arrow

विष्णु पौडेल र बर्षमान पुनबीच भेट, ओलीलाई छोडेर आउनेहरुको लिष्ट बनाउँदै प्रचण्ड-नेपाल

logo
प्रकाशित २०७७ फागुन १३ बिहिबार
prachanda-madhavs.jpg

काठमाडौं । सर्वोच्च अदालतले संसद पुनर्स्थापना गरेपछि राजनीतिक रुपमा विभाजित भएको नेकपाका नेताहरुले पार्टी एकताको विषयमा विभिन्न धारणाहरु सार्वजनिक गरेका छन् ।

प्रचण्ड-नेपाल र ओली पक्षका नेताहरुले अनुकुलतमा आफ्ना धारणा सार्वजनिक गरिरहँदा दुवै समूहबीच एकताको संभावना छ त भन्ने प्रश्न र कौतुहलता सिर्जना भएको छ । बुधबार विहानै माधव नेपाल समूहका भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई सच्याउन चाहे सबैभन्दा उत्तम समय आएको बताएका थिए ।

उनले सार्वजनिक रुपमै प्रधानमन्त्री ओलीले आत्मालोचना गरे माफी दिन सकिने धारणा व्यक्त गरेका थिए । त्यसअघि प्रचण्ड नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले पार्टीका सबै सदस्यहरुलाई मूलधारमा फर्केर पार्टीको जिम्मेवारी लिन आग्रह गरिसकेका थिए । दुवै नेताहरुको भनाई सार्वजनिक भैसकेपछि बुधबार दिउसो बसेको स्थायी कमिटी बैठकले प्रधानमन्त्री ओलीले आत्मालोचना गरे माफी दिन सकिने भन्दै पार्टी एकताको संभावना नसकिएको जनाएको थियो ।

सो समूहको स्थायी कमिटी बैठकले सर्वोच्च अदालतको निर्णय ऐतिहासिक भएको जनाउँदै ओलीलाई अदालतले नै सजाय दिएकाले माफी मागेर प्रधानमन्त्री पदबाट राजिनामा दिई पार्टीको जिम्मेवारीमा फर्कन चाहे क्षमा दिने जनाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले गरेको गल्ती स्वीकार गरेर आत्मालोचना गरेर क्षमा माग्ने स्थितिमा पार्टी एकताको सम्भावना अझै रहेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकपछि बताएका थिए । आफूहरु हिजो पनि पार्टी एकताको पक्षमा रहेको र आज पनि पार्टी एकताकै पक्षमा रहेको बताउँदै प्रवक्ता श्रेष्ठले पार्टी र देशलाई दुर्घटनाको स्थितिमा पुर्याउने काम ओलीले नै गरेको बताए ।

भ्रमपूर्ण ढंगबाट प्रतिगामी गुटमा लागेकाहरुलाई आ-आफ्नो जिम्मेवारीमा फर्कन आग्रह गर्दै उनले सर्वोच्चको फैसला कार्यान्वयनका लागि सबैले सहयोग गर्न आग्रह गरे । त्यस्तै सर्वोच्चका फैसला आउनासाथ प्रधानमन्त्रीका राजीनामा माग गरिएपनि अहिलेसम्म नदिएको भन्दै राजिनामाको माग गरे । ‘फैसला आउनेबित्तिकै हामीले प्रधानमन्त्रीले राजीनामा दिन भनेका छौं । अहिलेसम्म राजीनामा आएको छैन । प्रतिनिधि सभाको बैठकबाट संविधान अनुसार प्रक्रियाको बारेमा छलफल हुनेछ,’ उनले भने

पेरिसडाडामा स्थायी कमिटीको बैठक सकिएपछि वर्षमान पुन भने अर्थमन्त्रालय पुगेर अर्थमन्त्री विष्णु पौडेलसँग एक घण्टा छलफल गरेर फर्केका थिए । स्रोतका अनुसार अर्थमन्त्री पौडेल र प्रचण्ड नेपाल समूहका स्थायी कमिटी सदस्य पुनबीचको भेटघाटलाई गोप्य राखिएको छ ।

अर्थमन्त्री पौडेल र पुनबीच भेटघाट सकिएपछि प्रचण्ड, नेपाल र पुनवीच भेटघाट भएको थियो । अर्थमन्त्री पौडेल पार्टी एकतालाई जीवित राख्नुपर्छ भन्ने लाइनमा भएपनि उनले अन्तिम समयमा आएर ओलीलाई साथ दिएका थिए । स्रोतका अनुसार वर्षमान पुनले अर्थमन्त्रीलाई आफ्नो कित्ता आउन वा प्रधानमन्त्री ओलीलाई माफी मगाएर पार्टी एकतालाई जीवित राख्न सकिने उपाएको खोजी गर्न सकिने विषयमा छलफल भएको थियो ।

पौडेलसँगको कुराकानीको विषयमा पुनले दुई अध्यक्षलाई रिपोर्टिङ गरेपछि मात्रै सिंहदरवारमा सो समूहको संसदीय दलको बैठक बसेको थियो । बैठकमा माधवकुमार नेपालले ओली समूहमा रहेका सांसदहरु आफ्नो समूहमा आउन लागेको जानकारी गराएका थिए । उनले को को सांसदहरु आउछन् भन्ने बारेमा केही नखुलाएपनि केही सांसदहरु आउन लागेको बताएका थिए । उहाँहरु आफ्नो समूहमा आएपछि पूर्वाग्रह र मानसम्मानमा कुनै कमि नहुने बताएका थिए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ