arrow

पाँचखाललाई नेपालकै उत्कृष्ट नगरपालिका बनाउने प्रयास भइरहेको छ : महेश खरेल

खेतीयोग्य जमिन बचाउने काममा पाँचखाल नगर

logo
युवराज गौतम
प्रकाशित २०७७ फागुन १३ बिहिबार
Mahesh_Kharel.jpg

काठमाडौं । काभ्रेपलान्चोकको पाँचखाल नगरपालिका कृषिका लागि उर्वर भूमी हो । काठमाडौं उपत्यकालगायत आसपासका जिल्लामा पाँचखालको आलु निकै लोकप्रिय छ । कृषि पर्यटन र धार्मिक पर्यटनको गन्तब्य मानिने पाँचखालमा पलाञ्चोक भगवतीको र दुग्धेश्वर मन्दिर चर्चित शक्तिपीठहरु हुन् । प्रशस्त कृषियोग्य जमिन रहेको पाँचखाल जिल्लाकै दोस्रो ठूलो नगरका रुपमा परिचित छ ।

भारत र अमेरिकामा अध्ययन सकाएर नेपालमै फर्कि राजनीति साथै सामाजिक कार्यमा खारिएका महेश खरेल यतिबेला पाँचखाललाई नमूना नगरका रुपमा विकास गर्ने अभियानमा जुटेका छन् । उद्यमशील सोच र सामाजिक भावनाका कारण नगर प्रमुखका रुपमा निर्वाचित भएपछि महेशले विगत तीन बर्षमा नगरभित्र सबै क्षेत्रमा आमूल परिवर्तन ल्याएको दाबी गर्छन् ।

‘नगरभित्र जे समस्या खडकिएको छ, त्यसलाई प्राथमिकतामा राखेर काम अघि बढाउँदा सबैको साथ र सहयोग पाएका छौं, जसका कारण नगरपालिका उत्कृष्ट बनिरहेको छ’ उनी भन्छन्,‘ हामी सेवक हौं, शासक होइनौं भन्ने भावनाका साथ काम गर्दा सफलता मिल्ने रहेछ ।’

वितेको तीन बर्षमध्ये पहिलो बर्ष संघीयता र स्थानीय तहबारे बुझ्नका लागि समय खर्चिनु परेको महेशको अनुभव छ । ‘पहिलो बर्ष त विकास निर्माणका काम भन्दापनि ऐन, कानुन निर्माण र परिमार्जनमा वित्यो,’ उनी भन्छन्,‘केन्द्र, प्रदेश र स्थानीय तहसम्मका कानुनहरुमा देखिएको अब्यवहारिकता, स्रोत र साधनको बाँडफाँडमा देखिएको भिन्नतालाई चिरेर अघि बढ्न निकै चुनौतिहरुको सामना गर्नुपर्‍यो ।’ दोस्रो बर्षबाट महत्वकांक्षी र जनमुखी कामहरुको योजना तयार गरेर अघि बढ्दा गाउँको विकासमा धेरै परिवर्तन ल्याउन पाएकोमा उनी दंग छन् । विभिन्न पृथक योजना र आधुनिक अवधारणा अनुसार उनले नगरको विकासमा फड्को मारेका छन् ।

एक घर, एक धारा योजना

खानेपानी मात्र होइन सिंचाइका लागि पानीको अभाव झेलिरहेको पाँचखालमा सुनकोशी बृहत खानेपानी आयोजना ठूलो परियोजनाका रुपमा स्थापित छ । नगर विकास कोषको सहायतामा एशियाली बिकास बैंक(एडिबी)को साँढे दुई अर्ब रुपैंयाँको लागतमा एक घर एक धारा योजना अन्तिम चरणमा छ ।

महेश भन्छन्, ‘यो योजना ११ वटा वडाका प्रत्येक घरमा खानेपानी पुर्‍याउने लक्ष्यसहित अघि बढेको छ, सबै वडामा एडिबीको बजेटले नभ्याउने भएकाले अन्य दुईवटा वडामा मेयर क्लब खडा गरी सात करोडको बेग्लै योजना पनि तयार गरेर काम गरिरहेका छौं ।’ केही महिनाभित्र नगरभित्रका सबै घरका धाराबाट खानेपानी झर्नेछ ।

खेतीयोग्य जग्गा बचाउ  

पाँचखालका अधिकांश ठाउँहरु समथर फाँट भएको खेतीयोग्य जमिनले भरिएको नगर हो । नगर प्रमुख महेशले यहाँका खेतीयोग्य र उब्जाउ हुने जग्गालाई सुरक्षित राख्ने नौलो अभियान थालेका छन् । जसका कारण यहाँ व्यवसायिक रुपमा गरिने जग्गा प्लटिङको काम रोकिएको छ ।

डाँडा,पाखा, डिल रहेका स्थानमा मात्र घर बनाउन पाउने योजना पाँचखालको भिन्न योजना हो । जसका कारण खेतीयोग्य जग्गा मास्नेक्रम रोकिएको छ । ‘यसका लागि हामीले पाँचवटा मापदण्ड तयार गरेका छौं, समिति निर्माण गरेका छौं सोही समितिको सिफारिसमा मात्र घर निर्माण अनुमति दिने गरेका छौं, जसका कारण खेतीयोग्य जमिन मास्न रोकिएको छ’,उनले भने ।

तर डाँडा, डिल र पाखामा भएका जमिनमा घर बनाउन र बस्ती बसाउन चक्रपथ निर्माण अघि बढाइएको उनले बताए ।  सुविधा सम्पन्न बस्ती बसाउने अभियान शुरु भएको छ । त्यसवाहेक प्रत्येक वडामा कालोपत्रे सडक निर्माण भइसकेको छ । प्रत्येक घरमा सेफ्टी ट्यांकी राख्ने योजना अनुरुप ढललेस पाँचखाल योजना पनि अघि बढेको छ । सिंचाइका लागि डिपिआर पहिल्यै तयार भएकाले इन्द्रावती र झिकु खोलाको पानी ल्याउन कामहरु भइरहेको छ ।

गाडी चढ्ने जनप्रतिनिधि पैसा स्वास्थ्यमा

पाँचखाल नगरका सबै वडाका जनप्रतिनिधि र नगरपालिकाका प्रमुख र उपप्रमुखले आफ्नो सवारी साधन खरिदमा लाग्ने खर्च स्वास्थ्य क्षेत्रमा खर्चेर नौलो कामको सुरुवात गरेका छन् । प्रत्येक वडामा शहरी स्वास्थ्य केन्द खोलिएको छ । जनप्रतिनिधिका लागि सवारी साधन खरिदका लागि विनियोजित बजेटलाई एम्बुलेन्स र दमकल खरिदमा खर्च गरेर नौलो सन्देश दिन खोजेको नगरप्रमुख महेश खरेल बताउँछन् ।

स्वास्थ्य क्षेत्रमा महेशको नेतृत्वमा संचालन भएका योजनाहरुको फेहरिस्त लामो छ । कोरोना महामारीका बेला निःशुल्क एम्बुलेन्स सेवा, भएका स्वास्थ्य केन्द्रहरुमा सेवा सुविधा विस्तार, गर्भवती महिलाहरुको अल्ट्रासाउन्ड, जेष्ठ नागरिकहरुलाई स्वास्थ्य जाँच, मोतियाविन्दु मुक्त पाँचखाल अभियान र प्रत्येक बर्ष आँखाको निःशुल्क शल्यक्रियालगायतका अभियानहरु गाउँगाउँमा संचालित छन्।

आकर्षक धार्मिक स्थल

पाँचखालका चर्चित शक्तिपीठहरु यतिबेला सुविधा सम्पन्न भएका छन् । दर्शन गर्न पुग्ने भक्तजनहरुका लागि हाल निर्माण गरिएको भौतिक निर्माणले सहज बनाइदिएको छ । पलाल्चोक भगवती र कालीदेवी मन्दिर पुनःनिर्माण सकिएको छ । पलान्चोक आसपासका ६० वटा घरमा ढुंगा छापेर मौलिकता जोगाइएको छ । निजी जग्गामा गरिने सवारी साधन पार्किङलाई चन्दा उठाएरै भएपनि मन्दिरको मातहतमा ल्याइसकेको नगर प्रमुखको भनाइ छ ।

पलान्चोक भगवती, दुग्धेश्वर महादेव, कोटदेवी थाना, देवीशक्ती पिठ, धनलक्ष्मी देवी मन्दिरसम्म कालोपत्रे गर्नेदेखि पार्क निर्माण साथै रिचार्जएवल पोखरी बनाउने अभियानमा अहिले पनि चलिरहेको छ ।

अर्गानिक जोन पाँचखाल

पाँचखालमा उत्पादित कृषिजन्य बस्तु अधिक विषाधियुक्त भएको चर्चा भएपछि नगरपालिकाले त्यसलाई चिर्ने काम गरेको नगरप्रमुख खरेलको दाबी छ । उनका अनुसार पाँचखालको आलुलगायत कृषिजन्य बस्तुलाई अर्यानिक बनाउने अभियान सुरु भइसकेको छ । कृषिजन्य उत्पादनमा बढी विषादी प्रयोग भएको हल्लालाई तोड्न कालीमाटी तरकारी बजार केन्द्र र जिल्ला कृषी जाँच केन्द्रमा जाँच गरेर गलत हल्लालाई रोक्न सफल भएको खरेल बताउँछन् ।

जापानी संस्था जाइकाको सहयोगमा ६ सय जना अगुवा कृषकलाई तालिम दिएर कषिजन्य उत्पादनलाई विषादीमुक्त बनाउने अभियान चलाइएको छ । पाँचखालका कृषि बालीलाई घरेलु माध्यम वा स्थानीय जडिबुटी र झारपातबाट बनाइएको औषधिको प्रयोग गरी वालीलाई अर्गानिक बनाउन कृषकहरुलाई प्रेरित गरिएको छ । घरेलु औषधि वा जडीबुटीका माध्यमबाट किटाणु मार्ने विधि अपनाइएको छ । अर्गानिकका लागि आइपीएम तालिम, पकेट क्षेत्र निर्धारण, माटो परीक्षण, माटो अनुसार वाली लगाउने तौरतरिका सिकाउने काममा नगरपालिकाले अगुवाइ गरेको छ ।

कृषिलाई आधुनिकीकरण, यान्त्रिकरण, व्यवसायिकरण र बजारीकरण गर्ने कार्यक्रम पनि नगर प्रमुख खरेलले अघि सारेका छन् ।उनी भन्छन्, ‘पहिले म कृषि यान्त्रिकरणको कुरा जोड्न चाहन्छु । यसमा हामीले हाते ट्याक्टर वितरणको काम गरेका थियौँ यसमा पनि विशेष गरी अहिले ठूला ट्याक्टरका कुरामा हामी कसरी वितरण गर्न सकिन्छ भनेर लागेका छौँ । यो कार्यक्रमबाट लगभग ५ सय किसान लाभान्वित हुनु भएको छ ।’

यसैगरी पिछडिएका वर्गको लागि पशुपंक्षीका कार्यक्रम अगाडि बढाइएको छ । यसमा विभिन्न संघसंस्थाको सहयोगमा छ । जस्तै बाख्रापालन तथा पाडापाडी वितरणका कामहरू, मौरी पालनका कामहरु अघि बढेका छन् ।  विभिन्न ठाउँलाई पकेट क्षेत्रको रूपमा विकास गर्ने भनेर अर्को काम अघ बढेको खरेल बताउँछन्  ।

उनी भन्छन्, ‘तर यो व्यवसायिकरणका कार्यक्रम ल्याइरहँदा बजारीकरणका कामहरू गर्न चाहीँ अलि समस्या नै हुने रहेछ तर यहाँ उत्पादन भएका तरकारीलाई टाढा टाढासम्म पुर्‍याउनको लागि हामी लागि परेका छौँ । अहिले किसानहरूलाई मलको अत्याधिक समस्या परेको कारण हामी यसको समधानतर्फ लागेका छौँ । यो बर्ष देखि कृषकसँग मेयर कार्यक्रम सञ्चालन गर्दैछौं । यस अन्तर्गत सबै वडामा पुगेर कृषकका समस्याका विषयमा अन्तरक्रिया गर्छौं ।’

नगरपालिकाभित्र १ सय ८ स्थानमा पोखरी बनाउने योजना पनि अघि बढेको छ । कतिपय पोखरी बनिसकेका पनि छन् । अहिले पनि दुलालथोकमा १२ लाख पानी रिचार्ज हुनेगरी पोखरी निर्माणको काम अन्तिम चरणमा पुगेको छ। झिंगु खोलामा ड्याम बाँध्ने र त्यहाँको पानीलाई कृषिमा कसरी सदुपयोग गर्ने भनेर डिपिआर तयार भएको छ। खानेपानी र कृषिलाई ध्यान दिएर काम भइरहेको छ।

गाउँ गाउँमा रोजगारी

विदेश जाने युवाहरुलाई विदेश जान साथै युवा पलायन रोक्न नगरपालिकाले रोजगारमुखी अभियानहरु पनि संचालनमा ल्याइएको छ । स्थानीय तीन हजार युवालाई रोजगारी दिनेगरी परिस्थिति निर्माण गर्ने, अवधारणा बनाउने कामहरु भइरहेको नगरप्रमुख खरेल बताउँछन् ।

‘हामी गाउँका युवालाई गाउँमै रोजगारी दिने, गाउँमै आत्मनिर्भर बनाउने र पलायन रोक्ने प्रयासमा छौं, उनले भने,‘यसका लागि गाउँमा लगानीकर्ता आकर्षित गर्ने साथै नीति तथा कानुनहरु निर्माण गर्ने काम भइरहेको छ ।’

गाउँमा भेटनेरी, होटल, रेष्टुरेन्ट, साना तिना उद्योग खुल्नेक्रम शुरु भइसकेको छ । हरित महिला औद्योगिक ग्रामका लागि एकसय रोपनी जग्गा दिएर नगरले डिपीआर तयारी गरिरहेको छ । जहाँ १४ वटा उद्योगहरु संचालनमा ल्याउने तयारी छ । तत्कालीन प्रधानमन्त्री डा.बाबुराम भट्टराईको पालामा घोषणा भएको विशेष आर्थिक क्षेत्र अन्तर्गत पर्ने क्षेत्रमा एक हजार रोपनी जग्गा उपलब्ध गराइ ४४ वटा उद्योगमा चार हजार युवालाई रोजगारी दिनेगरी कामहरु अघि बढाइएको छ ।

शैक्षिक गन्तब्यका लागि विश्वविद्यालय

कोरोना भाइरसको महामारी फैलिएर लकडाउन भएपछि ठप्पप्राय बनेको शैक्षिक क्षेत्र विस्तारै उठ्न थालेको छ । तर पाँचखाल नगरले विद्यालय क्यालेन्डर बनाएर कोरोना भाइरसकै बेला पनि मापदण्ड अपनाएर विद्यालय संचालनमा ल्याएको थियो । पहिलो पटक रेडियो र सामाजिक संजालमार्फ पढाउन सुरु गरेको थियो । विद्यालयहरुमा जनशक्ति थप्न दरबन्दी थपेर पनि शैक्षिक गतिविधीलाई निरन्तरता दिएको नगर प्रमुख खरेल बताउँछन् ।

तर अब पाँचखालमा विश्वविद्यालय स्थापना हुने भएको छ । अनेकोटको टाँकेमा काठमाडौं विश्वविद्यालयका लागि पाँचसय रोपनी जग्गा नगरपालिकाले उपलब्ध गराएर विश्वविद्यालय निर्माण प्रक्रिया अघि बढाइएको छ । विश्वविद्यालयका विभिन्न विभागहरु त्यहाँ राखिने तयारी भएको छ ।

महेशको मेहेनत

काभ्रे कांग्रेसका पुराना नेता राजेन्द्र खरेलका छोरा महेश बीपी कोइराला र कृष्णप्रसाद भट्टराईको आफूलाई अनुयायी ठान्छन् । वीपी र किसुनजीको सोच, लक्ष्य र विचारलाई गाउँको विकासमा लगाउन आफू उत्प्रेरित भएको सुनाउँछन् ।

अमेरिका रहँदा जनसम्पर्क समिति हुँदै नेपालमा तरुण दल केन्द्रिय सदस्य र कांग्रेस क्षेत्रीय सभापति समेत भइसकेका उनी विदेश वा शहरमा रहेका युवाहरुलाई गाउँ नै फर्किन सुझाव दिन्छन् । भ्रष्टाचारमुक्त राजनीति, दिगो सोच र युग सुहाउँदो अवधारणामा काम गर्न रुचाउने महेश आफ्नो कार्यकाल सकिंदासम्म नगरलाई नेपालकै उत्कृष्ट बनाउने अभियानमा छन् ।

आफ्नो नगरमा एकीकृत कर प्रणाली लागू गर्दै कर बढाउने भन्दा पनि करको दायरा फराकिलो बनाउने सोचका साथ काम गरिरहेको उनी सुनाउँछन् । सिमित स्रोत, साधन र घाटा बजेटमा नगरमा काम गरिरहेको उनी बताउँछन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ