arrow

विद्यार्थीलाई जबरजस्ती करणी गरेको आरोपमा शिक्षक समातिए

logo
राम धामी,
प्रकाशित २०७७ फागुन ९ आइतबार
pakrau9.jpg

डडेलधुरा । सुस्त मनस्थिति भएकी एक बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना शिक्षकलाई पक्राउ गरिएको छ ।  गन्यापधुरा गाउँपालिका–४ कैलपालमाण्डौस्थित भुवनेश्वरी माध्यमिक विद्यालयमा अध्ययनरत सुस्त मनस्थिति भएकी बालिकालाई सोही विद्यालयका शिक्षकले जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले आइतबार पक्राउ गरेको हो ।

भुवनेश्वरी माविद्वारा फरक क्षमता भएका बालबालिकाहरूका लागि सञ्चालित विशेष कक्षामा अध्ययनरत १० बर्षीया बालिकालाई सोही विद्यालयमा अध्यापन गराउँदै आएका शिक्षक देवीलाल भट्टले जबरजस्ती करणी गरेको स्थानीय बासिन्दाहरूको आरोप छ ।

शारीरिक अपाङ्गता भएका बालबालिकाहरूका लागि भुवनेश्वरी माविले सञ्चालन गरेको विशेष कक्षामा आवासीय व्यवस्था छ । फरक क्षमता भएका विद्यार्थीहरुको आवास नजिकै बस्दै आएका ४२ वर्षका शिक्षक भट्टले शनिवार बालिकालाई जबरजस्ती करणी गरेको स्थानीयले बताएका छन् ।

बालिकाको घर डोटीको शिखर नगरपालिका भएको बुझिएको छ । सोही विद्यालयको माध्यमिक तहमा नेपाली विषयका शिक्षक भट्ट पनि डोटीकै आदर्श गाउँपालिका घर भई हाल कैलालीको गोदावरी नगरपालिका अत्तरिया बस्दै आएका थिए ।

प्रत्यक्षदर्शी स्थानीयले प्रहरीलाई खबर गरेपछि जिल्ला प्रहरी कार्यालय डडेलधुराबाट आइतबार विद्यालयमा पुगेको प्रहरी टोलीले शिक्षक भट्टलाई नियन्त्रणमा लिएको स्थानीयले बताएका छन् ।

जिल्ला प्रहरी कार्यालय डडेलधुराका प्रहरी निरीक्षक राजेन्द्रबहादुर चन्दको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय डडेलधुराबाट खटिई गएको प्रहरीको टोलीले अभियुक्त शिक्षक भट्टलाई नियन्त्रणमा लिई सकेको जिल्ला प्रहरी कार्यालय डडेलधुराका प्रहरी प्रमुख डिएसपी महेन्द्र नेपालले बताए ।

पक्राउ गरिएका शिक्षक भट्टलाई थप अनुसन्धान गरेर कारबाही प्रक्रिया अघि बढाउन जिल्ला प्रहरी कार्यालय ल्याइएको र पीडित बालिकाको स्वास्थ्य परिरक्षणसहित घटनाको सूक्ष्म अनुसन्धान गरिने जिल्ला प्रहरी कार्यालय डडेलधुराले जनाएको छ ।

अभियुक्त शिक्षक भट्टले बालिकालाई जबरजस्ती करणी गरेको स्वीकार गरेपछि घटनास्थल पुगेको प्रहरी टोलीले आइतबार विद्यालय परिसरबाटै नियन्त्रणमा लिएको भुवनेश्वरी माध्यमिक विद्यालय प्रशासनले जनाएको छ ।

प्रहरीले प्रचलित कानुन अनुसार जिल्ला अदालत डडेलधुराबाट हिरासतमा राखेर अनुसन्धान गर्नका लागि आदेश माग गर्ने र अनुसन्धान गरेर सत्य तथ्य पत्ता लगाई अभियुक्तविरुद्ध जर्बजस्ती करणी मुद्दा दर्ता गरिने जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ