arrow

कोमल वली रघुजी पन्तविरुद्ध कानूनी प्रक्रियामा जाने

logo
प्रकाशित २०७७ फागुन १८ मंगलबार
komal_oli1.jpg

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की राष्ट्रियसभा सांसद कोमल वली नेकपाकै नेता रघुजी पन्तविरुद्ध कानूनी प्रक्रियामा जाने भएकी छिन् । नेकपाको ओली समूहकी नेतृ वलीलाई केही दिनअघि प्रचण्ड–नेपाल समूहका नेता पन्तले ‘महिला नेतृहरु पिंडुला देखाएर पदमा पुग्न सफल भएको’ भनी अभिव्यक्ति दिएपछि अहिले पन्तमाथि महिलाहरुको आक्रोश छ । 

रघुजी पन्त र कोमल वलीबीच ‘वार’: हामीले नेता मानेका रघुजी पन्त कति ‘निच’ ?

यसबाट अन्य महिला नेतृहरुलाईसमेत पनि यही रुपमा लिइएको भन्दै वलीले समग्र महिला नेतृहरुलाई हक दिलाउन पनि आफू कानूनी प्रक्रियामा जानुपर्ने बताएकी हुन् । उनले मिडियामा आफू अहिले दाङमा रहेको र परामर्शमै रहेको बताएकी छिन् । 

उनले भनिन्, ‘कानूनी प्रक्रियामा अगाडि बढ्छु । मैले अधिवक्ताहरुसँग कुराकानी गरिरहेकी छु ।’ पन्तले माफी मागिसकेपनि अब यो सिङ्गो नारी अस्मिताको विषय बनेको उनको भनाई छ । 

उनले आफू पिंडुला देखाएर नभई सिफारिसबाट सांसद बनेको बताएकी छिन् । भनेकी छिन्, ‘पार्टीको अध्यक्षको अन्तिम निर्णय हुन्छ । केपी शर्मा ओलीको निर्णयले नै सांसद बनेकी हुँ । मेरो जिल्लाबाट सिफारिस हो । प्रदेशबाट सिफारिस हो । स्थायी कमिटीको सिफारिस हो । त्यसपछि म राष्ट्रिय सभाको सांसद बनेँ ।’

उनले रघुजी पन्तबारे भनेकी छिन्, ‘उहाँले मेरो नाममा विरोध गर्न सक्नुहुन्थ्यो । गर्नुभएन । हाम्रो पार्टीमा नयाँ मान्छेले यो पाउने त्यो नपाउने भनेर लेखेको त छैन । अग्रजहरुले स्थान पाउनु पर्छ । उहाँहरुप्रति मेरो सम्मान छ ।’

थप भनिन्, ‘एउटा नारीको अस्मितामाथि तल्लो स्तरमा गएर गाली गर्न त भएन नि । के मैले सारी उचालेरै सांसद बनेको हो त ? अन्य महिलाहरु जति पनि सांसद हुनुहुन्छ उहाँहरुले सारी उचालेरै सांसद भएको हो त ? यो महिला अस्मितामाथिको शोषण हो ।’
 
उनले भनिन्, ‘चाकडी गरेर कोमल वली त्यहाँ पुगी भनेको भए फरक पर्ने थिएन होला । तर सम्माननीय प्रधानमन्त्रीलाई जोडेर पिँडौला देखाएर आएको भन्न त मिलेन नि । चाकडी र चाप्लुसी गरेको भन्न मिल्यो तर पिँडौला देखाएर आएको भन्न त मिलेन नि ।’

उनले ओलीलाई भेट्नु आफ्नो अधिकार भएको भन्दै आफूले पनि यो देशका लागि योगदान गरेको स्पष्ट पारेकी छिन् । भन्छिन्, ‘मेरो अध्यक्षलाई भेट्नु मेरो अधिकारको कुरा हो । म घरमा भेट्न जानु नौलो होइन । मैले देशका लागि गरेको योगदान पनि त छ नि । लोकगीत क्षेत्रमा पुर्याएको योगदान र संचार क्षेत्रमा पुर्याएको योगदान पनि त छ नि ।’
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ