arrow

'श्रम चल्ने, सीप चल्ने तर मान्छेलाई दलित भनेर अपहेलित गर्ने'

logo
रमेश विश्वकर्मा,
प्रकाशित २०७७ फागुन ५ बुधबार
khildhoj-panthi.JPG

गुल्मी । नेपाली काँग्रेस गुल्मीका सचिव एवम् युवा नेता खिलध्वज पन्थीले वर्तमान समयमा पनि नेपाली समाज अन्धविश्वासबाट माथि उठ्न नसकेको बताएका छन् । उनले अझै पनि नेपाली समाज अन्धविश्वास र कुरीतिमा रहेको उल्लेख गरे ।

मङ्गलवार नेपाली काँग्रेसको भातृ सङ्गठन नेपाल दलित सङ्घको २४ औँ स्थापना दिवसको अवसरमा नेपाल दलित सङ्घ गुल्मीले जिल्लास्थित पार्टी कार्यालय बिपी स्मृति भवन तम्घासमा आयोजना गरेको वर्तमान अवस्थाबारे अन्तरक्रिया तथा शुभकामना आदान-प्रदान कार्यक्रममा सचिव पन्थीले यस्तो बताए ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका सचिव पन्थीले अब हामी सबैले आफू भित्र भएको हीनताबोधलाई हटाएर अगाडी बढ्नुपर्ने समय आएको बताए । आफूभित्र भएको हीनताबोधलाई हटाएर अगाडि बढ्नुस् । सफलता टाढा छैन । सचिव पन्थीले भने,‘दलितको श्रम चल्ने, सीप चल्ने तर मान्छेलाई दलित भनेर अपहेलित गर्ने, यो कस्तो विडम्बना ।’

नेपाली काँग्रेसको नेतृत्वमा बनेको संविधानले दलित, महिला जनजाति एवम् पछाडि पारिएका समुदायको उत्थानका लागि थुप्रै व्यवस्था प्रदत्त संविधान दिए पनि कार्यान्वयनका सन्दर्भमा वर्तमान सरकारले ती अधिकारहरूलाई कुण्ठित गरिरहेको आरोप लगाउँदै उनले भने,‘काठमाडौँको सिंहदरबारले दलितका बस्ती चिनेन । गरिब, दलितहरूको उत्थानमा बनेको वर्तमान सरकार भष्ट्चारमा चुर्लुम्म डुब्यो ।’ लामो कालखण्ड देखि पछाडि परेको समुदायको उत्थान, समृद्धि र विकासका लागि वर्तमान सरकारले ध्यान नदिएको उल्लेख गरे ।

चुनावी माहोलमा सस्तो लोकप्रियताका लागि दलित समुदायको भोट खरिद गर्ने र सांसद भएपछि उनीहरूको समस्या बिर्सने परिपाटीको अन्त्य हुनुपर्ने बताए । ‘दलितको भोट किन्छु । सांसद बन्छु, भन्ने परिपाटीको अन्त्य गर्न आवश्यक रहेको उनले भने ।’

नेपाली काँग्रेसका जिल्ला सदस्य एवम् दलित विभाग प्रमुख झविन्द्र विश्वकर्माले अहिले संविधान सङ्कटमा परेको बताए । अहिले संविधान सङ्कटमा पर्दा ठुलो बलिदानी र त्यागबाट प्राप्त गरेका दलितका अधिकारहरू खतरामा पर्ने उल्लेख गरे । पछिल्लो समय दलित आन्दोलन कमजोर हुँदै गएको बताउँदै आन्दोलनलाई सशक्त बनाएर लैजानुपर्ने भन्दै नेता विश्वकर्माले राज्यले नै जातीय छुवाछुतलाई व्यवस्थित गरिरहेको आरोप लगाए । सरकारले दलितलाई हिजो अपमान जनाउने शब्दहरूलाई आफ्ना कागजातहरूमा अहिले तथ्याङ्क सङ्कलनमा प्रयोग गरिरहेको उल्लेख गर्दै यसले जातीय विभेदलाई थप व्यवस्थित गरेको आरोप लगाए ।

नेपाली काँग्रेसका क्षेत्रीय सभापति भगतसिंह खड्काले नेपाली काँग्रेसले परिकल्पना गरेको भेदभाव रहित समाज निर्माणको परिकल्पनालाई पुरा गर्न पार्टी सधैँ क्रियाशील रहेको बताए । जननायक एवम् नेपाली काँग्रेसका प्रणेता बिपी कोइरालाले दलित, जनजाति सबै वर्गलाई सँगसँगै लिएर अगाडी बढेको गौरवपूर्ण इतिहास बोके पनि यसको जानकारी तल्लो तहसम्म पुर्‍याउन नसकिएको उल्लेख गरे ।

नेपाल महिला सङ्घ जिल्ला सचिव देवी कुँवरले दलितहरूको अधिकार स्थापित र उनीहरूलाई अगाडि ल्याउन ऐक्यबद्धता जनाइन् । वरिष्ठ उपाध्यक्ष शेर बहादुर चुँदारा, उपाध्यक्ष शेर बहादुर विश्वकर्माले समाजमा व्याप्त रहेका कुप्रथाहरूको अन्त्यका लागि काँग्रेसले आफ्ना अभियानलाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।

दलित सङ्घ जिल्ला सदस्यहरू यम बहादुर विक, टीका विक, थम्मन नेपाली, दलित सङ्घ रेसुङ्गा नगर सभापति धन बहादुर नेपाली, लगायतको आतिथ्य रहेको थियो । त्यस अवसरमा कमल सुनार, रिता चुँदारा र गीता चुँदारालाई दलित सङ्घको जिल्ला सदस्यमा मनोनीत गरिएको छ । दलित सङ्घका जिल्ला अध्यक्ष लुम बहादुर श्रीपालीको सभापतित्व रहेको कार्यक्रमको सञ्चालन जिल्ला सचिव नवीन विश्वकर्माले गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ