arrow

भान्जा अपहरण गरेर मामाले मागे एक करोड

logo
निरञ्जन कुमार साह,
प्रकाशित २०७७ फागुन ९ आइतबार
mama-bhanja1.jpg

जनकपुरधाम । धनुषामा आफ्नै मामाले भान्जालाई अपहरण गरेको रहस्य खुलेको छ। शनिवार धनुषाको नगइराइन नगरपालिका वडा नम्बर ६ लगमाबाट दिउँसो अपहरणमा परेका ७ वर्षीय बालकको प्रहरीले ७ घण्टा भित्रै उद्धार गरेपछि सो रहस्य खुलेको हो ।

रमेश दासका ७ वर्षीय छोरा चन्दन दास शनिवार दिउँसो १ बजेबाट हराएका थिए । अपहरणमा परेका चन्दनलाई शनिवार राति जनकपुरबाट उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएको छ । धनुषा प्रहरीका अनुसार साँझ रमेशको घरमा बच्चालाई अपहरण गरिएको भन्दै १ करोड रुपैयाँ फिरौती मागिएको थियो ।

बालकलाई अपहरण गरी आफ्नै मामा २० वर्षीय राम रतन भनिने लक्ष्मेश्वर दासले आफ्नै कोठामा बन्धक बनाएर राखेको धनुषाका प्रहरी उपरीक्षक (एसपी) प्रकाश रानाभाटले पत्रकार सम्मेलनमा बताए ।

बालकको अपहरण बारे अभिभावकले प्रहरीलाई जानकारी दिनासाथ तत्कालै जिल्ला प्रहरी कार्यालय धनुषा र २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरबाट खटेको विशेष टोलीले लक्ष्मेश्वर कुमार दासलाई राती साढे आठ बजे पक्राउ गरेको थियो ।

लक्ष्मेश्वर दासलाई सार्वजनिक गर्दै घटनाबारे थप अनुसन्धान भइरहेको धनुषाको एसपी रानाभाटले बताए ।

अपहरित बालकलाई परिवारजनको जिम्मा लगाई सकिएको र घटनामा संलग्न रहेको आशङ्काको आधारमा अन्य दुई जनालाई समेत पक्राउ गरी अनुसन्धान भइरहेको एसपी रानाभाटले पत्रकार सम्मेलन मा जानकारी गराए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ