arrow

आतङ्कवादमा केन्द्रित हुदै अमेरिकी निर्वाचन

logo
एकराज पाठक,
प्रकाशित २०७३ असार ५ आइतबार
america--election-2-reuters.jpg.jpeg
काठमाडौँ । अमेरिकाको फ्लोरिडा राज्यको ओल्र्याण्डोमा गएको आइतबार भएको आमनरसहांरस्थलको भ्रमणपछि राष्ट्रपति बाराक ओबामाको प्रतिक्रिया आयो– डोनाल्ड ट्रम्पको चुनाव प्रचार नीतिले देशमा उत्तेजना फैलाउने काम बढी गरेको छ । 
 
ओबामाले भने , ट्रम्पको शैलीले यतिखेरको निर्वाचन अभियानमात्र होइन कि यसले देशमा असुरक्षाको खतरनाक अवस्था पनि ल्याउन सक्छ । उनले ट्रम्पको निर्वाचन प्रचार शैलीको बिहीबार खुलेरै विरोध गरे। 
 
ओल्र्याण्डोमा रहेको समलिङ्गीहरुको एक रात्रि क्लवमा एक २३ वर्षीय युवकले गोली चलाउदा त्यहाँ रहेका ४९ जना निर्दोष नागरिकको ज्यान गएको थियो । त्यसमा परी कम्तीमा पनि ५३ जना मानिस घाइते भएका छन् र तीमध्ये अधिकांश अझैपनि उपचाररत छन् । 
 
अमेरिकामा पछिल्ला वर्षहरुमा समय समयमा हुने गरेका यस्ता गोलीकाण्डमध्येको एक ठूलो नरसंहार हो यो । हालैका दिनमा राष्ट्रपतीय निर्वाचनका लागि रिपब्लिकन तर्फका उम्मेदवार डोनाल्ड ट्रम्पले गरेको प्रचारको शैली आक्रामकमात्र नभएर हिंस्रक हुनसक्ने भन्दै राष्ट्रपति ओबामाले आफ्नो अभिव्यक्ति त्यसतर्फ संकेत गरे । 
 
ओल्र्याण्डोमा मारिएका व्यक्तिका परिवारजनसँग राष्ट्रपति ओबामाले यो बन्दुक आतङ्कले मुलुकभित्र अतिवादीहरुको जन्म दिइरहेको र त्यसको फाइदा अरु विदेशी आतङ्कवादी र अतिवादीहरुले लिइरहेको गुनासो गरेका छन् । आफ्नो कार्यकालमा यो अमेरिकी नागरिकको हातको बन्दुक खोस्नका लागि गरेको आफ्नो प्रयासको अवरोध पनि रिपब्लिकनहरु नै भएको र त्यसलाई झनै पछिल्लो पटक ट्रम्पले प्रचारात्मक शैलीमा नै प्रतिरक्षा गर्ने गरेको बताए । 
 
ओबामाको यो प्रतिक्रियाको भोलिपल्टै ट्रम्पले पनि अमेरिकी नागरिकले लाइसेन्सप्राप्त हतियार राख्न पाउने भनी यसअघिदेखि गर्दै आएको दाबीको बचाउ गरे । उनले होस्टनमा शुक्रबार रिपब्लिकनले निकालेको र्‍यालीमा आफ्नो पूर्वघोषित नीतिको बचाउ गरेका छन् । 
 
फ्लोरिडा राज्यमा हालै भएको बन्दुककाण्डपछि पनि उनले आफ्नो नीतिको बचाउ गर्दै भने– यदि त्यो रात्रि क्लबका सञ्चालकहरुसँग नै आवश्यक मात्रामा हतियर भइदिएको भए त्यो नरसंहार हुन पाउदैनथ्यो । 
 
साथै उनले आफ्नो अध्योगमनसम्बन्धी मेक्सिकोसँगको सीमानामा पर्खाल निर्माण गर्नुपर्छ भन्ने नीतिको पनि सो र्‍यालीमा बचाउ गरे । उनले भने, म मेरो पुरानै नीतिमा अडिग छु, मेक्सिकोसँग पर्खाल निर्माण गर्नैपर्छ र यदि त्यसो गरियो भने मात्र अमेरिका हत्या, हिंसा र डकैतीका धेरै प्रकोपबाट बच्नसक्छ । 
 
ट्रम्फले सन् २०१५ को अगष्टमा आफ्नो आप्रबासीसम्बन्धी नीति सार्वजनिक गर्दै म्याक्सीकोसँगको सीमामा पर्खालै बनाउने बताए  । अमेरिकासँगको सीमामा विशाल पर्खाल बनाउने र त्यसको खर्च समेत म्याक्सिकोबाट भराउने घोषणा उनले गरेका छन् । अमेरिकामा बसोबास गर्दै आएका गैरकानुनी मेक्सीकन आप्रबासीलाई त उनले लागू औषध तस्कर र अपराधीको समेत आरोप लगाएका छन् । उनको मुख्य निशाना मुस्लिम समुदायका नागरिप्रति पनि छ र आफ्ना भाषणहरुमा भन्दै छन् कि मुस्लिमका कारण नै अमेरिकामा असुरक्षा र हत्या हिंसा मच्चिँदैछ, मुस्लिम नागरिकलाई छिर्न नदिएपछि सबैकुरा ठीक हुन्छ । 
 
सन् २००१ को सेप्टेम्बर ११ मा अमेरिकाको ट्वीन टावरमा अल कायदाले आक्रमण गरी तीन हजार भन्दा बढीको ज्यान लिएपछि अमेरिकाले आतङ्कवाद विरोधी अभियान सुरु गर्‍यो । खासगरी त्यो आतङ्कवाद विरोधी अभियानले मुस्लिम भावना विरोधीको रुप ग्रहण गरेकोजस्तो देखिदै आएको थियो र आजका दिनसम्म पनि यस्तो प्रकारको भावना देखिन्छ । 
 
अहिले त्यही भावनाले अमेरिका र मुस्लिम संसारका बीचमा एउटा निकै ठूलो पर्खाल निर्माण गरिदिएको छ । अमेरिकाले आतङ्कवाद विरोधी कानुन ल्यायो र ओसामा बिन लादेन खोज्ने अभियानको थालनी गर्‍यो । चार वर्षअघि अमेरिकाले पाकिस्तानमा आएर त्यो काम सम्पन्न गरेपछि ओबामाको दोस्रो कार्यकालको निर्वाचन लड्ने प्रमुख एजेण्डामध्येको एउटा त्यो पनि बन्न पुगेको थियो । 
 
अहिले पनि अमेरिकामा लडाईको शृंखला रोकिएको छैन । लडाईं लड्नका लागि अमेरिकाका लागि फेरि अर्को आतङ्कले जन्म लिएको छ आइएस नामको । यही आतङ्कका विरुद्ध लड्ने प्रतिबद्धता अहिलेका अमेरिकी राष्ट्रपतीय निर्वाचनका उम्मेदवारले व्यक्त गरेका छन् । ट्रम्पले यस्तो आतङ्कलाई देशभित्र प्रवेश गर्न नदिनलाई अमेरिकामा मुस्लिमलाई नै प्रवेश गर्न दिन नहुने धारणा राखेका छन् भने डेमोक्र्याटिक पार्टीका उम्मेदवार हिलरी क्लिन्टनले पनि यस हिंसाका विरुद्धमा लड्नका लागि आफू अमेरिकी नागरिकको साथमै रहेको बताएकी छन् । अमेरिकालाई सबै नागरिकको संयुक्त राज्य बनाउने अठोट गर्ने क्लिन्टनले तर पनि मुस्लिम वा मेक्सिकन नागरिकप्रति भने कुनै पनि किसीमको विभेद गर्न नहुने बताउछिन् । 
 
विश्व महाशक्ति अमेरिकामा अगामी नोभेम्बर ८, मा हुन लागेको राष्ट्रपतीय चुनावको अधिकांश विषय आतङ्ककवादका विरुद्धमा नै केन्द्रित भएको देखिन्छ । ४५ औं राष्ट्रपतीय चुनाबको प्रतिष्पर्धामा पार्टीको तर्फबाट आधिकारीक उम्मेद्वारको चयन गर्न रिपब्लीकन र डेमोक्र्याट पार्टीको आन्तरिक चुनावी प्रक्रिया जारी रहेको भएपनि हालसम्म बलियो रुपमा मैदानमा रहेका हिलरी क्लिन्टन र डोनाल्ड ट्रम्पले प्रतिश्पर्धा गर्नेमा लगभग निधो भएको छ । तर, यसपालीको चुनाबी परिणाम र उम्मेद्वारलाई पनि बिगतका जस्तै आतङ्कवादका विरुद्ध लड्ने शक्तिशाली अभियान नै हो भनेर हेर्दा कुनै गल्ती हुनेछैन । 
 
सन् २०१५ डिसेम्बरमा ट्रम्पले आफ्नो निर्वाचन अभियानको सुरुवात एक विवादास्पद प्रस्तावबाट सुरुवात गरे र भने – मुस्लिमहरुलाई पूर्णत अमेरिका प्रबेशमा प्रतिबन्ध लगाउनुपर्छ र अमेरिकामा रहेकालाई पनि कडा निगरानी गर्नुपर्छ । यसरी उनको यो निर्वाचन अभियानको सुरुवात नै आतङ्कवादलाई निर्मूल पार्छौँ भन्ने प्रतिबद्धताबाट सुरु भएको छ । 
 
ट्रम्पका यी आक्रामक अभिव्यक्तिले अमेरिकाभित्र मात्र होइन बाहिर पनि तरंग ल्याएको छ । उनले अमेरिकामा हाल बसिरहेका अवैध आप्रवासी सबलाई देश निकाला गर्नेभनी दिएको अभिव्यक्तिले मानिस भित्र तरंगति पारेको छ भने मेक्सिको, दक्षिण कोरिया र जापानलाई पनि अमेरिकी सेनाको सुरक्षाबाट लाभान्वित हुने नभई सुरक्षाको व्यवस्था आफै गर्न पनि चेतावानी दिएका छन् । यी अभिव्यक्तिबाट अमेरिकाको कूटनीतिक सम्बन्धमा अहिलेसम्मकै सबैभन्दा धेरै असर पारेको प्रतिक्रिया दिएका छन् । यस अवस्थालाई नै डेमोक्रयाटहरुले यदि यस्तै हो भने मुस्लिमका कारण नभएर ट्रम्पकै कारण अमेरिकामा हिंसा मच्चिन सक्ने धारणा राख्ने गरेका छन् । 
 
डेमोक्र्याटिक पार्टीकी उम्मेदवार हिलरी क्लिन्टनको अभिव्यक्ति त्यति तातो त छैन तर उनले पनि यसरी अभिव्यक्ति दिनेक्रममा आतङ्कवादी क्रियाकलापलाई अमेरिकाबाट सदाका लागि अन्त्यगर्ने र अमेरिकी नागरिकमा यस्तो कुनै पनि भयको अवस्था नहोस भनरे  आफू लड्ने बताउछिन् । गत जनवरीमा आफ्नो निर्वाचन अभियानको सुरुवात गर्दै उनले भनेकि थिइन् – देशलाई आतङ्कवादीको छायाँबाट मुक्त गर्न म सबै अमेरिकीका लागि लड्ने छु । 
 
क्लिन्टनले विशेषगरी आप्रवासीसम्बन्धी कानुनलाई खुकुलो बनाउने वर्तमान राष्ट्रपति बाराक ओबामाको नीतिदेखिकै निरन्तरताको कुरा गरेकी छन् । क्लिन्टन अमेरिकामा आप्रवासीसम्बन्धी कानुनको नरमपन्थी छन्  । उनी मुस्लिमहरुका विरुद्धमा ट्रम्पले दिएको अभिव्यक्तिको पनि विरोधी हुन्  । सबै मुस्लिम आतङ्ककारीको कोटिमा राखिनु अराजकता मात्र हो भन्ने उनको भनाइ रहेको छ । अमेरिकामा बस्ने संसारका सबै नागरिकले संयुक्त राज्यमा बस्ने अनुभूति पाउनुपर्छ भन्ने अभिव्यक्ति दिँदै आएकि छन् । 
 
अमेरिकामा बसिरहेका अल्पसंख्यकहरु इतिहासमै सबैभन्दा बढी निषेधका रुपमा जिउनुपर्ने लक्षणहरु आफूले देखिसकेकोले अबका दिनमा आफूले त्यसो हुन नदिने उनको प्रतिबद्धता छ । ट्रम्पको अभिव्यक्तिले तर्सिएका कैयौं नागरिक यतिखेर हिलरीको आश्वासनको ओतलाग्न पुगेका पनि बताउन थालिएको छ । अमेरिकी अर्थतन्त्रलाई संसारको बलियोकै रुपमा राखिराख्न अब केही गर्नु जरुरी देखिन्छ भन्दै उनले त्यसतर्फका आफ्ना पाइलाहरु आगामी दिनमा दरिलोगरी अघि बढ्ने धारण राख्दै आएकी छन् ।  
 
अमेरिकामा अहिले पनि मुस्लिम भावना भड्किएको अवस्था छ । ओल्र्याण्डोमा एकजना मुस्लिमले कम्तीमा पनि ४९ जनाको हत्या गरेको छ । उसले सेप्टेम्बर ११ कै नाम लिएर यो नरसंहार निम्त्याएको थियो । डेढ दशक अघिको त्यो हिंसा र त्यसले रोपिदिएको मुस्लिम विरोधी भवनाको चर्चा यस समयमा पनि राष्ट्रपतिका उम्मेदबारबीच छँदै नै छ । त्यसैले अमेरिकी निर्वाचनलाई नियाल्नेहरुले अहिले पनि यहाँ आतङ्कवादलाई नै प्रमुख एजेण्डका रुपमा अघि सारिएको रुपमा पनि हेर्ने गरेका छन् । रासस
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ