arrow

फेरि बढ्यो चिनियाँ राजदूतको दौडधूप, नेकपा एक बनाउने प्रयास

logo
प्रकाशित २०७७ फागुन १४ शुक्रबार
hou-yanqi1.jpg

काठमाडौं । प्रतिनिधि सभा पुनःस्थापना भएपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले संक्रमणकालीन समयमा आफूलाई अध्यक्ष दिए समस्या समाधन गर्ने बताएकै दिन चिनियाँ राजदूत हाउ यान्छीले प्रधानमन्त्री केपी शर्मा ओली निकट नेताहरुसँग भेटघाट गरेकी छिन् । 

पार्टी एकता अभियान चलाएका गौतमले बिहीबार बिहान खुमलटारमा पुगेर ओलीको सम्मानजनक बर्हिगमन गर्दै नेकपाबाटै प्रधानमन्त्री बनाउनु पर्ने बताएकै समयमा यान्छीले ओली समूहका नेताहरुसँग भेटघाट गरेकी हुन् । 

बिहीबार उनले प्रधानमन्त्री ओलीसँग भेटघाटको समय मागेकी थिइन् तर ओली आफू निकटका नेताहरुसँग भेटघाट र छलफलमा व्यस्त रहेका कारण समय नदिएपछि गृहमन्त्री रामबहादुर थापा बादल लगायतका नेताहरुसँग भेटघाट गरेको उच्च सुरक्षा स्रोतले जनाएको छ । 

मन्त्रालयमै पुगेर राजदूत यान्छीले गृहमन्त्री बादलसँग एकघण्टा कुराकानी गरेकी थिइन् । बादललाई भेट्नुअघि यान्छीले नेकपा स्थायी कमिटीका दुई सदस्यलाई भेटेकी थिइन् ।

चिनियाँहरुकै पहलमा गौतम पार्टी एकता पहलका लागि बाहिर बसेको आशंका गरिरहेका बेला बिहीबार यान्छी र गौतमको दौडधूपलाई सामान्य मान्न नसकिने नेकपा ओली समूहका एक नेताले बताए । 

गौतमले बिहीबार बिहान एकीकृत पार्टीको अध्यक्ष दाबी गरेका थिए । बिहीबार बिहान खुमलटार पुगेर पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका गौतमले पार्टी एकीकरण अभियान सफल पारौं भन्दै दुवै अध्यक्ष अस्वीकार्य हुने भए आफू संक्रमणकालको अध्यक्ष भएर नेकपाको महाधिवेशन गराउने प्रस्ताव गरेका थिए । 

प्रधानमन्त्री ओलीलाई सम्मानजनक बिदाई गर्दै नेकपाकै सरकार बनाउन प्रयास गरौं भन्ने प्रस्ताव पनि नेता गौतमको थियो । बिहीबार बिहान खुमलटार पुगेका गौतमले यो बहुमत नेकपाकै लागि आएकाले अबको प्रधानमन्त्री पनि नेकपाकै बनाउने र अहिले भएका अध्यक्षहरुलाई हटाएर संक्रमणकालीन अध्यक्ष आफूलाई बनाए महाधिवेशन गराएर बिदा हुने जनाएका थिए । 

गौतमकै भाषामा यान्छीले पार्टी एकताका लागि नेताहरुले पहल गरेर पार्टी नेताहरु सम्मानजनक ठाउँ लिएर बस्नुपर्ने र त्यसका लागि चिनियाँ कम्युनिष्ट पार्टीले के कस्तो सहयोग गर्नुपर्ने हो त्यो सहयोग गर्न तयार रहेको बताएकी थिइन् । 

संसद पुनःस्थापना भए पनि गौतमले प्रधानमन्त्री ओलीको राजीनामा माग्दै पार्टी एकताका लागि आफू लागिरहने बताएका थिए । पुस ५ गते संसद विघठन भएपछि कुनै पनि समूहमा नलागेका गौतमले देशभरका कार्यकर्तालाई समेटेर पार्टी एकता अभियान सञ्चालन गर्दै आएका छन् ।  

राजनीतिक रुपमा विभाजन भएको पार्टीलाई एकता गराउन यसअघि चिनियाँ टोली सक्रिय रहेको थियो । पार्टी विभाजन लगत्तै चिनियाँ टोली पुसमा नेपाल आएको थियो । तर सो टोलीले विभाजनको असर र कारणबारे छलफल गरी त्यसको विवरण चिनियाँ कम्युनिष्ट पार्टीलाई बुझाएको थियो । 

अहिले सर्वोच्च अदालतले संसद पुनःस्थापना गरेपछि नेकपालाई विभाजनबाट रोक्न चिनियाँहरु उच्च अधिकारीहरु सक्रिय भएका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ