arrow

राजिनामा गर्ने चेतावनी दिएपछि गोपी मैनालीको सच्चाइयो सरुवा

तोयनारायण ज्ञवालीको सरुवा पनि सच्चाएर राखियो प्रधानमन्त्री कार्यालयमै 

logo
प्रकाशित २०७७ फागुन ६ बिहिबार
gopinath.JPG

काठमाडौं। राजिनामा गर्ने चेतावनी दिए पछि नेपाल सरकारका सचिव गोपी मैनालीको सरुवा सच्चाइएको छ । निर्णय सार्वजनिक नगर्दै सरकारले उनको सरुवा सच्चाएको हो । मैनाली निकट स्रोतका अनुसार उनको सरुवा उपराष्ट्रपति कार्यालयमा गरिएको छ । यसअघि उनलाई शिक्षा मन्त्रालयबाट सार्वजनिक खरिद अनुगमन कार्यालयमा लग्ने निर्णय गरिएको थियो । स्रोतका अनुसार, बरु आफूले राजिनामा गर्ने तर सार्वजनिक खरिद अनुगमन कार्यालयमा नजाने सन्देश उनले मुख्यसचिवलाई पुर्या‍एका थिए । त्यसपछि उनको सरुवा सच्च्याइएको स्रोतको भनाइ छ । सचिव भए लगत्तैका सचिव सार्वजनिक खरिद अनुगमन कार्यालयमा पठाइए पनि लामो समय सचिव भइसकेकाहरु भने सकेसम्म त्यहाँ जान चाहन्नन् ।

मैनालीले सरुवाको चिठी समेत बुझेको स्रोतको भनाइ छ । ‘सार्वजनिक खरिद अनुगमन कार्यालयमा लगेको भए उहाँ राजिनामा गर्ने सोचमा हुनुहुन्थ्यो । अब राजिनामा गर्ने सोच त्याग्नु भएको छ’मैनाली निकट स्रोतले भन्यो । गोपी मैनाली सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (ओली खेमा पक्ष)सँग निकट नभएकै कारण उनलाई बढी खेदिएको मानिएको छ । उनी डेमोक्रेट सचिव भनेर चिनिन्छन् । त्यसैले ओली  शासनमा सबैभन्दा बढी हुर्मत लिइने मध्येमा उनी अगाडी नै पर्छन । पछिल्लो एक वर्षभित्र उनको ४ पटक सरुवा गरिएको छ । उनीमाथि लिइएको हुर्मत पछिल्लो एक वर्ष मात्र होइन । विगत दुई वर्ष देखि उनी एउटा कार्यालयमा ६ महिनाभन्दा बढी बस्न पाएकै छैनन । पछिल्लो पटक उनी शिक्षा मन्त्रालयमा कार्यरत थिए । मैनाली शिक्षामा सरूवा हुनु अघि महालेखा नियन्त्रकको कार्यालयमा कार्यरत थिए । महालेखाभन्दा पहिले उनी भूमि व्यवस्था तथा गरिवी निवारण मन्त्रालयमा कार्यरत थिए । भुमि व्यवस्थाबाट उनलाई महालेखा नियन्त्रकको कार्यालयमा लगिएको थियो । 

सरकारले तोयानारायण ज्ञवालीको सरुवा पनि सच्च्याएको छ । उनलाई मन्त्रिपरिषद तथा प्रधानमन्त्री कार्यालयमै राखिएको स्रोतको भनाइ छ । गत बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले एकै पटक डेढ दर्जनभन्दा बढी सचिवको सरुवा गरेको हो । सरुवा गरिएका सचिवहरूको हकमा चिठी बुझाउन थालिएको स्रोतको भनाइ छ । यद्यपि सरकारले अझै निर्णय सार्वजनिक गरेको छैन । आगामि निर्वाचनलाई केन्द्रित गरेर सरकारले एकै पटक ठूलो संख्यामा सचिव सरुवा गरेको हो । 

सरकारले अख्तियार दरुपयोग अनुसन्धान आयोगमा कार्यरत सुरेश अधिकारीलाई निर्वाचन आयोगमा लगेको छ । निर्वाचन आयोगका प्रमुख आयुक्त निदेश थपालिया र अधिकारी फुपु चेला मामा चेला हुन्। यसैगरी श्रम तथा रोजगार मन्त्रालयका सचिव तोयम रायालाई अख्तियारमा सरुवा गरिएको छ । सार्वजनिक खरिद अनुमगन कार्यलयमा कार्यरत सुर्यप्रसाद गौतमलाई श्रम तथा रोजगार मन्त्रालयमा सरुवा गरिएको छ । युवा तथा खेलकुद मन्त्रालयमा कार्यरत रामप्रसाद थपलियालाई शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा सरुवा गरिएको छ । सतर्कताका मणिराम गेलाललाई प्राधिकरणमा लगिएको छ । निर्वाचन आयोगकी सचिव देवकुमारी गुरागाईलाई वित्त आयोगमा लगिएको छ । प्रदेश नम्बर १का प्रमुख सचिव दिनेश दिनेश भट्टराईलाई उद्योग मन्त्रालयमा सरुवा गरिएको छ । लोकसेवा आयोगमा कार्यरत अर्जुनप्रसाद पोखरेललाई वाणिज्य मन्त्रालयमा सरुवा गरिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ