arrow

हलेसी तुवाचुङ नगरपालिकाको वित्तीय प्रगति ३७ प्रतिशत

logo
रासस,
प्रकाशित २०७७ फागुन ८ शनिबार
halesi-nagar.jpg

खोटाङ। हलेसी तुवाचुङ नगरपालिकाले चालु आर्थिक वर्ष ३७ प्रतिशत वित्तीय प्रगति गरेको जानकारी दिइएको छ। शुक्रवार आयोजना गरिएको आठौँ नगर सभाले आर्थिक वर्ष २०७७-०७८ का लागि रु ५२ करोड ९९ लाख १३ हजार ६५२ रकम स्वीकृत गरेकामा चालुतर्फ विनियोजन भएको रु पाँच करोड ४२ लाख ५३ हजार ६६० मध्ये रु दुई करोड ९० लाख ६६ हजार ८२२ तथा पुँजीगततर्फ रु १७ करोड ८१ लाख ६० हजार ९९० विनियोजन भएकामा रु पाँच करोड ६३ लाख ४३ हजार ७४८ खर्च भएको हो।

गत साउन १ गतेदेखि माघ मसान्तसम्मको अवधिमा चालुतर्फ ५३.४७ प्रतिशत र पुँजीगततर्फ ३१.६२ प्रतिशत वित्तीय प्रगति भएको नगर उपप्रमुख विमला राईले जानकारी दिएकी छिन्। शिक्षा शाखाका लागि रु १९ करोड ९५ लाख विनियोजन भएकामा रु सात करोड ९६ लाख ७६ हजार ८६२ खर्च भएको, महिला तथा बालबालिका शाखाका लागि रु ५२ लाख विनियोजन भएकामा रु एक लाख ४० हजार ५२० खर्च भएको, स्वास्थ्य शाखाका लागि रु पाँच करोड ७१ लाख विनियोजन भएकामा रु दुई करोड ७४ लाख ६५ हजार ५४० खर्च भएको, योजना शाखाका लागि रु १७ करोड ८१ लाख ६० हजार ९९० विनियोजन गरिएकामा रु पाँच करोड ६३ लाख ४३ हजार ७४८ खर्च भएको तथा युवा तथा खेलकुदका लागि विनियोजन गरिएको रु २० लाख विनियोजन गरिएकामा रु पाँच लाख ९४ हजार ६९० खर्च भएको छ।

नगर सभाले चालु आर्थिक वर्षको स्वीकृत आठ वटा योजनालाई औचित्य, कारण र पुस्ट्याइँसहित संशोधन गरेको छ। रु तीन लाख ५० हजार विनियोजन गरिएको कालिका–देवीथान–धोद्रेखोला ग्रामीण सडक निर्माण योजनालाई संशोधन गर्दै गैरीगुठ तारेभीर हलेसी ग्रामीण सडक निर्माण योजना कायम गरिएको छ।
एक लाख विनियोजन गरिएको ताराखसे–गैरीगाउँ–आहाल तथा इन्टेक निर्माण योजनालाई संशोधन गर्दै उद्यमशीलताका लागि ड्राइभिङ तालीम कायम गरिएको नगर सभामा जानकारी दिइएको छ। नगर उपप्रमुख राईले प्रस्तुत गरेको नगरपालिकाको विषयगत शाखा तथा समग्र कार्यक्रमको वित्तीय र भौतिक प्रगति प्रतिवेदन तथा नगरप्रमुख इवन राईले प्रस्तुत गरेको जरुरी सार्वजनिक महत्त्वको प्रस्तावलाई पारित गरेको छ।

एघार वडा रहेको उक्त नगरपालिकाले गत आर्थिक वर्ष राजस्व बाँडफाँटतर्फको तोकिएको बजेट नआउँदा अधुरा रहेका योजना पूरा गर्न चालु आवको रु साढे पाँच करोड बढी रकम खर्च गरेको छ। नगरपालिकाको आठौँ हिउँदे नगर सभामा उपप्रमुख राईले चालु आवको वित्तीय तथा भौतिक प्रगति प्रस्तुत गर्नेक्रममा सङ्घ र प्रदेशले सिलिङअनुसार राजस्व बाँडफाँटतर्फको पैसा नपठाउँदा अधुरो रहेका योजना पूरा गर्न रु पाँच करोड ५९ लाख ८९ हजार आर्थिक दायित्व पूरा गर्नुपरेको जानकारी दिइन्।

कोभिड–१९ को कारण देखाउँदै सङ्घ र प्रदेशबाट सिलिङअनुसारको बजेट नआउँदा आव २०७६-०७७ को अधुरा योजना सम्पन्न गर्ने गरी आर्थिक दायित्व निर्वाह गर्नुपर्ने बाध्यकारी अवस्था सिर्जना भएको नगर सभामा जानकारी दिइएको छ। गत वर्ष प्रदेश र सङ्घबाट सिलिङअनुसारको बजेट नआएपछि नगरपालिकाको नगर सभाले अधुरा योजना पूरा गर्नका लागि रु पाँच करोड ५९ लाख ८९ हजार विनियोजन गरेको थियो।

विनियोजन भएका बजेटमध्ये हालसम्म रु तीन करोड ७६ लाख १७ हजार भुक्तानी भइसकेको र रु एक करोड ८३ लाख ७२ हजारमध्ये पुरानो भुक्तानी बाँकी रकम नगर समपूरक कोषमा थप गरी खर्च गर्ने नगरपालिकाले जनाएको छ। यस्तै, नगर स्तरीय २२ वटा अधुरा योजनालाई पनि पहिलो प्राथमिकतामा राखेर चालु आवको नगर सभाबाट बजेट विनियोजन गरेर अघि बढाइएको छ।

गत आव सिलिङअनुसारको बजेट नआउँदा अधुरो रहेका वडा नं १ बाहुनीडाँडाका आठ वटा, वडा नं २ डिकुवाका १२ वटा, वडा नं ३ च्यास्मिटारका सात वटा, वडा नं ४ बडहरेका ५ वटा, वडा नं ५ दुर्छिमका चार वटा र वडा नं ६ मङ्गलटारका १० वटा योजनालाई चालु आवको बजेटबाट पूरा गरिएको बताइन्। यस्तै, वडा नं ७ महादेवस्थानका सात वटा, वडा नं ८ धितुङका नौ वटा, वडा नं ९ सल्लेका चार वटा, वडा नं १० अर्खौलेका छ वटा र वडा नं ११ राजापानीका चार वटा योजनालाई चालु आव बजेट विनियोजन गरेर पूरा गर्नुपरेको जानकारी दिइएको छ।

बजेट अभावमा अलपत्र र अधुरो रहेका योजनालाई पूरा गर्न यस वर्ष प्राथमिकतामा राखिएको नगरप्रमुख राईले बताए। “हामीलाई प्राप्त भएको सिलिङअनुसार बजेट निर्माण गर्‍यौँ, योजना बनायौँ र सम्झौता गरेर काम अघि बढायौँ”, उनले भने, “तोकिएको बजेट नआएपछि धेरै योजना अधुरो रहन पुगे। त्यही अधुरो योजना पूरा गर्न हामीले चालु आवको बजेटबाट रकम व्यवस्था गरेर अधुरो रहेका कामलाई अघि बढाएका हौँ।”



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ