arrow

शक्तिशाली बन्दै देउवा, नेकपाका दुवै समूहलाई कांग्रेसकै भर

'नेकपा विभाजन नै नभएकाले कुन पक्षसँग मिल्ने भन्ने प्रश्न नै जायज  छैन'

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ फागुन १३ बिहिबार
deuba-congress1.jpg

काठमाडौं। सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटनको निर्णयलाई बदर गरेसँगै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस नयाँ राजनीतिक कोर्षमा फेरी एक पटक शक्तिशाली देखिएको छ । २०७४ सालमा सम्पन्न प्रतिनिधि सभापछि देशको राजनीतिमा पार्टीलाई दोस्रो वरियतामा पुर्‍याएको आरोप खेपेका कांग्रेस सभापति शेरबहादुर देउवा विकसित घटनाक्रममा शक्तिशाली बनेका छन् । 

हाल नेपाल कम्युनिष्ट पार्टी भित्रको केपी ओली समूह र पुष्पकमल दाहाल तथा माधवकुमार नेपालको समूह देशको राजनीतिलाई अघि बढाउन कांग्रेसको साथ खोजिरहेका छन् । यतिसम्म की नेकपाका दुवै पक्ष विगतका निर्वाचनबाट प्राप्त परिणामपछि कांग्रेस कहाँ छ भनेर खोज्नु पर्ने अवस्था आएको भन्दै हिँडेका थिए । 

अबको राजनीतिक कोर्ष अनुसार संसद् सुचारु भएसँगै सरकार गठनको प्रक्रियासमेत सुरु हुने छ । सर्वोच्च अदालतले संसद् पुनर्स्थापनाको निर्णय गर्दा नै २४ फागुन भित्र संसद् बैठक आह्वान गर्न आदेश दिइसकेको छ । 

संसद् बैठक सुरु भएर प्रधानमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि प्रक्रिया अघि बढ्दा कांग्रेस अविश्वासको प्रस्तावमा वा विपक्षमा कता खुल्ने भन्ने चासो बढ्दो छ । हाल नेकपाको ओली समूह र प्रचण्ड-नेपाल दुवै समूह नयाँ सत्ता समीकरणका लागि कांग्रेसको साथ खोजिरहेका छन् । नयाँ कोर्ष अनुसार अहिले कांग्रेस जता खुल्यो उसकै सरकार बन्ने अवस्था देखिएको छ । 

प्रतिनिधि सभा तर्फ कूल २७५ सांसद छन् । जसमा कांग्रेसतर्फ ६३ र नेकपाका १७४ सांसद छन् । त्यसमध्ये नेकपाका सांसदको निधन भएको छ । नेकपाका बाँकी १७३ सिट मध्ये प्रचण्ड—नेपाल समूहतर्फ ८७ सांसद रहेको दाबी गरिएको छ भने प्रधानमन्त्रीसमेत रहेका ओली समूहतर्फ ८३ जना रहेको भनिएको छ । नेकपा भित्र तीन जना सांसद भने कतै पनि खुलेका छैनन् । नखुलेकासमेत प्रचण्ड—माधव पक्षमा नै जान सक्ने सम्भावना छ । 

संसद्बाट नयाँ सरकार गठनका लागि १३८ सिट आवश्यक पर्ने देखिन्छ । घटनाक्रमअघि बढ्दै जाँदा त्यो संख्या जसले पुर्‍यायो उसकै सरकार बन्छ । यो संख्या नेकपाका कुनै पनि एक समूहले कांग्रेसको साथ बिना पुर्‍याउन सम्भव देखिएको छैन । यो अवस्थालाईसमेत ख्याल गर्दै नेकपाका दुवै समूहले कांग्रेस नेतृत्वसँगको निकटता बढाउन खोजिरहेका छन । 

यसै गरी संसद्मा ३८ सिट स्वतन्त्र र अन्य दलको सांसद छन् । जसमा जनता समाजवादी पार्टीको ३४, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी र स्वतन्त्रका एक—एक गरी चार सांसद छन् । यसरी हेर्दा अबको सरकार गठन प्रक्रियामा कांग्रेस नै निर्णायक देखिएको छ ।

प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष ओलीले सो विषयमा कांग्रेस सभापति शेरबहादुर देउवासँग संवादका लागि निकटका नेताहरूलाई खटाइसकेका छन् भने उनले आफैंलेसमेत टेलिफोनमार्फत कुरा गरिसकेको स्रोत बताउँछ । 

यसै गरी नेकपाको अर्को समूहको नेतृत्व गरेका प्रचण्ड—नेपाल आफैं बुधवार कांग्रेस सभापतिलाई भेट्न उनको निवास बुढानीलकण्ठ पुगेका थिए । 

देउवासँगको भेटमा नेकपाका अध्यक्षद्वयले देउवा समक्ष प्रधानमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव अघि बढाउने र प्रस्तावका पक्षमा र सत्ता सहकार्यमा साथ दिन आग्रहसमेत गरेका थिए । तर देउवाले भने पार्टी भित्र छलफल गर्ने र निर्णय दिने भनेका छन् । 

कांग्रेस भित्र ‘नेकपाको विवादबारे छिनोफानो हुनुपर्‍यो र अविश्वास प्रस्ताव कसरी आउँछ हेर्नुपर्‍यो’ भन्ने मत पनि अघि बढेको छ । नेकपा वैधानिक रूपमा एकै भएकाले कांग्रेसले यही अवस्थामा निर्णय लिन पनि सहज छैन । 

कांग्रेस सह महामन्त्री डा. प्रकाशसरण महतले नेकपा विभाजन नै नभएकाले कुन पक्षसँग मिल्ने भन्ने प्रश्न नै जायज नभएको बत्ताउँछन् । 

‘अहिलेसम्म नेकपा को कुन शक्तिसँग सहकार्य गर्ने भन्ने विषयमा कांग्रेस प्रवेश नै गरेको छैन, वैधानिक रूपमा उनीहरू एउटै छन्, अहिले नै स्थिति परिपक्व भइसकेको छैन,’ सह महामन्त्री महतले भने ।  

कांग्रेसले संसद् पुनर्स्थापनापछिको राजनीतिक अवस्थाका विषयमा छलफल गर्न बिहीबार(आज) दिउसोका लागि पदाधिकारी तथा पूर्व पदाधिकारीहरूको बैठकसमेत बोलाएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ