arrow

बैतडी घट्नाको सन्देशः जसो जसो केपी ओली उसै उसै कार्यकर्ता

logo
प्रकाशित २०७७ फागुन ५ बुधबार
pm-kp-oli3.jpg

काठमाडौं । देशभर नेपाली कांग्रेसलगायत विपक्षी दलको राजनीतिक गतिविधि बढेपछि सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को ओली समूहका कार्यकर्ताहरु श्रृखलाबद्ध आक्रमणमा उत्रिएका छन् । चरम आन्तरिक कलहका कारण विभाजित बनेको नेकपा सांगठनिक रुपमा कमजोर बन्दै गएपछि विपक्षी दलका नेता तथा कार्यकर्ताहरुमा भौतिक आक्रमणमा उत्रिएको घट्नाहरु सार्वजनिक भएका छन् । 

मंगलबार कांग्रेसका नेता एनपी साउदमाथि नेकपाको ओली समूहका कार्यकर्ताले आक्रमण गरेको घट्नापछि राष्ट्रिय राजनीतिमै गम्भीर संकट आउनसक्ने आँकलन सुरु भएको छ । बैतडीको डिलासैनी गाउँपालिकामा आयोजित आमसभामा सहभागी नेता साउदमाथि नेकपाका जिल्ला अध्यक्ष सुरेन्द्र पालका छोरा मुकेश पालको नेतृत्वमा आएको समूहले आक्रमण गरेको थियो ।

गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेसंगै अस्थिर बनेको राजनीतिक परिदृश्यले मुलुकको सिंगो राजनीतिक घटनाक्रम हिंसात्मक बन्न सक्ने खतरा रहेको विश्लेषकहरुले औंल्याउन थालेका छन् । असंवैधानिक तरिकाले भएको संसद विघटनविरुद्ध गाउँगाउँमा प्रदर्शन शुरुभएसँगै नेकपा कार्यकर्ताहरु ओलीको बचाउ गर्ने वहानामा विपक्षी दलमाथि आक्रमण उत्रिएपछि आसन्न निर्वाचनलाई समेत गम्भीर धक्का पुग्ने अनुमान गरिएको छ । 

ओलीको कदमलाई बचाउ गर्न भन्दै ओली निकट नेता महेश बस्नेतले ‘साइबर सेना’ नै परिचालन गरेर कार्यकर्ता उत्तेजित बनाउनेदेखि संसद विघटन विरुद्धका सभाहरुमा जाइलाग्ने घट्नाले मुलुकमा हिंसात्मक राजनीतिले प्रश्रय पाउनसक्ने अवस्था आएको छ । जसको फलस्वरुप नेकपा कार्यकर्ताहरु निरन्तर आक्रमणमा उत्रिन थालिसकेका छन् ।

गत माघ दोस्रो साता सरकारी बाईकमा आएका नेकपा कार्यकर्ताहरुले बझाङमा खुँडा प्रहार गरि तरुण दलका कार्यकर्ताको हत्या गरेको घट्नाले राष्ट्रिय राजनीति र आगामी निर्वाचनलाई प्रभावित हुने अवस्था आइसकेको कांग्रेसकै नेताहरुले बताइसकेका छन् । 

बझाङ छबिसपाथिभरा गाउँपालिका वडा नम्बर ३ का अमृत सिंहको खुँडा प्रहार गरि हत्या गरिएको हो । आक्रमणकारीले नेकपाबाट निर्वाचित वडाध्यक्ष विकास ऐडीको सरकारी बाईक प्रयोग गरेको प्रहरीले नै पुष्टी गरेको थियो । त्यस्तै माघ पहिलो साता रुकुम पश्चिमको आठबिसकोट क्षेत्रमा नेकपा प्रचण्ड–माधव समुहले नेपाली कांग्रेसका कार्यकर्तालाई मरणासन्न हुनेगरि आक्रमण गरेका थिए। यी सबै घटना पछिल्लो कम्युनिष्ट राजनीतिको एउटा मानक बनेको छ। 

संसद विघटनविरुद्ध देशब्यापी रुपमा विरोधका कार्यक्रमहरु सुरु भएसँगै गत माघ तेस्रो साता नै नेपाल तरुण दल राप्तीसोनारी गाउँपालिका बाँकेका अध्यक्ष कुलबहादुर केसीमाथि नेकपा निकट युवा संघका कार्यकर्ताले आक्रमण गरेपछि केन्द्रीयस्तरमै नेकपाको हिंसात्मक गतिविधिप्रति कांग्रेसले आपत्ति जनाइसकेको छ ।

मंगलबार बैतडीमा कांग्रेसका केन्द्रीय सदस्यद्वय साउद र डिला संग्रौला, कांग्रेस बैतडीका सभापति नरेन्द्रजंग थापा लगायत स्थानीय नेतृत्व एवं नेविसंघका पूर्व सभापति नैनसिंह महर सहभागी कार्यक्रममा भएको ढुंगामुढाबाट आफ्ना कार्यकर्ता घाइते भएको कांग्रेसले पुष्टी गरिसकेको छ ।

उक्त घटनाका बारेमा सत्तारुढ नेकपाको स्थानीय पार्टी पंक्तिमा उग्रवादी चरित्र भर्न केन्द्रीय नेतृत्वकै अभिव्यक्ति शैली र ब्यवहारले भुमिका खेलेको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्तिमार्फत आपत्ति जनाएका छन् ।

कांग्रेस नेता उदय शमसेर राणाले बैतडी घटनालाई मण्डले शैलीको पुनरावृत्तिको सज्ञां दिंदै आफूसँग फरक विचार राख्ने व्यक्ति, समूह, दलमाथि सांघातिक हमला गर्ने मण्डले शैली ओलीराजमा देखिन थालेको भन्दै घट्नाको निन्दा गरेका छन् ।

बैतडी घट्नाले ओली पक्ष विक्षिप्त बन्दै गएको, सत्ता उन्माद बढेको, विपक्षीका आवाजहरुलाई बन्देज लगाउने प्रयास स्वरुप अघि बढ्दै गएको नेताहरुले बताइसकेकाछन्। जसोजसो ओली उसै उसै कार्यकर्ता भने झै नेकपा ओली समूहमा देखिन थालेको छ। ‘म नै हुँ कानून, म नै हुँ राज्य’ भन्ने शैलीले प्रधानमन्त्री ओलीले दिएका अभिब्यक्तिका कारण पनि कार्यकर्तामा उत्तेजना पलाएको अनुमान गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ