arrow

मकवानपुर प्रहरीद्वारा गाँजा जफतको नाममा बियर र पैसा लुट्ने प्रयास, विज्ञप्तिमा हवाई फायर

logo
रवीन्द्र गौतम,
प्रकाशित २०७७ फागुन ९ आइतबार
nepal-police-pakrau.jpg

हेटौँडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएका केही प्रहरीहरूले मकवानपुरको राक्सिराङ गाउँपालिकाका स्थानीयलाई थर्काएर लुट्ने प्रयास गरेको बताएका छन् । शनिवार साझ प्रहरीले ओल्लो-पल्लो गाउँका केही टोले गुन्डाहरूसमेत लिएर गाँजा जफत गर्ने नाममा स्थानीयको पसलमा पसेर लुट्ने प्रयास गरेको आरोप लगाएका छन् ।

राक्सिराङ गाउँपालिका–१ स्थित गाउँमा गाँजा बरामद गर्न भनी प्राइभेट गाडी लिएर सादा पोसाकका केही प्रहरी र केही अन्य व्यक्ति हरुले स्थानीयको पसलमा छापा मार्दै, मदिरा, चिसो पिए पदार्थ, पैसा लगायतका सामानहरू लुट्न खोजेपछि स्थानीयले प्रतिकार गरेको राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले बताए ।

अवैध लागू औषध गाँजा बरामद गर्ने भनी खटिएको प्रहरी टोलीले गाउँपालिका घ्याङ्सिङटार पारी भित्तामा पसलका सामान र नगदसमेत उठाएपछि स्थानीयले प्रतिकार गरेको स्थानीयको भनाइ छ ।  ‘प्रहरीहरूले गाँजाको खानतलासी गर्न आएको बताएपछि स्थानीयहरूले चुपचाप रहेर सहयोग गरे तर, पछि त्यही टोलीले पसलहरूबाट बियर रहेको कार्टुन, डिउका कार्टुन अन्य सामानहरू र नगदसमेत लिएर हिँडेपछि हामी प्रतिकारमा उत्रिएका हौँ ।’ स्थानीय ज्ञानबहादुर ब्लोनले भने ।

स्थानीयले उपलब्ध गराएको तस्बिर अनुसार बा १ ग २०९० नम्बरको प्रहरीको गाडी अगाडि बियर, डिउका कार्टुन र अन्य सामान रहेको देखिन्छ । उक्त सामान स्थानीय कान्छामान स्याङ्तानको पसलबाट प्रहरीले उठाएको स्थानीयको भनाइ छ ।

गाँजा खानतलासी गर्ने नाममा प्रहरीले स्थानीय पसलको समान र नगद नै लुटेपछि वडाध्यक्ष कान्छाराम रुम्बासमेत घटनास्थलमा पुगेका थिए । प्रहरीले वडाध्यक्ष रुम्बालाई भने नियन्त्रणमा लिएर अहिले जिल्ला प्रहरी कार्यालय मकवानपुरमा राखेको छ । राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले गाँजा खानतलासी गर्ने नाममा स्थानीयमाथि दुर्व्यवहार र लुटपाट मच्चाइएको बताएका छन् । "स्थानीय रात भरी सुतेका छैनन्, प्रहरीले नै आतङ्क मच्चायो प्रहरीले नै गुन्डा लिएर गाउँमा लुट्न आयो", अध्यक्ष मल्लले भने ।

यता जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तोकिएका डिएसपी इन्द्र रानाले भने फोन उठाएका छैनन् यो विषयमा प्रहरी बोल्न नमानेको बुझिएको छ ।
तर जिल्ला प्रहरी कार्यालय मकवानपुरले भने सञ्चार माध्यमलाई १८ क्विन्टल गाँजा जलाएको र हवाई फायरसमेत गरिएको भनी विज्ञप्ति पठाएको छ ।

प्रहरीको विज्ञप्ति अनुसार वडा नम्बर १ स्थित गाल्छाराङमा बारीमा लुकाई छिपाई राखेको १८ क्विन्टल गाँजा जलाएर नष्ट गरिएको छ । प्रहरी गाँजा जलाएर फर्कने क्रममा बाटो अवरोध गरेकोले वडाका वडाध्यक्ष कान्छालाल रुम्बालाई पक्राउ गरेर थप अनुसन्धान भइरहेको छ । त्यस्तै कुपिनटार स्थित सडकमा स्थानीयहरूको अवरोध पछि प्रहरीको कामकारबाहीमा बाँधा पुराउनुको साथै प्रहरीहरू माथि समेत हातपात भएको भन्दै स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले २ राउन्ड हवाई फायर गरेको पनि प्रहरीले जनाएको छ ।

उता प्रहरीको विज्ञप्तिप्रति राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले भने आपत्ति जनाएका छन् हिजो गाउँमा कतैपनि गाँजा नजलेको र हवाई फायरपनि नभएको बताएका छन् । ‘कुरा गर्दै अध्यक्ष मल्लले भने हामी विज्ञप्ति निकाल्ने तयारीमा छौँ, प्रहरीले स्थानीयलाई दुख दिने, र गाँजा जफतको नाममा पसलका सामानसमेत जफत गर्ने र आतङ्क च्याउने काम गरिरहेको छ’, ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ