arrow

बिकट गाउँ सल्यान केन्द्रीय विद्युत् प्रसारणसँग जोड्यो, विपन्न घरधुरीलाई निःशुल्क मिटर वितरण

logo
थम्मन थापा,
प्रकाशित २०७७ फागुन १५ शनिबार
nea-electricty-baglung.jpg

बागलुङ। बागलुङको विकट गाउँ सल्यानमा केन्द्रीय विद्युत् प्रसारण पुगेपछि स्थानीयहरू हर्षित भएका छन्। बरेङ गाउँपालिका वडा नं ४ सल्यानमा नेपाल विद्युत् प्राधिकरण बागलुङ वितरण केन्द्रले विद्युत् सेवा विस्तार गरी सञ्चालनमा ल्याएपछि स्थानीय बासीहरूमा खुसीयाली छाएको छ।

केन्द्रीय विद्युत् प्रसारणको उद्घाटन कार्यक्रममा वडा भित्रका ११ घरधुरी विपन्न परिवारलाई निःशुल्क विद्युत् मिटर वितरण गरिएको नेपाल विद्युत् प्राधिकरण बागलुङ वितरण केन्द्रका प्रमुख शिव नारायण गोशलीले जानकारी दिए।

विपन्न घरधुरीलाई केन्द्रीय विद्युत् सेवाबाट वञ्चित हुन नदिन प्राधिकरणको अभियान अन्तर्गत उक्त कार्य गरिएको केन्द्र प्रमुख गोशलीले बताए। सल्यानमा केन्द्रीय विद्युत् करण गर्न प्राधिकरणले ४५ लाख रुपैयाँ खर्च गरेको उनले उल्लेख गरे। केन्द्रीय विद्युत् सेवा सञ्चालनमा आएपछि लामो समयदेखि स्थानीय लघु जलविद्युतको भरमा रहेका सल्यान बासीहरू केन्द्रीय विद्युत्को पहुँचमा जोडिएका छन्।

केन्द्रीय विद्युतीकरणको विस्तार र सञ्चालन सँगै वडा भित्रका १ सय २५ घरधुरी प्रत्यक्ष लाभान्वित भएका छन्। सल्यानको राँजरुख टोल र कालेशोरा टोलका ६९ घरधुरीले ३ वर्ष पहिले देखि नै बरेङ गाउँपालिका वडा नं ५ सुखौरमा रहेको ट्रान्सफर्मर मार्फत केन्द्रीय विद्युत् उपभोग गर्दै आइरहेका छन्। यो सँगै सल्यानमा पूर्ण रूपमा केन्द्रीय विद्युतीकरण‌ भएको वडा सदस्य जन बहादुर खत्रीले जानकारी दिए।

विपन्न परिवारले निःशुल्क मिटर बक्स प्राप्त गरेपछि खुसी भएका छन्। आर्थिक अभावका कारण आफूहरू विद्युत् सेवाबाट वञ्चित हुनु परेको र अब भने जीवनमा विद्युत्ले उज्यालो प्रदान गर्ने विश्वास व्यक्त गरेका छन्। घरमा केन्द्रीय विद्युत् बलेपछि उज्यालो हुनुका साथै मोबाइल चार्ज, रेडियो सुन्न, विद्यार्थीलाई पढ्न लेख्न सहज हुने स्थानीय सञ्जु विश्वकर्माले बताइन।

सल्यानमा केन्द्रीय विद्युत् नहुँदा साना उद्योग, व्यवसाय सञ्चालन गर्न कठिनाइ भएको र केन्द्रीय विद्युत्को सेवा सञ्चालनमा आएसँगै जनताको दैनिकीमा सहजता हुने बरेङ गाउँपालिका वडा नं ४ का वडा अध्यक्ष लील बहादुर खत्रीले बताए। लामो समयदेखि केन्द्रीय विद्युत् बाल्न आफूहरू प्रयासरत रहेकोमा र विद्युत् बाल्न सफल भएको उनले  उल्लेख गरे।

लघु जलविद्युत सञ्चालन गर्दा थुप्रै चुनौतीको सामना गर्नु परेको र अब उक्त समस्या टरेको वडा अध्यक्ष खत्रीको भनाई छ। सो अवसरमा वडा अध्यक्ष खत्रीले नेपाल विद्युत् प्राधिकरण बागलुङ वितरण केन्द्रलाई आवश्यकता अनुरूप वडामा थ्री फेज लाइन विस्तार तथा व्यवस्थापन सम्बन्धी माग पत्र प्रदान गरेका छन्। 

त्यस्तै विद्युत् प्राधिकरणले बरेङ गाउँपालिका वडा नं ५ सुखौराका ५ विपन्न घर परिवारलाई पनि निःशुल्क विद्युत् मिटर वितरण गरेको वडा अध्यक्ष अमर बहादुर शेरपुजाले जानकारी दिए। कार्यक्रममा सल्यान सुखौरा माध्यमिक विद्यालयका प्रधानाध्यापक दुर्गा प्रसाद शर्माले मन्तव्य राखेका थिए।

सो अवसरमा नेपाल विद्युत् प्राधिकरणका प्रमुख, प्राविधिकहरू सँगै १५ वर्ष माइक्रो हाइड्रो लघु जलविद्युत आयोजनामा प्राविधिकको रूपमा सेवा प्रदान गरे बापत नगद सहित सम्मान प्रदान गरिएको थियो।

कार्यक्रम ग्रामीण विद्युतीकरण उपभोक्ता समिति सल्यानका अध्यक्ष सुवास क्षेत्रीको अध्यक्षता, ग्रामीण विद्युतीकरण उपभोक्ता समितिका सचिव हरिकृष्ण गौतमको स्वागत मन्तव्य र शिक्षक राम प्रसाद चापागाईँको सञ्चालनमा सम्पन्न भएको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ