arrow

दश दिनभित्र केपी ओली र प्रचण्डले लड्डु बाँड्छन् – उदय शमशेर राणा

logo
प्रकाशित २०७७ फागुन १४ शुक्रबार
udaya_samser_rana.jpg

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्व मन्त्री उदय शमशेर राणाले दश दिनभित्र प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लड्डु बाँडेर सँगसँगै हिँड्ने बताएका छन् । 

उनले पछिल्लो ३०–३५ वर्षको नेपाली कम्युनिष्टहरुको राजनीतिक चरित्र हेरेरै ओली र प्रचण्ड फेरि मिलेर लड्डु बाँड्ने दाबी गरेका हुन् । 

नेपाली रेडियो नेटवर्कसँगको कुराकानीका क्रममा उनले भने, ‘सबै नेताले आत्मआलोचना गरेर फेरि अगाडि बढ्नु हुन्छ जस्तो मलाई लाग्छ । आत्मआलोचना गरेर, पद बाँडेर, लड्डु खाएर संसदमा जाने सम्भावना पनि देखिन्छ । हामीले ९ महिनासम्म जनतालाई बेबकुफ बनायौं । कांग्रेसलाई पनि बेबकुफ बनायौं भनेर भन्नुहुन्छ भन्ने लाग्छ ।’

यसलाई थप स्पष्ट पादै नेता राणाले भने, ‘कसैले कल्पना गरेको थिएन एमाले र माओवादी रातारात मिल्छन् भनेर । आलोपालो सरकार चलाउने निर्णय पनि गरेका थिए । तर भयो त ? त्यसैले नेपाली कम्युनिष्टको बानी छेपारोले रङ फेरेजस्तै हो ।’

फेरि पनि स्प्ष्ट पार्दै भने, ‘व्यक्तिगत रुपमा नेकपा फुट्ला भन्ने मलाई लाग्दैन ।’ 

कांग्रेसले अब के गर्छ भन्ने प्रश्नमा भने, ‘नेकपा फुट्यो भने मात्र सत्ताका लागि कांग्रेसले सहकार्य गर्न सक्छ ।’

उनले कांग्रेसको भूमिका सम्झदै भने, ‘अहिलेको जरुरी परिस्थिति भनेको संविधानलाई सर्वोच्च अदालतले ट्रयाकमा ल्याएको छ । कांग्रेसको उद्धेश्य भनेको अहिलेको अन्योललाई राजनीतिक निकास दिने हो ।’

नेकपाका दुवै समूहबाट सत्ता सहकार्यका लागि आग्रह गरिरहेका बेलामा कांग्रेस कता लाग्छ भन्ने प्रश्नमा उनले भने, ‘हामी कता लाग्ने भन्दा पनि हाम्रो पदाधिकारीको मिटिङले स्पष्ट पारिसक्यो अहिले निर्णय गर्ने बेला भएको छैन ।’

अहिले नेकपा फुटिसकेको अवस्था नभएकाले कोसँग सहकार्य गर्ने, कुराकानी गर्ने भन्ने नै नटुङ्गिएको राणाले बताए । 

उनी थप्छन्, ‘कम्युनिष्ट पार्टी फुट्ने नफुट्ने उहाँहरुको कुरा हो । उहाँहरुलाई नफुटोस् भन्ने शुभकामना छ । मिलेर दुई वर्ष सरकार चलाओस् भन्ने कामना ।’ 

कांग्रेस सभापति शेरबहादुरसँग कुराकानी गर्दा अहिले नै सत्ताको नेतृत्व गर्नुपर्छ भन्ने नरहेको स्पष्ट पारेको पनि नेता राणाले बताए । उनले भने, ‘रामचन्द्र दाइ पनि सत्तामा जानु हुँदैन भन्नु हुँदैछ । त्यसबारेमा छलफल हुन सक्छ । कांग्रेसले अहिले नै सत्ताका लागि सहकार्यको निर्णय नगरेर ठीक गरेको छ ।’  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ