arrow

काँग्रेस नेता महेश आचार्यको सभापतिलाई प्रश्न- प्रतिनिधि सभा बैठकमा पार्टीको भूमिका के हो ?

logo
प्रकाशित २०७७ फागुन १७ सोमबार
mahesh-acharya-G-new.jpeg

काठमाडौँ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य महेश आचार्यले २३ फागुनका लागि डाकिएको प्रतिनिधि सभा बैठकमा पार्टीको भूमिका के हुने भन्ने प्रस्ट पार्न सभापति शेरबहादुर देउवालाई आग्रह गरेका छन् ।  

नेता आचार्यले सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत २३ गते बोलाइएको बैठकमा पार्टी कसरी अघि बढ्ने भन्ने प्रस्ट नभएको भन्दै केन्द्रीय समिति बैठक बोलाएर निर्णय गर्न भनेका हुन् ।  आचार्यले प्रतिनिधि सभा बैठकमा पार्टीको भूमिका के हुने भन्ने विषयमा छलफल गर्न बैठक बोलाउन ढिला भइसकेको उल्लेख गरेका छन् ।

‘सर्वोच्चको निर्णय अनुसार अबको एक साता नबित्दै प्रतिनिधि सभाको बैठक समेत बस्ने हुँदा संसद्मा पार्टीले निर्वाह गर्ने भूमिकाका बारेमा केन्द्रीय समितिमा छलफल र निर्णय हुन ढिलो भैसकेको  छ,’ आचार्यले लेखेका छन्, ‘राष्ट्र, संविधान  र संसदीय प्रणालीसँग सम्बन्धित यति ठुलो घटनामा हाम्रो पार्टी प्रतिक्रिया र योजनाविहीन देखिनु र अहिलेको संवैधानिक र संसदीय जटिलतालाई समाधान गर्ने अग्रसरता लिन नसक्नु दुर्भाग्यपूर्ण हुनेछ ।’

नेता आचार्यले ‘प्रधानमन्त्री केपी शर्मा ओलीले विघटित प्रतिनिधि सभाको पुनः स्थापना गर्ने सर्वोच्च अदालतको निर्णय वर्तमान संविधानको कार्यान्वयनको चरणको सर्वाधिक महत्त्वपूर्ण र दूरगामी प्रभाव पार्ने संवैधानिक-राजनीतिक घटना भएकाले यसको समग्र पक्षको समीक्षा र देशको वर्तमान परिस्थितिबारे पार्टीको दृष्टिकोण सार्वजनिक गर्न केन्द्रीय कार्यसमिति बैठक नडाकिनु गम्भीर त्रुटि भएको’ समेत फेसबुकमा उल्लेख गरेका छन् ।

आदरणीय सभापतिज्यू,
असंवैधानिक तवरले सम्माननीय प्रधानमन्त्री ओली द्वारा विघटित प्रतिनिधि सभाको पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको निर्णय वर्तमान संविधानको कार्यान्वयनको चरणको सर्वाधिक महत्त्वपूर्ण र दूरगामी प्रभाव पार्ने संवैधानिक - राजनीतिक घटना हो।यस्तो घटनाको समग्र पक्षको समीक्षा र देशको वर्तमान परिस्थितिका बारे पार्टीको दृष्टिकोण सार्वजनिक गर्न नेपाली काँग्रेस पार्टीको केन्द्रीय कार्यसमितिको बैठक नडाकिनु गम्भीर त्रुटि हुन पुगेको छ।
नेपाली काँग्रेसको आव्हानमा सडकमा आएर विरोध सभा र प्रदर्शन गर्ने लाखौँ जनता प्रति र आफ्नै पार्टीका साथी प्रति धन्यवाद व्यक्त गर्न पनि कार्यसमितिको बैठक बस्नु पर्ने हो।
यसबाहेक सर्वोच्चको निर्णय अनुसार अबको एक साता नबित्दै प्रतिनिधि सभाको बैठक समेत बस्ने हुँदा संसद्मा पार्टीले निर्वाह गर्ने भूमिकाका बारेमा केन्द्रीय समितिमा छलफल र निर्णय हुन ढिलो भैसकेको  छ।राष्ट्र, संविधान  र संसदीय प्रणाली सँग सम्बन्धित यति ठुलो घटनामा हाम्रो पार्टी प्रतिक्रिया र योजना विहीन देखिनु र अहिलेको संवैधानिक र संसदीय जटिलतालाई समाधान गर्ने अग्रसरता लिन नसक्नु दुर्भाग्यपूर्ण हुनेछ।
अतः अविलम्ब केन्द्रीय समितिको बैठक बोलाउन अनुरोध गर्दछु।
१७ फागुन २०७७



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ