arrow

'डोरमणि'लाई 'मुनु सिग्देल'को कटाक्ष : हेटौंडाको सडक साँघुरो पार्नेलाई चिन्न जरुरी छ !

logo
रबिन्द्र गौतम,
प्रकाशित २०७७ फागुन १३ बिहिबार
Dormani-munu-hetauda.jpg

हेटौंडा । प्रचण्ड-नेपाल समूहकी नेकपा मकवानपुरकी अध्यक्ष मुनु सिग्देलले बाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई कटाक्ष गर्दै हेटौंडाका सडक साँघुरो बनाउनेलाई सबैले चिन्नुपर्ने बताएकी छिन् ।

प्रचण्ड-नेपाल समूहले आज गरेको विजय जुलुस पछिको सभालाई सम्बोधन गर्नेक्रममा उनले ६२/६३ को जना आन्दोलनमा देखिएका लोकतन्त्र र गणतन्त्रका रक्षक हुँ भन्ने मकवानपुरका नेता आज कता गए ? भनी प्रश्न गरिन् ।

उनले भनिन् ' आज हामी यो चोकमा बसेर बोलिरहँदा हामीलाई यो सडक साँघुरो भएको छ, मकवानपुरको विकास अवरुद्ध बनाउने र यो सडक साँघुरो पार्नेलाई अब हामीले चिन्न जरुरी छ' ।

केही वर्ष यता पूर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौँडा बजारको मुख्य सडकको दायाँबायाँ २५ मिटर सडक फराकिलो पार्ने काममा मुख्यमन्त्रीले आफ्नो घर जोगाउनको लागि सडक बिस्तारमा असहयोग गरेको आरोप लाग्दै आएको  छ आजको सभामा नेकपा मकवानपुर अध्यक्ष सिग्देलले त्यही कुरालाई इंगित गर्दै आफ्ना कुरा साँघुरा सडकसंग जोडिन् ।

अदालतमा विभिन्न मुद्दा परेको र राजनीतिक दबाबको कारण बर्षौदेखि २५/२५ मिटर सडक बिस्तार कार्य हेटौँडा बजारमा आइपुगेर रोकिएको छ 

सिग्देलले जनताले ५ बर्षको लागि काम गर्ने समय दिएर पठाएका जनप्रतिनिधिलाई घर पठाउदा हरेक नागरिकलाई पिडा भएको तर सर्वोच्चले सत्य र न्यायको पक्षमा फैसला गरेको उनले बताइन् ।

उनले केपी ओलीले जनताको मतको अपमान गरेको भन्दै कोही केपी ओलीको सनकमा सँगसँगै सहिद हुन चाहन्छन् भने त्यस्तालाई छोड्दिनु पर्ने बताइन् ।

सिग्देलले सर्वोच्चको फैसलाले सत्यको र नेपाली जनताको जित भएको बताइन् । “केपी ओलीले जनताको रगत पसिना बगाएर ल्याएको लोकतन्त्र गणतन्त्र धरापमा पार्न खोजेका थिए तर सर्वोच्चले सत्यको जित हुन्छ भन्ने प्रमाणित गर्‍यो”, सिग्देलले भनिन् ।

कार्यक्रममा प्रदेशसभा सदस्य प्रेम बहादुर पुलामी, कुमारी मोक्तानलगायत नेता कार्यकर्ताको बाक्लो उपस्थिति रहेको थियो । प्रतिनिधिसभा विघटनको निर्णयलाई सर्वोच्च अदालतले बदर गरेसँगै नेकपाको प्रचण्ड–नेपाल समूहले मकवानपुरको हेटौंडामा विजय जुलुस तथा सन्देश सभा गरेको हो ।

हेटौंडाको भुटनदेवी  चौरबाट निस्किएको विजय जुलुस स्कुल रोड हुँदै, मानस चोक, चौकी टोल ओरालो हुँदै सीमा चोकमा आएर कोणसभा गरिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ