arrow

सर्वोच्चको फैसला पछि कम्प्युटर अप्रेटर पदमा आवेदन खुला

बुधबार ५ सय पदमा विज्ञापन आह्वान, अर्को महिना खरिदारमा विज्ञापन गरिने

logo
आकाश शर्मा
प्रकाशित २०७७ माघ २८ बुधबार
supreme-court-of-nepal.jpeg

काठमाडौं । सरकारले कम्प्युटर अप्रेटर पदमा नयाँ भर्ना नलिने निर्णय करिब साढे दुई वर्ष अघि नै गरेको थियो । संगठन तथा व्यवस्थापन (ओएनएम)सर्बे रिपोर्टमा कम्प्युटर अप्रेटर पद नराख्ने निर्णय गरिएको थियो । सरकारको निर्णय पछि लोकसेवा आयोगले कम्प्युटर अप्रेटरमा भर्ना लिएको थिएन । तर सर्वोच्चको फैसला पछि आयोगले कम्प्युटर अप्रेटर पदमा भर्ना लिने निर्णय गरेको छ ।

आयोगले बुधबार करिब ३ सय संंख्यामा नायब सुब्बा सरह कम्प्युटर अप्रेटर पदमा विज्ञापन खुलाएको छ । काठमाडौमा मात्र ६४ जना कम्प्युटर अप्रेटर मागिएको छ । बुधबार आयोगले राजपत्र अनकिंंत प्रथम श्रेणी (नायब सुब्बा सरह)का सव इञ्जिनियर, रेञ्जर, प्राविधिक सहायक पदमा विज्ञापन आह्वान गरेको छ । यसैगरी स्वास्थ्य समुहबाट पनि आयोगले विज्ञापन खुलाएको छ ।

हरेक निजामती कर्मचारीले कम्प्युटरमा अनिवार्य ज्ञान राख्नु पर्ने भन्दै कम्प्युटरकोलागि थप जनशक्ति आवश्यक नपर्ने सरकारको तर्क थियो । यस विषयमा सर्वोच्चमा उजुरी परे पछि सर्वोच्चले कम्प्युटर अप्रेटर पद कटौती गर्न नमिल्ने फैसला सुनायो । सर्वोच्चको निर्णय पछि कम्प्युटर अप्रेटर पदमा विज्ञापन खुलाइएको आयोगका सूचना अधिकारी देवी सुबेदीले जानकारी गराए । फागुन महिनाको अन्तिम बुधबार खरिदार पदमा विज्ञापन खुलाउने तयारी भएको पनि उनले बताए । 

सरकारले २ वर्ष अघि नै खरिदार पदमा नयाँ भर्ना नलिने निर्णय गरेको थियो । निजामती सेवा ऐन २०४९लाई प्रतिस्थापन गर्न ल्याउन लागिएको संघीय निजामती सेवा ऐनमा खरिदार पद हटाइएको छ। संघीय निजामती सेवा ऐनमा निजामती क्षेत्रमा नायब सुब्बाबाट प्रवेशको सुरुवात गरिएको छ । तर अझै पनि संघीय निजामती सेवा ऐन लागु नभइसकेको अवस्थामा पुरानो ऐन अनुसार खरिदार पदमा विज्ञापन खुलाउन लागेको सुबेदीको भनाइ छ । आयोगले असोज महिनादेखि चैत महिनासम्म हरेक महिनाको अन्तिम बुधबार विज्ञापन खुलाउने गर्छ । सुरुमा सहसचिव -उपसचिव पदमा पदमा विज्ञापन खुलाएको थियो । यो क्रम चैतको अन्तिम बुधबारसम्म जारी रहन्छ ।

यस वर्ष मात्र विभिन्न पदमा करिब ४ हजार दरबन्दीमा विज्ञापन खुलाउन लागेको आयोगले जनाएको छ । ती मध्ये धेरैजसो पदमा विज्ञापन आह्वान भइसकेको छ । आयोगका अनुसार आयोगको प्रथम चरणको परिक्षा उत्तीर्ण गरेर दोश्रो चरणको परिक्षा दिने उम्मेदवारहरु यस बर्ष घटेका छन् । पोहर साल नायब सुब्बा पदमा प्रथम चरणको परिक्षा पास गरेको उम्मेदवारमध्ये करिब ३० प्रतिशत उम्मेदवार मात्र यस वर्ष दोश्रो चरणको परिक्षामा सहभागी भएको सुबेदीले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ