arrow

खोटाङमा प्राकृतिक नाकाबन्दीको अन्त्य हाम्रै पालामा हुनेछ: भूपेन्द्र राई

logo
प्रकाशित २०७७ माघ २८ बुधबार
bhupendra_rai.jpg

काठमाडौं । पूर्वी नेपालको खोटाङ कुनै समय विकासका दृष्टिकोणले पिछडिएको क्षेत्रमा गणना हुने गर्दथ्यो । तर मुलुक संघीयता गइसकेपछि यहाँ आठ वटा गाउँपालिका र दुई नगरपालिकाका रूपमा विभाजित छन् । १० स्थानीय तहले विकासका कामहरूलाई तीव्रता दिएसँगै खोटाङ बिस्तारै रूपान्तरित हुन थालेको छ । दुर्गम भनिने खोटाङ सुगम र सुन्दर भनेर परिचय पाउन थालेको छ । 

यसमध्येको दिप्रुङ चुइचुम्मा गाउँपालिका नमुना बन्ने तरखरमा छ । काठमाडौंमा विद्यार्थी राजनीतिबाट स्थापित बनेका भूपेन्द्र राई गाउँपालिकाका अध्यक्ष छन् । त्रिभुवन विश्वविद्यालयमा इतिहास विषयमा स्नातकोत्तर तहमा टियू टप गरेका राई नेपाल विद्यार्थी संघको केन्द्रीय सदस्य हुँदै गाउँपालिका अध्यक्षमा सानदार मतका साथ विजयी भएपछि गाउँको विकासमा कर्मशील बनेर लागेका छन् ।

विश्वका विकासका नमुना, दृष्टिकोण, योजना, सोच र शैली बुझेका राईले आफ्नो गाउँपालिकालाई पृथक् रूपमा अघि बढाइरहेको दाबी गर्छन् । ‘मलाई विद्यार्थी राजनीतिले गाउँको विकासका लागि ठुलो सहयोग पुर्‍याइरहेको छ, किनकि राजनीति विकाससँग प्रत्यक्ष जोडिएको हुन्छ,’उनले भने, ‘हामीले राजनीति गर्दा विकाससँग जोडिएरै गरेका थियौं, गाउँको विकासका लागि सिंहदरबारभित्रका मन्त्रालयहरूमा ढोका ढकढक्याउन पुगिरहन्थ्यौ जसका कारण आज मलाई गाउँको मुहार फेर्ने काममा अघी बढ्न सहज भएको छ ।’

भन्नलाई खोटाङ विकासका दृष्टिकोणले पछि परेको भनिन्छ । तर अध्यक्ष राई यसमा सहमत छैनन् । उनी भन्छन्, ‘काठमाडौंबाट टाढा होइन खोटाङ, तर विकासका नाममा सधैं पछाडि पारियो तर अहिले हामीले गाउँको मुहार फेर्दै लगेका छौं, प्राकृतिक नाकाबन्दीको अन्त्य गर्ने तयारीमा छौं, शिक्षा, स्वास्थ्य, बिजुलीलगायतका क्षेत्रमा पनि सोही अनुसार बजेट विनियोजन गरेर काम गरिरहेका छौं ।’

बजेट विनियोजन गर्न सजिलो

अध्यक्ष राईलाई संघीयता सहज लागेको छ । नेपाललाई संघीय संरचना बनाउनु दूर दराजको विकासका लागि वरदान जस्तै भएको छ । उनी भन्छन्,‘मुलुक संघीयता जानुअघि खोटाङमा विकासका योजनाहरू लैजान कठिन थियो, सिंहदरबार धाइरहनु पर्दथ्यो तर अहिले त्यस्तो छैन । ‘हामीसँग ठुलो बजेट छैन तर अहिले जति भएको बजेटको सही सदुपयोग गरेर काम गरिरहेका छौं’, उनले भने, ‘अब हामी सडक पक्की गर्ने अभियानमा छौं, केन्द्रीय सरकारको सहयोग मिलेमा यहाँका सडकहरू पक्की हुनेछन् ।’

हुनत नागरिकहरुको आशा र अपेक्षाहरू धेरै छन् । सबै पूरा गर्न सक्ने अवस्था छैन । बजेटको अभाव छ । कतिपय ऐन तथा कानुनहरूले विकासमा बाधा गरेको छ । अधिकारका कुराहरूले समस्या गराएको छ । तर हामी हाम्रो कार्यकालभरी सडकहरू पक्की गरेर गाउँलाई सुगम बनाउने आफ्नो अभियानमा जुटेको अध्यक्ष राई बताउँछन् ।

प्राकृतिक नाकाबन्दी अन्त्य हुनेछ

हुनत चुनावका बेला महत्वाकांक्षी योजनासहितको घोषणापत्रहरू वितरण गर्ने चलन छ । तर अध्यक्ष राईले चुनावका बेला गर्नै नसक्ने र हुनै नसक्ने योजना समेटिएको घोषणा पत्र जारी नगरेको दाबी गर्छन् ।

आफ्नो घोषणा पत्रमा खोटाङलाई प्राकृतिक नाकाबन्दीबाट मुक्त गर्ने महत्वाकांक्षी योजना थियो । त्यो लगभग पूरा हुने तरखरमा छ । अध्यक्ष राई भन्छन्, ‘फोक्सिङटारको सुनकोशीमा मोटरेवल पुल निर्माण हाम्रो सबैभन्दा ठुलो र महत्त्वपूर्ण योजना हो । यो पुल मेरो कार्यकालमा पूरा हुनेछ र बर्षौंदेखिको प्राकृतिक नाकाबन्दी अन्त्य हुनेछ ।’

सदरमुकाम दिक्तेलसँग दिप्रुङ चुइचुम्पा गाउँपालिकासहित चारवटा स्थानीय तह जोड्ने उक्त मोटरेवल पुलको निर्माण सकिनासाथ ठूलो समस्या हल हुने विश्वास अध्यक्ष राईको छ । दिप्रुङ चुइचुम्मा गाउँपालिका बिजुली, खानेपानी र सडक सात वटै वडामा लगभग पुगिसकेको छ । केही वडामा बत्तीको समस्या रहे पनि त्यो आफ्नो कार्यकालमा पूरा गर्ने उनको योजना छ ।

त्यसबाहेक आफ्नो गाउँपालिकामा अध्यक्ष राई १२ महिना नै सडकमा सवारीसाधन गुडाउने योजना सफल बनाएको दाबी गर्छन् । प्रशासकीय भवन निर्माण, टुवाखोला देखि पन्चमी बजार हुँदै गाउँपालिका जोड्ने सडक, रेग्मीटार हुँदै गाउँपालिका जाने सडक, खानीडाँडा हुँदै याङ्खा जोड्ने सडकलाई ग्राबेलिङ गरिसकेको र अब पिच गर्ने योजना रहेको अध्यक्ष राईले सुनाए । उनले ती सडकलाई पक्की गर्न केन्द्रीय सरकारसँग समन्वय गरेर अघि बढ्ने योजना छ ।

पाठेघर र कुपोषणको समस्या अन्त्य

अध्यक्ष राईले आफू निर्वाचित भएर गइसकेपछि आफ्नो गाउँपालिकाभित्र देखिएको महिलाहरूको पाठेघर सम्बन्धी समस्या र बालबालिकामा कुपोषणको समस्या अन्त्य गरेको दाबी गर्छन् । उनी भन्छन्, ‘पहिले पाठेघरको समस्याबाट धेरै महिला ग्रसित थिए तर अहिले जिरोमा झरेको रेकर्ड हामीसँग छ, शिशु पोषण कार्यक्रमले बालबालिकालाई थप टेवा पुगेको छ ।’

गाउँपालिकामा अस्पतालको निर्माण काम पनि अघि बढी सकेको छ । विद्यालयमा शिक्षक दरबन्दी मिलाउने देखि नयाँ दरबन्दी खडा गरेर शिक्षक अभावको समस्या अन्त्य गरिसकेको उनको भनाइ छ । माझी बस्तीका नागरिकहरूलाई शैक्षिक विकासमा कार्यक्रमले थप सुधार गरेको अध्यक्ष राईको भनाइ छ ।

प्याराग्लाइडिङको सफल उडान

गाउँपालिका भित्र पर्यटकीय क्षेत्रको विकासका लागि नयाँ योजनाहरू अघि सारेको अध्यक्ष राई बताउँछन् । भुर्चुङ्वा डाँडाबाट प्याराग्लाइडिङको परीक्षण उडान सफल बनाइसकेकाले अब साहसिक पर्यटनका लागि आफ्नो गाउँपालिका गन्तव्यका रूपमा अघि बढ्ने अपेक्षा राईले लिएका छन् । १ सय ७८ मिटर अग्लो धिप्लुङ झरनाको सौन्दर्यीकरण सकिसकेकाले अब चाँडै उद्घाटन गर्ने उनको योजना छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ