arrow

सुन्दरहरैंचामा न्यायिक इजलासको उद्घाटन 

logo
विवेक मिश्र,
प्रकाशित २०७७ फागुन १४ शुक्रबार
Til-prasad-shrestha.jpg

मोरङ। सुन्दरहरैंचा नगरपालिकामा  शुक्रवार न्यायिक इजलासको उद्घाटन भएको छ । कार्यक्रममा प्रमुख अतिथिका रूपमा रहेका उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश तिलप्रसाद श्रेष्ठले कार्यक्रममा बोल्दै न्यायाधीश र न्यायको सम्बन्ध पति र पत्नीको जस्तो हुनुपर्ने बताए ।

‘न्यायिक स्वच्छता र न्यायको निष्पक्षताका लागि न्यायाधीश र न्यायको सम्बन्ध पति र पत्नीको जस्तो हुनुपर्छ’, उनले भने ‘जसरी पति र पत्नीको व्यवहारमा आशंका उत्पन्न हुँदा सम्बन्ध बिग्रन्छ त्यसरी नै न्याय र न्यायाधीश आशंका हुँदा न्यायको अभीष्ट पूरा हुँदैन । त्यसैले पतिव्रता पत्नी र पत्नीव्रता पतिजस्तै न्यायव्रता न्यायाधीश हुनुपर्छ ।’ न्याय एकातिर, कानुन अर्कातिर र प्रमाण एकातिर तथा न्याय अर्कोतिर हुन नहुने उनको भनाइ थियो ।

संविधानले अवलम्बन गरेअनुसार स्थानीय सरकारमा व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका भए पनि न्यायिक समितिमा आउने जनप्रतिनिधिहरू न्याय र कानुनी पृष्ठभूमिको नभएका हुनाले न्याय सम्पादन कस्तो हुन्छ भन्नेमा शुरुमा आशंका भए पनि त्यो आशंका अब हराएको उनको भनाइ थियो । शुरुमा अवस्था निराशाजनक भए पनि त्यो निराशा हराएको उनले बताए ।

न्याय अनुभूति र विश्वासमा हुने भएकाले निष्पक्ष र स्वच्छ हुनुपर्नेमा पनि उनले जोड दिए ।कार्यक्रममा नगरप्रमुख शिवप्रसाद ढकालले अघिल्लो वर्षको चैतमा नै इजलास उद्घाटन गर्ने तयारी भए पनि कोरोनाका कारण एक वर्ष ढिलो भएको बताए ।

कार्यक्रमकी सभापति उपप्रमुख तथा न्यायिक समिति संयोजक धनमाया तामाङले न्याय सम्पादनसम्बन्धी ३ तहको अदालतमध्ये स्थानीय तहको न्यायिक इजलासले संविधानमा आफूलाई दिएको अधिकार कानुन र न्याय मान्य सिद्धान्त बमोजिम मुद्दा हेर्ने र न्यायिक निकायबाट विवाद समाधान गरिने बताइन् । सुन्दरहरैंचाको न्यायिक समितिले अब आज उद्घाटन भएको इजलासबाट नै न्याय सम्पादन गर्ने उनको भनाइ थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ