arrow

काँग्रेसले संविधान संशोधन विधेयक अघि बढाउन दबाब दिने

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
729451274.jpeg
काठमाडौँ। प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले संसदमा पेस भएको संविधान संशोधन विधेयक तत्काल अघि बढाउन दबाब दिने भएको छ । काँग्रेस संसदीय दलको आजको बैठकले संविधान संशोधनको विधेयक यथाशीघ्र अघि बढाई तराई–मधेसमा भइरहेको आन्दोलनलाई सम्बोधन गर्न सरकारसँग माग गर्ने निर्णय गरेको छ । 
 
बैठकले काँग्रेस नेतृत्वको सरकारले व्यवस्थापिका–संसद्मा पेस गरेको संविधान संशोधन र भूकम्पपछिको पुनःनिर्माणसम्बन्धी विधेयक यथाशीघ्र पारित गर्न दबाब दिने निर्णय गरेको सांसद भरत खड्काले जानकारी दिनुभयो । कार्यवाहक सभापति रामचन्द्र पौडेलले शनिबार सत्तापक्ष र मधेस केन्द्रित दलसँग भएका वार्ता र छलफलबारे बैठकलाई जानकारी गराउनुभएको थियो । 
 
तराई–मधेसको आन्दोलनबाट मुलुकमा भयावह समस्या उत्पन्न भएको भन्दै बैठकले सत्तापक्ष र आन्दोलनरत पक्षलाई गम्भीर र लचकताका साथ वार्ता एवम् सहमतिद्वारा समस्या समाधान गर्न आग्रह गर्ने निर्णय गरेको छ । बैठकले शनिबार राति सप्तरीमा भएको दुई आन्दोलनकारीको मृत्यु र एम्बुलेन्समा भएको आक्रमणप्रति दुःख व्यक्त गर्दै दुवै पक्षलाई संयमित हुन आग्रह गरेको सांसद जगदीशनरसिंह केसीले जानकारी दिनुभयो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ