arrow

म्यानमारमा सेनाले चलाएको गोली लागेर तीन प्रदर्शनकारी मारिए

logo
एएफपी,
प्रकाशित २०७७ फागुन १६ आइतबार
gunfire.jpg

याङ्गुन । म्यानमारको सेनाले चलाएको गोली लागेर आइतबार तीन जना सरकार विरोधी प्रदर्शनकारीको मृत्यु भएको छ । सेनाले केही दिनदेखि प्रदर्शनकारीमाथि व्यापक दमन गर्न थालेको छ ।

सेनाले अपदस्थ गरेकी बर्मेली नेतृ आङ सान सुकीलाई नजरबन्दबाट मुक्त गर्न र सेनाले लिएको सत्ता फिर्ता गर्न माग गर्दै म्यानमारको सबैभन्दा ठुलो सहर याङ्गुन समेत देशका सबैजसो सहरमा दिनहुँ ठुल्ठूला प्रदर्शन भइरहेका छन् ।

यसै महिनाको सुरुमा सत्ता हत्याएपछि सेना र प्रहरीले प्रदर्शनकारीमाथि रबरका गोली, अश्रुग्याँस र पानीका फोहोरा हान्ने गरेका छन् । जनताको शान्तिपूर्ण आन्दोलनलाई निर्मिततापूर्वक दमन गर्न सेनाले व्यापक सैन्य परिचालन र धरपकड गरे पनि सेना विरुद्धको प्रदर्शन रोकिएको छैन ।

आइतबार बिहान समेत ठुलो सङ्ख्यामा मानिसहरू सडकमा उत्रिएका थिए । सडकमा जतिसक्दो बढी मानिस उत्रिन अनलाइन मार्फत आम जनतालाई आह्वान गरिएको थियो ।

स्थानीय सञ्चार माध्यमका अनुसार दक्षिणी डावेई सहरमा आयोजित जुलुसमा सहभागीमाथि सेना र प्रहरीले गोली चलाउँदा तीन जनाको मृत्यु भएको र कम्तीमा २० जना घाइते भएका छन् ।

उद्धारकर्ता पाई ज हेइनले सेना, प्रहरीले चलाएको गोलीबाट तीन जनाको मृत्यु भएको तथा घाइतेहरूलाई रबरको गोली लागेको बताए । उनले गोली लागेका व्यक्तिहरू अस्पतालमा ल्याउने क्रम रहेकाले घाइते वा मृतकको सङ्ख्या अरू बढ्न सक्ने जानकारी दिए ।

म्यानमारमा सेनाले गत फेब्रुअरी १ मा तत्कालीन राष्ट्रपति र आङ सान सुकीको नेतृत्वमा रहेको सरकार अपदस्थ गरी सैनिकले सत्ता हातमा लिएको थियो ।

सेनाले राष्ट्रपति र सुकी दुवैलाई नजरबन्दमा राखेको छ भने सत्तारुढ नेसनल लिग फर डेमोक्रेसीका कैयौँ नेतालाई गिरफ्तार गरेको छ ।

सेनाको उक्त कदमको संयुक्त राज्य अमेरिका, युरोपेली युनियन र अरू कैयौँ देशले विरोध गरेका छन् ।

आइतबार अघिसम्म कम्तीमा पाँच जना प्रदर्शनकारीको मृत्यु भएको छ । भिड नियन्त्रण गर्ने क्रममा एक प्रहरी अधिकारीको पनि मृत्यु भएको सेनाले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ