arrow

सर्वमान्य नेता गणेशमानको त्यो गाडी जसले पायो पुनर्जीवन

logo
प्रकाशित २०७७ फागुन १४ शुक्रबार
Ganesman-jeep-vehicle.jpg

काठमाडौं । नेपाली कांग्रेसका सर्वमान्य नेता, लौह पुरुष तथा जनआन्दोलन २०४६ का सर्वोच्च कमान्डर गणेशमान सिंह चढ्ने गरेको ऐतिहासिक गाडी मर्मत गरी सिंहकै निवास चाक्सीबारीमा संरक्षण गरिएको छ । 

नेपाली कांग्रेसका नेता तथा पर्यटन व्यवसायी राजेन्द्र बजगाईँको पहलमा गाडीको मर्मत गरी चाक्सीबारीमै लगेर राखिएको छ । ‘एक जना ऐतिहासिक नेताको सम्पत्ति संरक्षण गर्नुपर्छ भनेर काम थालेका हौं’ बजगाईले भने, ‘यही गाडी चढेर गणेशमानजीले मुलुकमा ऐतिहासिक सफलता दिलाउनुभयो ।’

नैतिकता बचाउन लोभ र ईर्ष्या त्याग्नुपर्छ भनेर आजीवन प्रजातन्त्रका लागि लड्नु भएका गणेशमानजीका हरेक सामाग्रीहरूको संरक्षण गर्नुपर्छ भन्ने लक्ष्य अनुरूप प्राथमिकताका साथ गाडीको मर्मत र संरक्षण गरिएको नेता बजगाँइले बताए । 

‘यही गाडी चढेर उहाँले नेपालको राजनीतिलाई ठुलो सफलता दिलाउनुभयो, प्रजातन्त्र स्थापित गराउनुभयो र नेपाली जनतालाई निरंकुश ताको पन्जाबाट बचाउनुभयो त्यसैले एउटा इतिहास बचाउने प्रयास गरिएको हो’ बजगाइँले भने ।
 
वि.स. २०४२ सालमा आफ्ना सुपुत्र प्रकाशमान सिंहको शुभ विवाहमा सोही गाडी चढेर गोरखा जन्ती आउनुभएको कांग्रेस नेतृ तथा गणेशमानकी बुहारी सिर्जना सिंह स्मरण गर्दै भन्छिन्, ‘०४२ सालअघि नै खरिद गर्नुभएको रहेछ पछि सत्याग्रहको बेला नेता कृष्णप्रसाद भट्टराईसँग सोही गाडीमा देश दौडाहामा निस्किनुभयो, ०४६ सालको आन्दोलन सशक्त बनाउने पनि सोही गाडी धेरै प्रयोग गर्नुभएको हो ।’

कांग्रेस नेता बिपी कोइरालाको निधनपछि सर्वोच्च नेताका रूपमा सिंहले २०४२ सालको सत्याग्रह आन्दोलन सुरु गरेका थिए । पछि उनैको नेतृत्वमा २०४६ सालको जनआन्दोलन सफल भएको थियो ।

अमेरिकन कम्पनीको उक्त गाडी चाक्सीबारीमै राखिएको थियो । सत्याग्रह आन्दोलन, जिल्ला जिल्लामा कार्यकर्ता भेटघाट देखि ०४६को आन्दोलन सफल भएपछि तत्कालीन राजा वीरेन्द्रले  प्रधानमन्त्रीको प्रस्तावका लागि दरबार बोलाउँदा पनि गणेशमान सोही गाडीमा चढेर पुगेका थिए । त्यति मात्र नभई पीएल सिंहले पनि काठमाडौंको मेयरका रूपमा उम्मेदवार भई मत माग्न घरदैलो जाँदा पनि सोही गाडी प्रयोग गरिएको इतिहास छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ