arrow

शिलान्यास कार्यक्रममा मन्त्री भट्टले गरे केपी ओलीको गुणगान र प्रचण्ड-नेपालको आलोचना मात्र

logo
रबिन्द्र गौतम,
प्रकाशित २०७७ फागुन १४ शुक्रबार
Lekhraj-bhatta-hetauda.jpg

हेटौंडा । संघीय सरकारले करिब ७ अर्ब दुई करोड ३४ लाखको अनुमानित लागतमा मकवानपुरको हेटौंडामा निर्माण गर्न लागेको ‘मयुरधाप औद्योगिक क्षेत्र’को आज शिलान्यास गरिएको छ । हेटौंडा उपमहानगरपालिका १३ र १४ मा पर्ने मयुरधापमा औद्योगिक क्षेत्रको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले शिलान्यास गरेका हुन् ।

औद्योगिक क्षेत्रको शिलान्यासपछि कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भट्टले राजनीतिक अस्थिरता रहेसम्म देशमा विकास हुन नसक्ने बताए । शिलान्यास कार्यक्रममा हेटौंडा आएका मन्त्री भट्टले प्रचण्ड-नेपाल समूहको निकै आलोचना गरे उनले घर भित्र प्रतिपक्ष जन्मिएकाले सरकारले सोचे जति काम गर्न नसकेको भन्दै कटाक्ष गरे उनले प्रधानमन्त्रीले संसद् विघटन गर्नु बाध्यता भएको बताउँदै सर्वोच्च अदालतले गरेको फैसला स्वीकार गर्दै संसद् फेस गर्ने बताए  । उनले सम्बोधन भरि केपी ओलीको गुणगान गाए भने प्रचण्ड नेपाल पक्षको आलोचना मात्र गरे ।

उनले प्रचण्ड नेपाल पक्षलाई अझै आफूले गरेको गलत काम स्विकारेर पुरानै अवस्थामा फर्कन आग्रह गरे ।त्यस्तै बाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले पनि प्रचण्ड-माधव पक्षलाई नै आलोचना गरे । उनले अहिले अघि बढिरहेको विकासको गति नरुचाउने मान्छेहरू धेरै रहेको र विकासको काम अवरुद्ध बनाउने खेलहरू भइरहेको बताए ।

पहिलो चरणमा २ सय बिगाहा अर्थात् २६ सय रोपनी क्षेत्रफलमा फैलिएको जग्गामा सरकारले ‘औद्योगिक क्षेत्र बनाउन लागेको हो । २०७२ साल चैत १ गतेको मन्त्रिपरिषद् बैठकले मयुरधापमा रहेको ३ सय बिगाहा क्षेत्रफलको खाली जग्गामा नयाँ औद्योगिक क्षेत्र स्थापना गर्ने निर्णय गरेको थियो । 

मयुरधाप औद्योगिक क्षेत्रभित्र २०७५ कात्तिक ५ गतेदेखि परियोजना कार्यालय स्थापना समेत गरिएको थियो । सो क्षेत्रमा मन्दिर, वन तथा बस्तीहरू पर्ने भएपछि २०७३ वैशाख १२ गतेको मन्त्रिपरिषद् बैठकले क्षेत्रफल घटाएर मयुरधापको १ सय ३४.८६ हेक्टर (१९९.१२ बिगाहा) क्षेत्रफलमा औद्योगिक क्षेत्र स्थापना गर्ने निर्णय गरेको थियो । 

७ देखि १४ रोपनीको आकारमा ६२ वटा औद्योगिक प्लट रहने औद्योगिक परिसरमा करिब ५ दर्जन बढी उद्योग प्लान्ट रहने जनाइएको छ । औद्योगिक क्षेत्र परिसरमा ६२ वटा औद्योगिक प्लट छुट्टाइएको छ । छुट्टाइएको प्रत्येक प्लटमा ७ देखि १४ रोपनीसम्म जग्गालाई विभाजन गरिएको छ । औद्योगिक क्षेत्रमा संघीय सरकारको निर्णयअनुसार सुरक्षण मुद्रण विभागलाई २ सय ५० रोपनी जग्गा उपलब्ध गराइसकिएको हेटौंडा औद्योगिक क्षेत्र प्रबन्धक राजेन्द्रप्रसाद कँडेलले बताए । 

शुक्रवार शिलान्यास भएको नयाँ औद्योगिक क्षेत्रको पूर्वमा मयुरधाप बस्ती, पश्चिममा कालापानी बस्ती, उत्तरमा रातोमाटे डाडा र दक्षिण उत्तरपानि चुरे बन छ । यो औद्योगिक क्षेत्र हेटौंडा बजार भन्दा ३ किलोमिटर पश्चिममा पर्दछ । औद्योगिक क्षेत्रमा स्थापना हुने विभिन्न उद्योगबाट प्रत्यक्ष तथा अप्रत्यक्ष गरी करिब १० हजारले रोजगारीको अवसर प्राप्त गर्ने बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ