arrow

मस्तिष्काघातबाट कांग्रेस नेता एकनाथ रानाभाटको मृत्यु, शव पार्टी कार्यालयमा राखिने

logo
प्रकाशित २०७७ फागुन १० सोमबार
eknath-ranabhat.jpg

चितवन  । नेपाली कांग्रेसका नेता तथा पूर्वसांसद एकनाथ रानाभाटको सोमबार निधन भएको छ । चितवन मेडिकल कलेजमा उपचारका क्रममा दिउँसो १ बजेर ५८ मिनेटमा उनको निधन भएको हो ।
 
 उच्च रक्तचापका कारण मस्तिष्काघात भई १६ दिनदेखि उनको मेडिकल कलेजमा उपचार भइरहेको थियो ।  रत्ननगर नगरपालिका वडा नं १४ पिठुवा निवासी रानाभाट विसं २०५६ मा चितवन क्षेत्र नं २ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए ।  कांग्रेस रत्ननगरका सभापति रुपनराज घिमिरेका अनुसार विसं २००९ कात्तिक २८ गते स्याङ्जाको भाटखोलामा उनको जन्म भएको थियो ।
 
 रानाभाट नेपाली कांग्रेस चितवनका पूर्वसचिव, सुकुम्बासी समस्या समाधान आयोग रुपन्देहीका पूर्वअध्यक्ष, राष्ट्रिय सहकारी बोर्डका पूर्वउपाध्यक्षलगायत विभिन्न पदमा रही कार्य गरेका थिए । उनका एक श्रीमती, एक छोरा र एक छोरी रहेका छन् । उनको मङ्गलबार बिहान देवघाटमा अन्त्येष्टि गरिँदैछ ।
 
 कांग्रेस चितवनले शोक वक्तव्य जारी गर्दै पार्टीले एक निष्ठावान् नेता गुमाएकामा दुःख प्रकट गरेको छ । जिल्ला सभापति जीतनारायण श्रेष्ठले उनको निधनले सिङ्गो कांग्रेसलाई अपूरणीय क्षति पुगेको बताए । उनका अनुसार बिहान ८:३० बजेदेखि एक घण्टा उनको शव पार्टी कार्यालय नारायणगढमा राखिनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ