक्रम अगाडि बढाइरहेको बताए । कोषका वरिष्ठ प्रशासकीय अधिकृत ज्ञानिन राईले नेपाल सरकारको चालु वर्षको बजेटको नीति तथा कार्यक्रममा तिलौराकोटलाई विश्व सम्पदा सूचीमा राख्ने प्रक्रिया अगाडि बढाइने छ भनी उल्लेख भएसँगै लुम्बिनी विकास कोषले छलफललाई अगाडि बढाएको बताए ।

लुम्बिनी विकास कोषका सदस्यसचिव सानुराजा शाक्यले प्राचीन शाक्यहरूको राजधानी तिलौराकोटको संवर्द्धन र संरक्षणका लागि लुम्बिनी विकास कोषले कुनै कसुर बाँकी नराख्ने बताए । सदस्यसचिव शाक्यले भने, “लुम्बिनी विकास कोषको अबको मुख्य ध्यान र कार्यक्रम नै कपिलवस्तु केन्द्रित हुन्छन् । हामी तिलौराकोटलाई संरक्षित स्मारक क्षेत्र घोषणा गरेसँगै अन्य क्षेत्रको संरक्षण र प्रवर्द्धनमा जोड दिन्छौँ ।”

विश्व सम्पदा र तिलौराकोट
विश्वमा अहिलेसम्म एक हजार १२१ सम्पदा विश्व सम्पदा सूचीमा सूचीकृत भएको पुरातत्त्व विभाग विश्व सम्पदा शाखाका प्रमुख डा श्रेष्ठले बताए । नेपालले १९७२ मा संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन(युनेस्को)को विश्व सम्पदा महासन्धिमा हस्ताक्षर गरेको थियो । त्यसयता काठमाडौँ उपत्यका र लुम्बिनी गरेर जम्मा दुई स्थान मात्रै विश्व सम्पदा सूचीमा सूचीकृत छन् ।

तिलौराकोटलाई पनि संरक्षित स्मारक क्षेत्र घोषणा गरेपश्चात् कुदान, गोटिहवा, निग्लीहवा, अरौराकोट, सगरहवा र सिसनियालाई पनि संरक्षित स्मारक क्षेत्र घोषणा गरी प्राचीन शाक्यहरूको राजधानी कपिलवस्तुलाई विश्व सम्पदा सूचीमा राख्ने योजना पुरातत्त्व विभागले बनाएको छ ।  सन् १९९७ मा तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न युनोस्कोमा पहलको सुरुआत गरिएको तर २४ वर्षपछि ठोस रूपमा कदम चालिएको छ ।

सिद्धार्थ गौतमले २९ वर्षको उमेरमा राजकीय जीवन त्यागेर ज्ञानका लागि कपिलवस्तु दरबार त्याग गरेका थिए । पाँचौँ शताब्दीमा प्रसिद्ध चिनियाँ यात्री फासियान र सातौँ शताब्दीमा हवेयन साङ्गले तिलौराकोटको भ्रमण गरेका थिए भने सन् १८९९ मा पुरातत्त्वविद् पूर्णचन्द्र मुखर जीले उत्खनन गरेपश्चात् यसको महत्त्व अझै बढेर गएको हो । तिलौराकोटमा प्रसिद्ध पुरातत्त्वविद् देवला मित्र, तारानन्द मिश्र, बालकृष्ण रिजाल र रबिन कनिङ्गघमले पनि उत्खनन गरेका थिए।

लुम्बिनी विकास कोषका पुरातत्त्व अधिकृत हिमाल उप्रेतीले बेलायतको दुराम विश्वविद्यालयको पुरातत्त्व विभागको पूर्वप्रमुख रबिन कनिङ्गघमको नेतृत्वमा पुरातत्वविद्हरूको टोलीले तिलौराकोटमा अहिले पनि उत्खनन गरिरहेको बताए । उनका अनुसार सन् २०१३ देखि अहिलेसम्म उत्खनन गरिरहेका यस वर्ष कोभिड महामारीका कारण उक्त टोली आउन सकेको छैन । तथापि आगामी मार्चदेखि पुनः उत्खननको कार्य हुने गरी काम गरेको उक्त टोलीको नेता पुरातत्त्वविद् कनिङ्गघमले पुरातात्त्विक दृष्टिकोणले तिलौराकोट विश्वकै महत्त्वपूर्ण स्थल भएको बताइरहेको उप्रेतीको भनाइ छ । उत्खननबाट तिलौराकोटमा सङ्ग्रहालय, पश्चिमी र पूर्वी द्वार, केन्द्रीय संरचना परिसर, मध्य भागको पोखरी, किल्ला, जोडी स्तूप, विहार र प्राचीन औद्योगिक क्षेत्र र प्राचीन सहरको प्रमाण भेटिएको छ ।

संरक्षित स्मारक क्षेत्रका लागि कानुनी प्रावधान
विश्व सम्पदा सूचीमा सूचीकृत हुनका लागि सबैभन्दा पहिले संरक्षित स्मारक क्षेत्र घोषणा हुनुपर्दछ । प्राचीन स्मारक ऐन, २०१३ को दफा ३ मा संरक्षित क्षेत्र घोषणाका लागि केही कानुनी प्रावधान राखिएको छ । उक्त दफाको १० उपदफामा समेटिएको ऐनको १ नम्बर उपदफामा अनुसार नेपाल सरकारले कुनै प्राचीन स्मारक रहेको ठाउँ वा क्षेत्रलाई संरक्षित स्मारक क्षेत्र घोषित गर्न चाहेमा चार किल्ला खोली सोको सूचना स्मारक रहेको ठाउँ र सो ठाउँ नजिकैको सार्वजनिक स्थलमा समेत एक–एक प्रति  टाँस्नुपर्ने प्रावधान छ ।

यसै गरी (४) नम्बर उपदफामा उपदफा (१) बमोजिमको सूचनामा उजुरी परेमा उपदफा (३) बमोजिम अन्तिम निर्णय भइसकेपछि र उजुरी नपरेमा उजुरी गर्ने हदम्याद समाप्त भइसकेपछि नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी कुनै प्राचीन स्मारक रहेको ठाउँ वा क्षेत्रको चार किल्ला खोली सो ठाउँ वा क्षेत्रलाई संरक्षित स्मारक क्षेत्र घोषित गर्न सक्नेछ भनी स्पष्ट रूपमा उल्लेख गरिएको छ ।

यसै गरी उपदफा (७) मा नगरपालिका क्षेत्रभित्र पर्ने संरक्षित स्मारक क्षेत्रमा घर वा भवनको निर्माण, मर्मत, थपघट वा पुनः निर्माण गर्न चाहने व्यक्तिले पेस गरेको नक्सा नगरपालिकाले प्रचलित कानुनबमोजिम पास गर्नुभन्दा अगावै त्यस्तो नक्सामा पुरातत्त्व विभागको स्वीकृति लिनुपर्ने व्यवस्था गरिएको छ ।

तिलौराकोटलाई बर्माको बगानजस्तै पुरातत्त्वका विद्यार्थी तथा अनुसन्धानकर्ताले खुला सङ्ग्रहालयको रूपमा प्रयोग गर्न सक्दछन् । त्यसका लागि संरक्षित स्मारक क्षेत्र घोषणा गरेर तत्कालै अगाडि बढ्नुपर्ने पुरातत्त्वका जानकार माधव आचार्यको भनाइ छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ