arrow

दुई हजार डाक्टर नक्कली, एसपीका भाइदेखि नेताका बुहारीसम्म

logo
प्रकाशित २०७३ असार ६ सोमबार
doctor_teacher_group.jpg.jpeg
एसपीका भाइदेखि नेताका बुहारीसम्म
काठमाडौं । प्रगति पोलिक्लिनिक चितवनमा कार्यरत सुनील आचार्य नेपाल प्रहरीका एसपी डा. सुवास आचार्यका भाइ हुन् । डा. सुवास नेपाल प्रहरीको अस्पतालमा कार्यरत छन् । त्यस्तै जोरपाटीको अम्दा नेपालमा कार्यरत निलिमा खड्का महत नुवाकोट कांग्रेस नेताहरूका बुहारी हुन् । प्रहरी अधिकारीका अनुसार श्रीमान्–श्रीमतीलाई पनि आफ्ना जीवनसाथीको शैक्षिक प्रमाणपत्र नक्कली छ भन्ने थाहा थिएन । ‘यसको प्रमाणपत्र नक्कली हो भन्ने थाहा भएको भए बिहे नै गर्ने थिइनँ,’ आफ्नो श्रीमती पक्राउ परेपछि उनका श्रीमान् सिआइबीमा पुगेर यस्तो गुनासो गर्दै थिए । पक्राउ परेका ३६ मध्ये ६ जना महिला  छन् । आजको नयाँ पत्रिकामा नवराज मैनालीले लेखेका छन् ।  
 
प्रहरी र नेपाल मेडिकल काउन्सिलको हालसम्मको अनुसन्धानमा देशभरि करिब दुई हजार नक्कली चिकित्सक कार्यरत रहेको रहस्य खुलेको छ । हालसम्म शैक्षिक प्रमाणपत्र अनुसन्धान गरी करिब एक हजार पाँच सयमध्ये डेढ सयजनाको प्रमाणपत्र नक्कली भएको पुष्टि भइसकेको छ । त्यसमध्ये ५३ जना पक्राउ परिसकेका छन् ।
 
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले शुक्रबार र शनिबार गरी ३६ जनालाई पक्राउ गरेको छ । एकैपटक १० वटा जिल्लामा अपरेसन चलाई सिआइबीले नक्कली प्रमाणपत्रधारीलाई पक्राउ गरेको हो । जसमा प्रतिष्ठित चिकित्सकसमेत छन् । उनीहरूलाई ठगी मुद्दामा सिआइबीले कारबाही अघि बढाएको छ । ‘हाम्रो अनुसन्धानमा करिब १० प्रतिशत चिकित्सकको शैक्षिक प्रमाणपत्र नक्कली छ भन्ने छ,’ सिआइबीका निर्देशक डिआइजी नवराज सिलवाल भन्छन्, ‘हामीले १७ हजार चिकित्सकको प्रमाणपत्रको आधिकारिकता जाँच गरिरहेका छौँ ।’
 
पक्राउ पर्ने सबैको प्रमाणपत्र विदेशी
पक्राउ परेका सबैले आइएस्सी र एमबिबिएस विदेशमा पढेका हुन् । केहीले बिहारका कलेजहरूमा आइएस्सी पढेको प्रमाणपत्रका आधारमा एमबिबिएस पढेका थिए । कतिपयले त एमबिबिएस पनि उत्तीर्ण नगरेको हुनसक्ने डिआइजी सिलवालको भनाइ छ।
 
यसरी भयो अनुसन्धान 
पहिलोपटक सिआइबीले चिकित्सक दर्ता प्रमाणपत्र परीक्षा (लाइसेन्स परीक्षा)मा धेरैपटक फेल भएकालाई छानेर अनुसन्धान गरेको थियो । जसमा १७ जना पक्राउ परे भने केही फरार भए । यसपटक भने बिहारबाट आइएस्सी पढेकामाथि अनुसन्धान गरेको थियो ।
 
पक्राउ परेकामध्ये चारजनाले नेपालमै एमबिबिएस अध्ययन गरेका हुन् भने ३३ जनाले विदेशमा पढेका छन् । विनिता मण्डलले नेपाल मेडिकल कलेज जोरपाटीबाट एमबिबिएस, श्रीराम घिमिरेले युनिभर्सल मेडिकल कलेजबाट, इशादुल हक त्रिविको आइओएम, दिनेश साहले कलेज अफ मेडिकल साइन्स भरतपुरमा एमबिबिएस गरेका हुन् । त्रिविमा डाक्टर पढ्न प्रवेश परीक्षामा उत्कृष्ट हुनुपर्छ । तर, आइएस्सीको प्रमाणपत्रसमेत नक्कली भएकाले प्रवेश परीक्षामै चलखेल भएको आशंका गरिएको छ । भारत, युक्रेन, रसिया, बंगलादेश, चीन, काजगिस्तान र पाकिस्तानबाट एमबिबिएस तथा बिडिएस पढेकाहरू पक्राउ परेको सिआइबीले जनाएको छ ।
 
भाग्न सक्ने भएकाले एकैचोटि अपरेसन
क्रमैसँग पक्राउ गर्दा भाग्न सक्ने भएकाले सिआइबीले १० जिल्लामा एकैदिन छुट्टाछुट्टै टोली खटाएर शुक्रबार र शनिबार अपरेसन चलाएको हो । सिआइबी, मेडिकल काउन्सिल र उच्च माध्यमिक शिक्षा परिषद्को टोली गत महिना बिहारबाट आइएस्सी पढेकाको शैक्षिक प्रमाणपत्र लिएर बिहार इन्टरमिडियट शिक्षा परिषद्मा पुगेका थिए । 
 
जहाँ शैक्षिक प्रमाणपत्र भिडाउँदा गलत पाइएकाहरूको सूचि बनाई पक्राउ गर्न थालिएको हो । ‘पक्राउ परेकामध्ये १४ जना चिकित्सकको नाम बिहार बोर्डमा दर्ता नै भएको छैन,’ सिआइबीका एसपी तारिणी लम्साल भन्छन्, ‘१६ जनाले वास्तविकभन्दा धेरै नम्बर आएको देखाएर सर्टिफिकेट बनाएको खुलेको छ ।’ त्यस्तै, दुईजना भर्ना भएर जाँच नै नदिई सर्टिफिकेट बनाएका थिए । एकजनाले भने अर्काको लाइसेन्स नम्बर प्रयोग गरी काम गर्दै आएको एसपी लम्सालले बताए । सिआइबीले ५० जनाभन्दा धेरैलाई पक्राउ गर्ने लक्ष्य राखेको थियो, तर केही भाग्न सफल भएका छन् ।
 
प्रतिष्ठित पनि नक्कली
जावेद अख्तर अन्सरी पूर्वाञ्चलका प्रतिष्ठित चिकित्सक हुन् । भारतको बिहार नवादा घर भएका उनी लामो समयदेखि नेपालमा काम गर्दै आएका छन् । बिरामीले पनि उनलाई विश्वास गर्थे । उनको शैक्षिक प्रमाणपत्र नक्कली होइन, तर उनीसँग डाक्टरको लाइसेन्स थिएन । डा. महानन्द मिश्रको नाममा नेपाल मेडिकल काउन्सिलद्वारा जारी लाइसेन्स नम्बर उनले प्रयोग गर्दै आएका थिए । नेपालमा काम गर्न काउन्सिलको परीक्षा दिएर अनिवार्य रूपमा लाइसेन्स लिनुपर्छ । तर, अन्सारीले अरूको लाइसेन्स नम्बरलाई आफ्नो भन्दै प्रयोग गर्दै आएका थिए । अन्सारीले आफ्नो लाइसेन्स नम्बर दुरुपयोग गरेको भन्दै प्रहरीमा उजुरी दिएका छन् ।
त्यस्तै, कान्तिपुर डेन्टल कलेजका अध्यक्षसमेत रहेका डा. बुद्धिमान श्रेष्ठ पनि पक्राउ परेका छन् । उनी एमाले नेतासमेत हुन् । नर्भिक अस्पतालमा कार्यरत डा. अरुण गुप्ता पनि चर्चित चिकित्सक हुन्, उनको पनि आइएस्सीको शैक्षिक प्रमाणपत्र नक्कली भएको सिआइबीले जनाएको छ ।
 
यसरी सुरु भयो ‘अपरेसन क्वाक’ 
गत मंसिरमा नेपाल मेडिकल काउन्सिलले चिकित्सक दर्ता प्रमाणपत्र परीक्षा सञ्चालन गरेको थियो । छाउनीस्थित नेपाली सेनाको मेडिकल कलेजमा परीक्षा भएको थियो । परीक्षाको अनुगमनका क्रममा दुईजना भाडाका डाक्टर पक्राउ परे । डा. सुनील मण्डल र नीरज शर्माले नवीन यादव र सरोज साहको परीक्षा दिएका थिए । पटक–पटक फेल भएपछि उनीहरूले पैसा दिएर मण्डल र शर्मालाई परीक्षा दिन लगाएका थिए । महानगरीय प्रहरी वृत्त स्वयम्भूले उनीहरूलाई पक्राउ गरी मुद्दा चलायो ।
 
सोही घटनालाई सिआइबीले सूक्ष्म रूपमा अनुसन्धान अघि बढायो । त्यसक्रममा ठूलो मात्रामा लाइसेन्स परीक्षामा भाडाका डाक्टर प्रयोग हुने गरेको खुल्यो । त्यसको कारण खोतल्दा विदेशबाट एमबिबिएस र बिडिएस पढेर आउनेहरू कमजोर हुने भएकाले उनीहरूले त्यसरी अरूलाई परीक्षा दिन लगाउने गरेको खुल्यो । कमजोर व्यक्तिहरूले कसरी एमबिबिएस पढे भनेर अनुसन्धान गर्दा नक्कली सर्टिफिकेट बनाएर पढ्ने गरेको खुलेको थियो ।
 
करिब तीन महिनाको अनुसन्धानपछि सिआइबीले गत २२ माघमा १३ जना नक्कली प्रमाणपत्रधारी चिकित्सकहरूलाई पक्राउ गरेको हो । प्रहरीले उक्त अनुसन्धान प्रक्रियालाई निरन्तरता दिएको छ । उक्त अनुसन्धानलाई ‘अपरेसन क्वाक’ नाम दिइएको छ । मेडिकल क्षेत्रबाट नक्कली प्रमाणपत्रधारीलाई पूर्ण रूपमा नहटाएसम्म यो अपरेसन जारी हुने सिआइबीका निर्देशक डिआइजी सिलवाल बताउँछन् । ‘चिकित्सकलाई भगवान्को रूप मानिन्छ, यो एकदमै पवित्र पेसा हो,’ उनले भने, ‘सेतो बर्दीको दाग हटाएर यो पेसाको प्रतिष्ठा र विश्वास फर्काउन चाहन्छौँ ।’
 
काउन्सिलमा डनगिरी ?
नेपाल मेडिकल काउन्सिलका अधिकारीहरूलाई पहिलेदेखि नै नेपालमा नक्कली प्रमाणपत्रधारी चिकित्सक रहेको जानकारी नभएको होइन, सोही कारण उनीहरूले त्यसलाई रोक्नेसमेत प्रयास गरे । ‘तर, नक्कली प्रमाणपत्रधारीहरूले मारिदिने धम्की दिएपछि हामीले केही गर्न सकेका थिएनौँ,’ काउन्सिलका एक पूर्वपदाधिकारी भन्छन्, ‘डनगिरीकै कारण यो क्षेत्रमा विकृति बढेको हो ।’ एमबिबिएस पढ्न लाखौँ खर्च हुने भएकाले उनीहरूले कारबाही रोक्न मार्नेसम्मको धम्की दिने गरेका हुन् ।
 
कहाँ चुक्यो राज्य ?
राज्यको कमजोरीको फाइदा उठाउँदै देशमा नक्कली चिकित्सकको बिगबिगी भएको प्रहरी अधिकारीहरू बताउँछन् । विदेशबाट पढेर आउनेको शैक्षिक प्रमाणपत्रको आधिकारिकता जाँच हुने बलियो व्यवस्था नहुँदा उनीहरूले नक्कली सर्टिफिकेटका आधारमा एमबिबिएस र बिडिएस पढेका थिए । ‘यो संस्कारकै रूपमा विकास भइसकेको रहेछ,’ अनुसन्धानमा आबद्ध एक प्रहरी अधिकारी भन्छन्, ‘आइएस्सीमा राम्रो नम्बर आएन भने भारतमा गएर आफूले चाहेअनुसारको सर्टिफिकेट बनाउने र त्यही आधारमा छात्रवृत्तिसमेत पाएर पढ्ने गरेको पाइयो ।’
 
विदेश अध्ययन गर्न प्रवेश परीक्षा उत्तीर्ण गर्नुपर्दैन । यही खुकुलो प्रावधानले धेरैले पैसाकै भारमा विदेशमा गएर पढ्ने गरेका थिए । चीन, बंगलादेश, भारतका कतिपय विश्वविद्यालयमा भर्ना भइसकेपछि फेल नहुने भएकाले कमजोर भए पनि उनीहरूले एमबिबिएस पढेका थिए । नेपाल आएपछि भाडाका व्यक्तिलाई लाइसेन्स परीक्षामा सामेल गराई उनीहरूले लाइसेन्ससमेत लिएका थिए । पछिल्लो समय भने मेडिकल काउन्सिलले लाइसेन्स परीक्षामा चेकजाँचमा कडाइ सुरु गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ