arrow

सरकारी नीतिले डाक्टरलाई आफ्नै गाउँठाउँमा काम गर्ने वातावरण रहेन – मुख्यमन्त्री राउत 

logo
निरंजनकुमार साह,
प्रकाशित २०७७ फागुन ६ बिहिबार
lalbabu-raut2.jpg



जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु  राउतले आफ्नै गाउँठाउँमा काम गर्ने वातावरण चिकित्सकहरुका लागि नरहेको चर्चा गर्दै यसको मुख्य कारण संघीय सरकारको गलत नीति रहेको आरोप लगाएका छन् । 

बुधबार जनकपुरधाममा मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै उनले प्रदेश २ स्वास्थ्यको सूचकांकमा सातै प्रदेशमध्ये सबैभन्दा पुछारमा रहेको समयमा प्रतिष्ठानको स्थापनाले यसलाई उकास्न मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन्  । 

प्रादेशिक अस्पतालको प्राङ्गणभित्र प्रदेशका मुख्यमन्त्री राउत र सामाजिक विकास मन्त्री नवलकिशोर साहले संयुक्त रुपमा मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको कार्यालय उद्घाटन गरेका हुन् ।

मुख्यमन्त्री राउतले भने, ‘सबै प्रकारको रोगको उपचार एकै अस्पतालमा हुने वर्षौं पुरानो अकांक्षा अब पूरा हुने छ । यो हाम्रो शुरुवात मात्रै हो, विस्तारै यहीँ पनि एमबीबीएस, एमडी लगायतको पढाई पनि हुनेछ ।’

मुख्यमन्त्री राउतले प्रतिष्ठानको कार्यालयको उद्घाटनसँगै प्रदेश २ ले स्वास्थ्यको क्षेत्रमा ठूलो खुड्किलो पार गरेको भन्दै खुशी व्यक्त गरे। 

प्रतिष्ठानको स्थापनासँगै चिकित्सकहरुका लागि आफ्नै गाउँठाउँमा सेवा प्रदान गर्ने वातावरणको निर्माण हुने विश्वाससमेत व्यक्त गरे ।

कार्यक्रममा मन्त्री साहले अस्पतालहरुमा आवश्यक चिकित्सकहरुको नियुक्ति आफैं गर्न सक्नेगरी ऐन निर्माण भइरहेको जानकारीसमेत दिए ।
 मन्त्री साहले यस प्रतिष्ठानको स्थापनाले रोजगारीको ठूलो अवसरसमेत प्रदान गर्ने बताए ।

प्रदेशवासीका लागि ठूलो सपना पूरा भएको र यस प्रतिष्ठानको स्थापनाले प्रदेशका अस्पतालहरुमा हुने चिकित्सक अभाव, एकै ठाउँमा सबै प्रकारका रोगहरुको उपचार नहुनु लगायतको समस्या समाधान गर्नेमा आफू विश्वस्त रहेको उनले बताए । 

कार्यक्रममा प्रतिष्ठानका उपकुलपति डा. रामकेवल साहले प्रदेश २ मा स्वास्थ्य क्षेत्रको अवस्था दयनीय भएको बताउँदै सेवाको स्तर सुधारको लागि हरसम्भव प्रयासरत रहने प्रतिवद्धता व्यक्त गरे ।

प्रदेश सरकारले माघ १८ गते मुख्यमन्त्री कुलपति रहने प्रतिष्ठानको उपकुलपतिमा डा. राम केवल साह, रजिस्टारमा डा. विनोद यादव र रेक्टरमा डा. अंकुर साहलाई नियुक्त गरेको थियो ।

प्रदेश नम्बर २ को प्रदेशसभाबाट कार्तिक २ गते पारित भई आएको ‘मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ प्रदेश प्रमुख तिलक परियारले गत कार्तिक २५ गते प्रमाणिकरण गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ