arrow

नेपालगन्जको होटेल तथा पर्यटन व्यवसाय लयमा फर्किँदै

logo
प्रकाशित २०७७ फागुन १४ शुक्रबार
nepalgunj_City.jpg

नेपालगन्ज। यहाँका ठुला सुविधा सम्पन्न होटेलको कारोबारले बिस्तारै गति लिन थालेका छन् । पर्यटन गन्तव्यको केन्द्र बिन्दुलाई प्रमुख आधार बनाएर नेपालगन्ज हुँदै कैलाश मानसरोवर, बाँके र बर्दिया राष्ट्रिय निकुञ्ज, प्युठानको स्वर्गद्वारी आश्रम, मुगुको रारा ताल, डोल्पाको शे–फोक्सुण्डो ताल जाने पर्यटकलाई लक्ष्य बनाएर यहाँ पाँचतारेसहितका सुविधा सम्पन्न होटेल खुलेका छन् । कोरोनाका कारण लगभग शून्यमा झरेका यहाँका होटेले पुरानै लयमा फर्किन लागेका हुन् ।

होटेल व्यवसायी सङ्घ, बाँकेका अध्यक्ष भीमप्रसाद कँडेलका अनुसार एक दशकयता यहाँ पाँचतारे, चार तारे र तीन तारेसहित दर्जन बढी सुविधा सम्पन्न होटेल सञ्चालनमा आएका छन् । सोल्टी, स्नेह, सिद्धार्थ, सिग्नेट इन कृष्णा, सिटी प्यालेस र किचन हटलगायत सुविधा सम्पन्न होटेले विशेषतः भारतीय पर्यटकलाई आधार बनाएको पाइन्छ । “पछिल्लो समय लगभग थला परेको अवस्थामा पुगेका नेपालगन्जका ठुला मात्र हैन स–साना होटेल र पर्यटन व्यवसायले पनि अहिले गति लिन थालेका छन्”, उनले भने ।   

साबिकको सुदूर पश्चिमाञ्चल र मध्य पश्चिमाञ्चलको व्यापारिक तथा अन्तर्राष्ट्रिय तथा राष्ट्रिय गैरसरकारी संस्थाको केन्द्रका रूपमा रहेको यहाँका होटेल व्यवसायी राज्यको नयाँ शासकीय संरचनाले पारेको अप्ठ्यारोबाट उम्कन नपाउँदै उनीहरूलाई ११ महिनाको लकडाउनले थप कठिन मोडमा पुर्‍याइदिएको छ । सुदूरपश्चिम छुट्टै प्रदेश हुनु र मध्यपश्चिम क्षेत्र प्रदेश नं ५ र यसको राजधानी बुटवल हुनुले नेपालगन्जमा ठुलास्तरका कार्यक्रम नहुँदा लगानी डुब्ने चिन्ताले होटेल व्यवसायीलाई पिरोल्दै आएको थियो । लकडाउन सकिएपछि होटेल व्यवसायीले लिएको घर भाडामा नेपालगन्ज उद्योग वाणिज्य सङ्घले घरधनीसँग छुट गराएको थियो ।  व्यवसायीमा थोरै भए पनि आर्थिक भार कम भएको होटेल व्यवसायी सन्तोष गुप्ताले बताए । 

यहाँको होटेल तथा पर्यटन व्यवसाय मूलतः भारतीय पर्यटकले धानेको छ । यहाँको होटेल निकै स्तरीय छन् । लकडाउन सकिएपछि भारतीय पर्यटकको आगमन त्यति नभए पनि आन्तरिक पर्यटकका लागि जेनतेन व्यवसाय चलेको व्यवसायी बताउँछन् । 

अध्यक्ष कँडेलका अनुसार नेपालगन्जमा ठुला तथा स्तरीय होटेल तथा पर्यटन व्यवसायमा पछिल्लो पाँच वर्षयता करिब रु पाँच अर्बभन्दा बढी लगानी भएको छ । यहाँको होटेल व्यवसायलाई पर्यटनको विकाससँग जोड्न नेपालगन्जमा मेरो प्लानेट, फनपार्क, वाटरपार्क, रानी तलाउ, नेपालगन्ज पार्क, बागेश्वरी मन्दिर, बर्दियाको ठाकुर बाबा, कान्ति ताल पर्यटकीय क्षेत्रको विकास र विस्तार गरिएको छ । 

यसै गरी नाठा नेपालले बर्दिया राष्ट्रिय निकुञ्जसम्म नेपालगन्जबाट पर्यटक बससमेत सञ्चालनमा ल्याएको बताइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ