arrow

मकवानपुरको खैराङमा घुम्ती शिविर, ३ सय २७ जनाले लिए स्वास्थ्य सेवा

logo
रबिन्द्र गौतम,
प्रकाशित २०७७ फागुन १३ बिहिबार
Health-camp-hetauda.jpg

हेटौंडा। मकवानपुरको राक्सिराङ गाउँपालिकाले वडा नम्बर ९ स्थित डन्टारमा गरेको निःशुल्क घुम्ती स्वास्थ्य शिविरमा ३ सय २७ जनाले स्वास्थ्य सेवा लिएका छन् । प्रत्येक वडामा स्वास्थ्य शिविर तथा अपाङ्गता परिचयपत्र र सहायक सामाग्री वितरण गरिरहेका गाउँपालिकाले मङ्गलवार खैराङस्थित डन्टारमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको हो । 

शिविरमा २० जनाको रक्तचाप जाँच, १० जनाको निमोनिया जाँच, ६२ जनाको छाला रोगको जाँच, ८७ जनाको पाठेघर जाँच, ८ जनालाई इम्प्लान्ट र १४ जनालाई आइयुसिडी सेवा दिइएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख विजय कापरीले जानकारी दिए । २ जना अपाङ्गलाई अपाङ्ग परिचयपत्र वितरण गरिएको थियो भने एक जना अपाङ्गलाई ह्विलचियर सहयोग गरिएको थियो ।

 गाउँपालिकाका डाक्टर धनबहादुर खत्रीसहित हेटौंडा र चितवनको स्वास्थ्यकर्मीको टोलीले विकट गाउँमा गएर निःशुल्क स्वास्थ्य सेवा प्रदान गरेको हो । शिविरमा स्वास्थ्य जाँच गर्नेलाई गाउँपालिकाले निःशुल्क औषधिसमेत वितरण गरेको थियो । जटिल बिरामी देखिएकाहरूलाई गाउँपालिकाले नै खर्चको व्यवस्थापन गरी अन्यत्र उपचार गर्न पठाउने व्यवस्थासमेत गरिएको गाउँपालिका अध्यक्ष राजकुमार मल्लले बताए ।

 शिविरमा पाठेघर जाँच, यौन रोग उपचार, ब्लड प्रेसर, सुगर तथा खकार परीक्षणलगायतको सेवा उपलब्ध गराइएको थियो । परिवार नियोजन सेवाअन्तर्गत आइयुसिडी इम्प्लान्टसमेत वितरण गरिएको थियो । अपाङ्गता भएकाहरूलाई गाउँमै पुगेर अपाङ्गता परिचयपत्र वितरण गरिएको साथै सहायक सामाग्रीसमेत वितरण गरिएको गाउँपालिकाका सामाजिक विकास शाखाका प्रमुख गोविन्द अधिकारीले जानकारी दिए । 

गाउँपालिकाले गत फागुन ६ गतेबाट प्रत्येक वडामा निःशुल्क स्वास्थ्य शिविर सुरु गरेको हो । ६ गते वडा नम्बर १ मा शिविर सञ्चालन गरिएको थियो भने ८ गते प्रजापति निमावि कुँडुलेमा शिविर सञ्चालन गरिएको थियो ।

१० गते सूर्योदय मावि पँलासेमा शिविर सञ्चालन गरिएकोमा मङ्गलवार खैराङ स्वास्थ्य चौकी डन्टारमा सेवा दिइएको थियो । ४ नम्बर वडा कार्यालय र स्वास्थ्य संंस्थामा १३ गते, सिलिङ्गे मावि काँकडामा २० गते, आधारभूत विद्यालय दाम्राङमा २१ ग्ते, देविटार विद्यालयमा २३ गते र चैनपुर स्वास्थ्य चौकीमा २५ गते शिविर राखिएको गाउँपालिका स्वास्थ्य संयोजक कापरीले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ