arrow

गलकोटको सामुदायिक वनमा आगलागी, आगो नियन्त्रण बाहिर हुँदा स्थानीय चिन्तित

logo
प्रकाशित २०७७ फागुन १० सोमबार
galkot-fire.JPG

गलकोट । सोमबार दिउँसो देखि गलकोट नगरपालिका वडा नं ५ र ७ का ३ सामुदायिक वनमा आगलागी हुँदा करोडौँको क्षति भएको छ । भैँसे दान सिङ डाँडा सामुदायिक वन गलकोट नगरपालिका वडा नं ५ देखि सुरु भएको आगो छिमेकी वडाको ठुला चौर सामुदायिक वनसम्म फैलिएको छ ।

आगलागीको कारण दान सीङ डाँडा सामुदायिक वनको झन्डै ४० हेक्टर क्षेत्रफलमा क्षति भएको सामुदायिक वनका सदस्य मान बहादुर भण्डारीले जानकारी दिए । दिउँसो देखि इलाका प्रहरी कार्यालय गलकोट र स्थानीयले आगो निभाउने प्रयास गरेता पनि अहिले आगो नियन्त्रण बाहिर रहेको उनले बताए ।

सोही आगो छिमेकी वडाको ठुला चौर सामुदायिक वनमा प्रवेश गरेसँगै उक्त सामुदायिक वनको झन्डै २० हेक्टर क्षेत्रफल क्षति भएको सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष थुम कुमारी थापाले जानकारी दिए । आगोको कारण दानसिंह सामुदायिक वन सँगै जोडिएको गगन पानी सामुदायिक वन गलकोट नगरपालिका वडा नं ५ को झन्डै ५ हेक्टर क्षेत्रफल वन क्षेत्र पनि क्षति भएको बताइएको छ ।

ठुला चौर महिला सामुदायिक वन, दान सीङ डाँडा सामुदायिक वन सिमाना जोडिएका वन हुन । आगो अहिले पनि जङ्गलमा फैलिरहेको छ । आगो बस्ती तिर आउने खतरा रहेको भन्दै स्थानीयवासी चिन्तित भएको गलकोट नगरपालिका वडा नं ७ का वडा अध्यक्ष सुबेदार टिका बहादुर थापाले जानकारी दिए ।

आगो निभाउन स्थानीय र प्रहरीको सक्रियता रहेको वडा अध्यक्ष थापाले बताए । वन क्षेत्रमा आगलागी हुँदा वनमा रहेका जीवजन्तु, चराचुरुङ्गी, वनमा रहेका रुख बिरुवा जलेर नष्ट भएका छन् । साँझ परिसकेको र भीरमा आगलागी भइरहेको हुँदा आगो नियन्त्रण गर्न कठिन भएको ठुला चौर सामुदायिक वन उपभोक्ता समितिका सचिव सुनिता साहानी थापाले जानकारी दिइन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ