arrow

चेपाङ विद्यार्थीहरूलाई आवासीय सुविधा सहित आधारभूत तहको शिक्षाको निःशुल्क व्यवस्था हुन्छ : मेयर खनाल 

logo
नवराज चौलागाईं,
प्रकाशित २०७७ फागुन १४ शुक्रबार
Nijgadh-school-mayor.jpg

निजगढ। निजगढका मेयर सुरेश कुमार खनालले अति विपन्न सूचिमा रहेका अल्पसंख्यक चेपाङ समुदायका विद्यार्थीहरूलाई नगरपालिकाले आवासीय सुविधा सहित आधारभूत तहको शिक्षाको निःशुल्क व्यवस्था गर्ने बताएका छन् । श्री शिव शक्तेश्वर आधारभूत विद्यालयको ५२ औ वार्षिकोत्सव कार्यक्रमको उद्घाटन गर्दै मेयर खनालले चेपाङ समुदायको विद्यार्थीहरूका लागि नगरपालिकाले आवास गृहको निर्माण गर्न लागेको बताए । 

नगरपालिकाले चालु आर्थिक वर्ष मै आवास निर्माण कार्य शुरु गर्ने गरी प्रक्रिया अघि बढाएको बताए । मजदुरीको सिलसिलामा चेपाङ समुदायका अभिभावकले आफ्ना बालबच्चालाई समेतसँगै श्रमका लागि लैजाने भएकोले उनीहरूको अध्ययनमा असर परेको भन्दै मेयर खनालले आवास सहितको निःशुल्क शिक्षा दिइने व्यवस्थाको अवधारणा अघि सारेको खनालले बताए । ‘वडा नम्बर १३ डम्मरपुर स्थित श्री शिव शक्तेश्वर आधारभूत विद्यालयमा चेपाङ आवास निर्माण गर्ने योजना रहेको छ।  आवास गृह सहितको अध्यापनको व्यवस्था गरेपछि चेपाङ समुदायको अध्यापनमा चासो बढ्ने हामीले अनुमान गरेका छौ ।’ मेयर खनालले भने। 

आवास गृहमा विद्यार्थीहरूका लागि खाना सहित शैक्षिक सामाग्री लगायत अन्य आवश्यक सामाग्रीहरूको नगरपालिकाले नै व्यवस्था गर्ने पनि मेयर खनालले बताए । आधारभूत तहको अध्ययन गर्दागर्दै बालबालिकाहरूले बिचैमा पढाई छोड्दा चेपाङ समुदायको विद्यार्थीहरूको शैक्षिक स्तर माथि उठ्न नसकेको हो । निजगढ नगरपालिकाको १३ नम्बर वडामा ३ दर्जन भन्दा बढी चेपाङ परिवारको बसोबास रहेको छ । आर्थिक रूपमा अति विपन्न स्तरका चेपाङ समुदायको  शैक्षिक स्तर समेत अत्यन्तै न्यून रहेको छ।

बाराको निजगढ सहित मकवानपुर,धादिङ,चितवन,तनहुँ,गोरखा,लमजुङ जिल्लामा चेपाङ समुदायहरूको बसोबास रहेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तिलक घलानको सभापतित्वमा सम्पन्न वार्षिकोत्सवमा निजगढ नगरपालिकाकी उपप्रमुख लीलादेवी लामिछाने खनाल,वडा नम्बर १३ का वडा अध्यक्ष सूर्य घलान लगायतको सहभागिता रहेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ